माओवादीको किल्लामा एमालेका पनि सबै पुरुष
माओवादीको आधारभूमिका रुपमा चिनिएको रुकुम पश्चिममा नेकपा एमालेले स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाएको छ । आज पार्टी कार्यालयमा बसेको बैठकले जिल्लाका छ वटै पालिकामा प्रमुख÷उपप्रमुख र अध्यक्ष उपाध्यक्षको उम्मेदवार टुंग्याएको हो ।
एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीका अनुसार मुसिकोट नगरपालिकाको प्रमुखमा थलबहादुर ओली र उपप्रमुखमा चन्द्री महतरालाई उम्मेदवार सिफारिस गरिएको छ । चौरजहारी नगरपालिकाको नगर प्रमुख पदको लागि टंकप्रसाद ओली र उपप्रमुख पदमा डण्डी कार्कीको नाम तय भएको छ ।
त्यसैगरी आठबिसकोट नगरपालिकामा दिनेश चन्दलाई नगर प्रमुख र कृष्णाकुमारी मल्लाई उपप्रमुख पदको उम्मेदवारमा सिफरिस गरिएको छ । सानीभेरी गाउँपालिकाको अध्यक्ष पदमा युवा नेता प्रकाश खड्का र उपाध्यक्षमा पवित्रा डाँगीलाई सिफारिस गर्ने निर्णय भएको हो ।
त्रिवेणी गाउँपालिकाको अध्यक्षमा डिल्लीबहादुर ओली र उपाध्यक्षमा धनकला बिष्ट सिफारिस भएका छन् भने बाँफिकोट गाउँपालिकाको अध्यक्षमा गणेशबहादुर केसी र उपाध्यक्षमा देउमी पौडेलको नाम सिफारिस गरेर पठाउने निर्णय भएको प्रचार विभाग प्रमुख ओलीले जानकारी दिए ।
छ वटा पालिकाको उम्मेदवार टुंग्याउँदा एक जना पनि महिलाल मेयर र अध्यक्षमा सिफारिस भएका छैनन् । सबै पालिका प्रमुख तथा अध्यक्षको उम्मेदवार पुरुष बनेका छन् भने महिला उपप्रमुख वा उपाध्यक्षमा सीमित भएका छन् । बैठकले टुंगो लगाएका उम्मेदवारलाई अन्तिम निर्णयका लागि प्रदेश कार्यालयमा सिफारिस गरिने बताइएको छ ।
गत स्थानीय चुनावमा रुकुम पश्चिमका सबै पालिकामा माओवादी केन्द्रले एकलौटी जितेको थियो ।
टिप्पणीहरू