मलका लागि किसान आयोग जुर्मुरायो

मलका लागि किसान आयोग जुर्मुरायो

राष्ट्रिय किसान आयोगले किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेको छ । धान लगाउने सिजन शुरु भएसँगै आयोगले मलको बन्दोबस्त मिलाइदिन सरकारसँग आग्रह गरेको हो ।

धानलगायत मकै खेतीको उत्पादन र उत्पादकत्व बढाउन रासायनिक मल आवश्यक पर्ने भएकाले समयमा नै मल उपलब्ध गराउन सरकारलाई अनुरोध गरेको आयोगले जनाएको छ । देशका विभिन्न स्थानहरुबाट रासायनिक मलको अभाव भएको गुनासो आइरहेको भन्दै आयोगले सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण गराएको हो ।

’कृषकहरुले खेती शुरु गर्ने समयमा धान एवंम् मकै बालीमा आवश्यक पर्ने रासायनिक मलको प्रयोग गर्न नपाएमा उक्त बालीहरुको उत्पादन र उपादकत्व स्वतः घट्ने हुँदा किसानहरुको मागबमोजिम यथाशीघ्र रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय किसान आयोग सरकार र विभिन्न सरोकारवाला निकायहरु समक्ष हार्दिक अपिल गर्दछ,’ आयोगले आज विज्ञप्ति निकालेर भनेको छ ।

धानको उत्पादन र उत्पादकत्व बढाउन सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेर सहयोग पुर्याउँदै आएको भए तापनि खाद्यान्न आयातमा वृद्धि भइरहेको आयोगको भनाइ छ ।

टिप्पणीहरू