एमाले माननीयको गृहपालिकामा काँग्रेसीमाथि आक्रमण प्रयास
नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्बर २ का संघीय सांसद गोकर्ण विष्टको गृहपालिकामा नेपाली काँग्रेसका नेताहरुमाथि आक्रमणको प्रयास भएको छ । इस्मा गाउँपालिकामा चुनाव प्रचारप्रसारको क्रममा नेपाली काँग्रेस क्षेत्रीय सभापति चन्द्रबहादुर महतलगायतका नेताहरुमाथि एमाले बताउने केही व्यक्तिहरुबाट आक्रमणको प्रयास भएको काँग्रेसीहरुले बताएका छन् ।
गुल्मी काँग्रेसले हिजो विज्ञप्ति प्रकाशित गरेर उक्त घटनाको निन्दा गरेको छ । २०७४ को स्थानीय निर्वाचनमा विष्टका सहोदर दाजु लक्ष्मण विष्ट उक्त गाउँपालिकाको प्रमुखमा विजयी भएका हुन् । पछिल्लो पाँच वर्षको अवधिमा गुल्मीका पालिकाहरुमध्ये सबैभन्दा धेरै प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएको पालिकामा उक्त पालिका परेको छ ।
लामो समयसम्म निमित्त प्रशासकीय अधिकृतको भरमा पालिकाको प्रशासन चलेको बताइन्छ । बीचमा प्रेम अर्याल प्रशासकीय अधिकृत छँदा स्वार्थ नमिलेपछि प्रमुख विष्टले पदीय मर्यादाभन्दा बाहिर गएर अर्याललाई धम्काएको विपक्षीहरुको आरोप छ । विभिन्न पालिकामा टिकट वितरणको क्रममा विभेद भएको र पुरानालाई पाखा लगाएर नयाँलाई भटाभट टिकट वितरण गरेपछि यहाँको एमालेमा विद्रोहको स्वर सुनिन थालेको हो ।
‘हिजो पार्टीलाई बचाउने सवालमा अनेक जोखिम मोलेर हामी लाग्यौं, आज न्याय गर्नु त परको कुरा पुरानालाई बेवास्ता गरेर कसैलाई दोहोर्याउने, नवप्रवेशी र विगतमा अनुचित लाभ लिएकालाई टिकट वितरण गर्नुले हामीलाई धकेलेर विद्रोहमा पठाएको,’ नाम उल्लेख नगर्ने शर्तमा एक जना नेताले बताए । विद्रोहको परिणाम तुरुन्तै देखिने समेत उनले जानकारी दिए ।
उक्त क्षेत्रका तुलनात्मक रुपमा लोकप्रिय युवानेता नरेश भण्डारीहरु पहिले एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी प्रवेश गरी सकेका छन् । इस्मा गाउँपालिका प्रमुखमा एमालेले युवा नेता हिरा एसी र गठबन्धनबाट नेपाली काँग्रेसका युवा नेता भगत खड्कालाई अगाडि सारेको छ ।
टिप्पणीहरू