संसद देख्नै नसक्ने एमालेलाई भोट दिनुहुँदैन : प्रधानमन्त्री देउवा

संसद देख्नै नसक्ने एमालेलाई भोट दिनुहुँदैन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेले चुनाव जिते संविधान र लोकतन्त्रको रक्षा नहुने बताउनुभएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनले बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र जोगाउन स्थानीय चुनावमा बुटवलवासीले एमालेलाई भोट नदिने विश्वास पनि व्यक्त गर्नुभयो।

एमालेका उम्मेदवारलाई मत नदिन आग्रह गर्दै देउवाले भन्नुभयो, ‘ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? संसद् विघटन गरेको गरेकै गर्नुभयो । अदालतले न्याय गरेर संसद् पुनःस्थापना गर्‍याे तर चल्न दिएको छैन ।’

केपी ओलीले पटक-पटक संसद विघटन गरेर संविधान र लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरेकाले अहिलेको गठबन्धन बनेको पनि देउवाले बताउनुभयो । गठबन्धनलाई राष्ट्रिय आवश्यकताको रूपमा अर्थ्याउँदै उहाँले गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गर्नुभयो ।

कुनै पनि शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने उहाँको भनाइ छ । ‘याे गठबन्धन आवश्यक छ । गठबन्धनको भविष्यका लागि उम्मेदवारहरूलाई जिताउनु आवश्यक छ । सङ्‍घीयता, गणतन्त्र र लोकतन्त्रलाई स्थायी रूपमा बचाउन पनि गठबन्धन आवश्यक छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘गठबन्धन दहरूबीच तालमेल गरेर उम्मेदवारी दिइएको छ । गठबन्धनका सबै साथीहरूलाई शंका उपशंका नगरी जिताउनुपर्छ ।’

देशको स्थायी विकास गर्न, सुकुम्वासीहरूको समस्या समाधान गर्नदेखि राजनीतिक व्यवस्थाहरू जोगाउन पनि गठबन्धन बनेको देउवाले प्रष्ट पार्नुभयो ।

टिप्पणीहरू