आकाशमा पाङ्ग्रा पड्किए पनि भीआइपीहरु बुध्दकै उडानमा

आकाशमा पाङ्ग्रा पड्किए पनि भीआइपीहरु बुध्दकै उडानमा

हिजो बुद्ध एयरको उडानमा नेपालका लागि इजरायली राजदूत हानान गोडर गोल्डबर्गर बिहान पौने ८ बजे दुई जनाको टोली लिएर भरतपुर जानुभयो ।

सोही कम्पनीको एटिआर जहाजमा काठमाडौंबाट बिहान साढे ८ बजे नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि सुर्खेत जानुभएको थियो ।

कोरियाली राजदूत पार्क चोङ सुकसहित चार जनाले पनि हिजो बिहान पौने ९ बजे बुद्ध एयरको भैरहवा जाने जहाज प्रयोग गर्नुभएको छ । उता मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साह बुद्ध एयरको उडानमा बिहान ९ बजे काठमाडौंबाट जनकपुर जानुभयो ।

बुद्ध एयरकै उडानमा धनगढीबाट बिहान १० बजे विश्व बैंकका निर्देशक फरिस हाइजर हाडड जेरबोस काठमाडौं आउनुभयो भने पौने १ बजे पूर्वमन्त्री रघुवीर महासेठ जनकपुरबाट राजधानी फर्कनुभयो ।

पूर्वमन्त्री तथा एमाले नेता लेखराज भट्ट भने श्री एयरलाइन्सको क्यानाडानिर्मित बमबार्डियर जेटमा दिउँसो साढे ३ बजे धनगढी जानुभएको आन्तरिक विमानस्थलस्थित श्री एअरलाइन्सका कर्मचारीले बताए ।

बुद्ध एयरकै दिउँसो ४ बजेको उडानमा काठमाडौंबाट पूर्वमन्त्री मातृकाप्रसाद यादव जनकपुर जानुभयो । सवा ४ बजे श्री एयरलाइन्सको उडानमा काठमाडौंबाट पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला भद्रपुर पुग्नुभयो ।

बुद्ध एयरको उडानमा जनकपुरबाट मधेश प्रदेशका कृषिमन्त्री विजयकुमार यादव सवा ४ बजे काठमाडौं आउनुभएको छ । त्यसैगरी प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री शेरधन राई साँझ ६ बजे सौर्य एअरलाइन्सको अर्को अत्याधुनिक जहाजमा विराटनगरबाट काठमाडौं आउनुभयो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन चाहिँ बुद्ध एअरको उडानमा हिजो साँझ ७ बजे काठमाडौंबाट भद्रपुर पुग्नुभएको राप्रपा झापाले जनाएको छ ।

टिप्पणीहरू