रुसी हेलिकप्टरका दलालहरु राजधानीमा, अमेरिकी हतियार किन्ने वार्ता अर्थ मन्त्रालयमा
नेपाली बिचौलिया दिपक भट्टको निम्तो र तयारीमा रुसी हेलिकप्टर बेच्न कम्पनीका दलालहरु हिजो काठमाडौं आइपुगेका छन् । चुनावको मुखमा सट्याकसुट्क पाराले करोडौं रुपैयाँ मार्जिन राखेर खरिद गर्न लागिएको दुई वटा रुसी हेलिकप्टरको बन्दोबस्त मिलाउन रुसी दलाल र नेपाली दलाल दिपक भट्टसँगै नेपाली अधिकारीहरुले आजबाट भेटवार्ता थाल्ने भएका छन् ।
उनीहरुले प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवा,अर्थमन्त्री जनार्दन शर्मा र प्रधानसेनापति प्रभुराम शर्मासँग गोप्य भेटवार्ता गर्दैछन् ।
अहिलेको परिवेशमा रुसी हेलिकप्टर खरिद गर्न नसकिने व्याख्यासहित जनआस्थाको पछिल्लो समाचारपछि प्रधानमन्त्री र अर्थमन्त्रीलेअमेरिकी हतियार पनि किन्ने र हेलिकप्टरको निम्ति आवश्यक रकम निकासासमेत गर्ने भन्दै हिजो विशेष छलफल भएको छ । उक्त कार्यको निम्ति हिजो बिहान पौने १२ बजेदेखि झण्डै साढे १२ बजेसम्म अर्थमन्त्रालयमा भेटवार्ता भएको थियो ।
भेटमा अर्थमन्त्री र प्रधानसेनापति प्रभुराम शर्मा मात्रै बसेको स्रोतले बताएको छ । अर्थ मन्त्रालयका अन्य कर्मचारीलाई उक्त भेटमा राखिएको थिएन ।
सरकारले किन्न लागेको हेलिकप्टर सन् २०१७ मा प्रक्रिया अघि बढाएर रोकिएका दुई थान हेलिकप्टर हुन् । जसको मूल्य साढे चार अर्ब नेपाली रुपैयाँ बनाइएको छ । यसअघि सन् २०१५ को भुईंचालोको बेलामा पनि बिचौलिया भट्टको योजनामा सस्तो हेलिकप्टर महँगो प्रस्ताव बनाएर नेपाली सेनालाई भिडाइएको थियो ।
टिप्पणीहरू