एमालेले मध्यरातमा पैसा बाँडेको भन्दै स्थानीयको प्रतिकार, ८ जना पक्राउ
-आषिका लम्साल
आचारसंहिता विपरित मध्यरातमा एमाले कार्यकर्ताहरु पैसा बाँडन पुगेको भन्दै मोरङको रंगेलीमा स्थानीयले प्रतिकार गरेका छन् । रंगेली नगरपालिका ८ निशामारीस्थित इण्डिया गेट नामको बस्तीमा राति एमालेका कार्यकर्ताहरु मोटरसाइकल र कारमा पैसा बोकेर गएको भन्दै स्थानीयले प्रतिकार गरेका हुन् ।
बा.१५ च ८४१५नम्बरको कार र को.१५–८८ क नम्बरसहितको सातवटा मोटरसाइकलमा एमालेको सूर्य चिन्ह फरफराउँदै पुगेका एमाले कार्यकर्ताले गाउँमा आचारसंहिता विपरित पैसा बाँड्न खोजेको स्थानीयको आरोप छ ।
आचारसंहिताबमोजिम साँझ ७ बजेपछि चुनाव प्रचार प्रसार गर्न नपाइने स्थानीय अनुगमन समिति संयन्त्रले सहमति गरे पनि उल्लंघन गर्दै पैसा बाँडन खोजेको आरोप स्थानीयको छ ।
स्थानीयले प्रतिकार गरेपछि एमाले कार्यकर्ताहरु त्यहाँबाट भागेको उनीहरु बताउँछन् । रंगेलीबाट ढिलो पुगेको प्रहरी टोलीले पैसा बरामद गर्न नसकेपछि एमाले कार्यकर्तालाई अबदेखि आचारसंहिता उल्लंघन नगर्ने सर्तमा छाडिदिएको थियो ।
एमालेका रंगेली नगरपालिकाका उम्मेदवार दिलिप बगडियाका आफन्त मनोज अग्रवाल कार्यकर्ताहरुसहित स्थानीय जगन्नाथ ताजपुरियाको घरमा केन्द्रित भएर बस्तीमा पैसा बाँडन पुगेको स्थाानीयको आरोप छ । तर, एमालेले उक्त आरोप निराधार भएको बताएको छ ।
रंगेली नगरपालिकामा हाल मेयर पदका एमाले उम्मेदवार दिलिप अग्रवाल पहिले माओवादीबाट निर्वाचित भएका हुन् । उनी हालै एमाले प्रवेश गरेर मेयर पदका उम्मेदवार बनेका हुन् । ईंटाभट्टा र जुत्ताचप्पल उद्योगका मालिक बगडिया पहिले नेपाली काँग्रेसमा थिए ।
संविधान सभा निर्वाचनमा सभासदमा टिकट नपाएपछि रुष्ट भएका उनी काँग्रेस छाडेर माओवादीमा प्रवेश गरेका थिए । बगडियाको रंगेली क्षेत्रमा एक दर्जन ईंटा उद्योग सञ्चालनमा छन् ।
टिप्पणीहरू