बेशीशहरका मेयर गुमानसिंहको नाम किन काटियो ?

बेशीशहरका मेयर गुमानसिंहको नाम किन काटियो ?

गत सोमबार पिस हिल रेष्टुरेन्ट भुस्मेमा बसेको एमाले लमजुङको सचिवालय बैठकले बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालको नाम काटकुट पारेर बाँकी उम्मेदवारको नाम प्रदेशमा पठायो । तुलनात्मकरुपमा राम्रै काम गरेका अर्याल सिफारिसमा नपरेपछि एमालेभित्र उनका प्रतिपक्षी नेता र बाहिर प्रतिष्पर्धी दलले राहत महसुस गरे । नगरपालिकामा अनियमितता गर्न नपाएर मेयरसंग ठुस्केका कर्मचारीहरुले त खुशी साटासाटसम्म गर्न भ्याएको गाईगुँई पनि सुनियो ।

सचिवालय बैठकले अर्यालको नाम हटाएर उम्मेदवार सिफारिस गरेपछि जिल्लादेखि वडासम्मै व्यापक असन्तुष्टी चर्किएको छ । एक जिल्ला कमिटी सदस्यले त प्रदेश सचिव र उपमहासचिव दुवैलाई फोन गरेर ‘यस्तो अन्याय पनि गर्न मिल्छ ?’ भनी ठाडै सोधेका थिए । एमाले सुभाष र कृष्ण अधिकारीको मात्रै हो ? भनेर उनले कराएपछि पिस हिल बैठकमै सहभागी सचिव धनन्जय दवाडी यसमा आफ्नो कुनै भूमिका नरहेको प्रतिक्रिया दिएर उम्किएका थिए ।

कार्यकर्ताको व्यापक दबाबपछि केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि चासो राखे । त्यसपछि उनकै निर्देशनमा अर्यालको नाम फेरि छुट्टै सिफारिस गरेर पठाईएको छ । बुझिएअनुसार आजै एमाले गण्डकी प्रदेश कमिटीले उम्मेदवारको छिनोफानो गर्दैछ । तर,अर्यालले टिकट पाउने एकदमै कम सम्भावना देखेका कार्यकर्ता त्यति उत्साहित छैनन् ।

एक जिल्ला कमिटी सदस्यले त प्रदेश सचिव र उपमहासचिव दुवैलाई फोन गरेर ‘यस्तो अन्याय पनि गर्न मिल्छ ?’ भनी ठाडै सोधेका थिए ।

बेसीशहर नगरपालिकाको मेयरमा एमालेले जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीसहित लक्ष्मी अधिकारी र राजकुमार बिष्टको नाम सिफारिस गरेको थियो भने उपमेयरमा, दूधप्रसाद गुरुङ,मनमाया गुरुङ, पद्मा गुरुङ र पवित्रा थापा सिफारिस भएका छन्।

त्यस्तै,सुन्दरबजार नगरपालिकामा पनि त्यस्तै लफडा हुन थालेपछि सोही बैठकमा उपस्थित रहेर पनि मेयर जनकराज मिश्रले आफ्नो कुनै दाबी विरोध नरहेको भन्दै उम्मेदवारी फिर्ता लिएका थिए । सो पालिकाबाट समन्वय प्रमुख लोकराज पाण्डे,भीमबहादुर गुरुङ, र शान्ता भुजेल सिफारिस भएता पनि प्रदेशले पुन: मिश्रलाई नै टिकट दिन सक्ने सम्भावना रहेको चर्चा पनि छ ।

यता, सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा त्यस्तै लफडा छ । हिजो अबेरसम्म बसेको गठबन्धनको बैठकले कुनै निर्णय लिन नसकेपछि आजपनि बस्दै छ । बेसीशहरमा एकीकृत समाजवादीले पनि उपमेयरमा दाबी गरेको छ भने माओवादी केन्द्र ज्यान गए छोड्ने पक्षमा देखिँदैन । कांग्रेस चैं माओवादी र समाजवादीलाई मिलाउने नाममा सबै आफ्नो भागमा पार्ने अर्को दाउमा छ ।

सुन्दरबजार नगरपालिकामा मेयरको दाबी समाजवादीले गरेपछि त झन विवाद चर्किएको छ । लमजुङका कुनैपनि पालिका प्रमुखमा माओवादी र समाजवादीलाई कांग्रेसले छोड्ने छेउछन्द नदेखिएपछि गठबन्धनको बैठक लम्बिएको समाजवादीका एक नेताले बताएका छन् ।

-अञ्जनकुमार

टिप्पणीहरू