इलाममा एमालेका सर्वसम्मत उम्मेदवार
नेकपा एमालेले इलामका १० स्थानीय तहमध्ये दुई नगरपालिकासहित चार पालिकाहरुको प्रमुख तथा उपप्रमुखको उम्मेदवार सर्वसम्मत तवरले छानेको छ । ८१ वडामध्ये ५६ वडाहरुमा पनि सर्वसम्मत् उम्मेदवार छानेको छ ।
एमालेले सूर्योदय नगरपालिका, देउमाई नगरपालिका प्रमुख तथा उपप्रमुख, माङसेबुङ्ग गाउँपालिका र रोङ गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षको उम्मेद्वारको टुङ्गो लगाएको हो ।
इलाममा चार नगरपालिकासहित १० स्थानीय तह छन् । त्यसमध्ये नेकपा एमालेले इलाम क्षेत्र नम्बर १ मा रहेको सूर्योदय नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेद्वार सर्वसम्मत चयन गरेको छ । एमालले नगरको प्रमुखको पदमा हालको प्रदेश सांसद काजीमान कागतेलाई चुनावी मैदानमा पठाउने भएको छ भने उपप्रमुखमा हालकै उपप्रमुख दुर्गादेवी भट्टराईलाई उम्मेद्वार बनाएको छ ।
२०७४ को निर्वाचनमा सूर्योदय नगरपालिकामा एमालेका रनबहादुर रार्ईले जितेका थिए । उनी अहिले नेकपा एकिकृत समाजवादीमा छन् । गठबन्धनको उम्मेद्वारको रुपमा राईको चर्चा चलिरहेको बेला नेपाली काँग्रेसका वडा सभापतिहरुले विज्ञप्तिनै जारी गरेर गठबन्धन नगर्ने घोषणा गरेका छन् ।
२०७४ को निर्वाचनमा एमालेबाट प्रमुख जितेका राईले १२ हजार नौ सय १९ मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमलाल राईले १० हजार तीन सय १९ मत ल्याएका थिए ।
यसरीनै इलाम निर्वाचन क्षेत्र नम्बर २ मा रहेको देउमाई नगरपालिकामा एमालेले वर्तमान प्रमुख सुर्य पोख्रेल र उपप्रमुख पबिमाया राईलाईनै दोहोर्याएर उम्मेद्वार चयन गरेको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा पोख्रेल सात हजार तीन सय ४७ मत ल्याएर विजयी भएका थिए । उनका निकटमत् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका होम दुलालले छ हजार छ सय ४५ मत ल्याएका थिए ।
एमालेले इलाम निर्वाचन क्षेत्र नम्बर २ कै अर्को पालिका माङसेबु गाउँपालिकामा पनि अघिल्लो निर्वाचनकै उम्मेद्वारहरुलाई अध्यक्ष र उपाध्यक्षको उम्मेद्वार बनाएको छ । अध्यक्षमा हेमन्त राईलाई उम्मेद्वार चयन गरेको छ । राई २०७४ को स्थानीय तहको निर्वाचनमा पाँच सय ७८ मतले नेपाली कांग्रेसका डिकेन्द्र इधिङ्गोसँग पराजित भएका थिए ।
उपाध्यक्षमा भने एमालेले हालका उपाध्यक्ष सुनिता सुब्बालाई नै उम्मेद्वार बनाउने निधो गरेको छ । माङसेबुङ गाउँपालिकामा अघिल्लो निर्वाचनमा नेपाली काँग्रेस र संघीय समाजजादीबीच चुनावी एकता भएको थियो । त्यतिबेला उपाध्यक्ष संघीय समाजवादीको भागमा परेको थियो ।
निर्वाचन क्षेत्र नम्बर १ मै रहेको रोङ गाउँपालिकामा पनि एमालले अध्यक्ष र उपाध्यक्षको उम्मेद्वार सर्वसम्मत् चयन गरेको छ । अध्यक्षमा मेहेरमान तामाङ र उपाध्यक्षमा विष्णु भूजेललाई उम्मेद्वार चयन गरेको एमालेका जिल्ला सचिव उमेश गुरुङ्गले जानकारी दिए । रोङमा २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार वृहस्पति खतिवडालाई तीन सय १३ मतले पराजित गरेर नेपाली काँग्रेसका समशेर राई अध्यक्ष निर्वाचित भएका थिए । तर, खतिवडा हाल नेकपा एकीकृत समाजवादी गएका छन् ।
अन्य ६ पालिकामा को–को सिफारिस भए ?
इलामका १० पालिकामध्ये चार पालिकामा सर्वसम्मत् उम्मेद्वार चयन गरेको एमाललेलाई अन्य छ पालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेद्वार छान्न भने सकस भएको छ । पालिकास्तरबाट आएको सिफारिसको आधारमा जिल्लामा उम्मेदवार मिलाउने प्रयास भएपनि सम्भव नभएपछि एकै पदमा सात जनासम्म उम्मेद्वार एमालेले प्रदेश कमिटीमा सिफारिस गरेको छ ।
इलाम सदरमुकाममा रहेको जिल्लाकै पूरानो नगरपालिका इलाम नगरपालिकामा एमालेका नगर प्रमुख पदका उम्मेद्वारका चार आकांक्षी छन् । चारै जनाको नाम जिल्लाले प्रदेश कमिटीमा सिफारिस गरेको छ । धिरेन चेम्जोङ, कृष्णप्रसाद श्रेष्ठ, नरेन्द्रनाथ भट्टराई र श्याम कृष्ण घिमिरेलाई जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको एमालले जनाएको छ । यसरीनै उपप्रमुखको उम्मेद्वारका लागि सीता रिजाल, चित्रमाया गुरुङ, विद्या सापकोटा र शारादा पराजुलीलाई सिफारिस गरेको छ ।
२०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेले इलाम नगरपालिकाका आधा वडाहरु (६ वडा) सहित प्रमुख र उपप्रमुख जितेको थियो । नेकपा एमालेका महेश बस्नेत ११ हजार ३३ मत ल्याएर प्रमुखमा विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिमालय कर्माचार्यले नौं हजार २६८ मत ल्याएका थिए ।
माइ नगरपालिकामा मेयरका आकांक्षी पाँच जना देखिएका छन् । एमाले जिल्ला कमिटी इलामले पाँचै जनाको नाम प्रदेश कमिटीमा पठाएको बुझिएको छ । माइमा हालका प्रमुख दिपककुमार थेबे, उपप्रमुख विष्णुमाया आचार्य, ध्रुवकुमार श्रेष्ठ, बुद्धि खनाल र खम्बसिंह लिम्बूको नाम मेयरको उम्मेद्वारका लागि पठाइएको एमालले जनाएको छ । यसरीनै उपप्रमुखको उम्मेद्वारमा कुमारी रैका मगर, शान्ता थेगिम, मुखराज आङदेम्बे, करुणा राई र हिमा भण्डारीको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा माईमा दिपककुमार थेबे निकटम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हेम कार्कीलाई १५ सय २२ मतले पराजित गर्दै प्रमुखमा विजयी भएका थिए । सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदको आकांक्षीहरु वर्तमान अध्यक्ष उदय राई, वर्तमान उपाध्यक्ष शोभा पराजुली र एमाले जिल्ला सचिव उमेश गुरुङ रहेका छन् । जिल्लाले तीनै जनाको नाम प्रदेशमा सिफारिस गरेको छ । उपाध्यक्षको उम्मेद्वारका लागि भने पाँच जनाको दाबी रहेको छ । तुलसादेवी सेढाईं, लीलादेवी भट्टराई, प्रतिमा पोखरेल, सिद्धार्थ राई र यामबहादुर राईको नाममा सिफारिस गरिएको छ ।
सन्दुकपर गाउँपालिकामा २०७४ स्थानीय तहको निर्वाचनमा उदय राईले आफ्नो निकटम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवेन्द्रकुमार सुवेदीलाई झण्डै दोब्बर मतको अन्तरले पराजित गरेका थिए । राईले ४५ सय २९ मत ल्याएका थिए भने सुवेदीले २३ सय ५४ मत ल्याएका थिए ।
माईजोगमाई गाउँपालिकामा एमालेका खगेन्द्र घिमिरे, कुशबहादुर थेबे र गणेशकुमार राई अध्यक्षको उम्मेद्वारका आकांक्षी छन् । र, उनीहरु तीनै जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको छ । यसरीनै उपाध्यक्षको उम्मेद्वारका आकांक्षीहरु सावित्रा भट्टराई र मनमाया कार्कीको नाम सिफारिस गरिएको एमालले जनाएको छ ।
माईजोमाई गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट जीतबहादुर राई ५६ सय ९६ मतसहित विजयी भएका थिए । तर, उनी हाल एकीकृत समाजवादीमा गएका छन् ।
चुलाचुली गाउँपालिकाका अध्यक्षका उम्मेद्वारका लागि अनुप अधिकारी, ओमनारायण खनाल र हालका अध्यक्ष प्रदिपचन्द्र राईको नाम प्रदेश कमिटीमा सिफारिस भएको एमालेका जिल्ला सचिव गुरुङले जानकारी दिए । उपाध्यक्षमा दिलकुमारी लिम्बू, निर्मला दाहाल र ईश्वरा निरौलाको नाम सिफारिस गरिएको छ ।
चुलाचुलीमा यसअघिको स्थानीय तहको निर्वाचनमा ३४ सय ९३ मत सहित अध्यक्षमा राई विजयी भएका थिए । नेपाली कांग्रेसका राजेन्द्र केरुङले दोस्रो मत ३१ सय ४९ ल्याएका थिए ।
यसरीनै फाकफोकथुम गाउँपालिकाको अध्यक्षको आकांक्षी पाँचै जनाको नाम एमालेले प्रदेश कमिटीमा पठाएको छ । छत्र सुब्बा, दिपेन्द्र खनाल, प्रेमराज लिम्बू, बमबहादुर निरौला र राजकुमार थापाको नाम सिफारिस गरिएको जनाइएको छ ।
उपाध्यक्षमा भने आकांक्षी सातै जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । नाम सिफारिस भएकाहरुमा उमा भण्डारी, कल्पना राई, गायत्रीदेवी रेग्मी, विमला शर्मा, भगिता राई, मोमेन्द्र लिम्बू र सरस्वती राई रहेका छन् । यसअघिको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका रामकुमार श्रेष्ठले अहिलेका एमालेका अध्यक्षका आकांक्षी दिपेन्द्र खनाललाई एक सय ६४ मतले पराजित गरेका थिए ।
टिप्पणीहरू