हिजो मध्यरात पनि बालुवाटारमा बैठक
हिजो दिउँसोदेखि बस्ने भनिएको सत्तारुढ गठबन्धन दलहरुको बैठक साँझ बस्यो । लगभग छ वटै महानगर र ११ वटा उपमहानगरपालिकाका मेयरको सम्बन्धमा कुरो मिलेको भनिएपनि गठबन्धनमा आवध्द जनता समाजवादी पार्टीले कतिपय रिजर्भेसन राखेपछि बैठक राति फेरि बसेको हो ।
दिउँसोको बैठकमा जसपाका नेता तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ र अर्का एक जना नेता उपस्थित थिए । गठबन्धनमा भएको एक खालको सहमतिलाई जसपाका प्रतिनिधिहरुले मान्न नसक्ने भनेपछि अध्यक्ष उपेन्द्र यादवको उपस्थितिको लागि राति १० बजे बैठक बोलाइएको थियो ।
‘गठबन्धनमा जसपाको तर्फबाट जटिल समस्या देखिएपछि अध्यक्ष यादवलाई पर्खंदा राति १० बज्यो,’ नेपाली काँग्रेस स्रोतले भन्यो । गोरखा पुगेका यादव रातारात राजधानी फर्केका थिए । उनी आएपछि बसेको बैठक मध्यरातसम्म चलेको थियो । यादव साढे १० बजे राति काठमाडौं आइपुगेका हुन् ।
जसपाको टुंगो लाग्न बाँकी रहेकाले आज फेरि बालुवाटारमा गठबन्धनको बैठक डाकिएको छ । हिजो दिउँसोसम्म नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको भागबण्डा मिल्यो भनिए पनि त्यसमा जसपाले असहमति जनाएको बताइन्छ ।
विशेषगरी नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वको सवालमा जसपालको आपत्ति जनाएको स्रोतको दाबी छ ।
टिप्पणीहरू