घरबाट निकालिएकी हजुरआमाको चुनावको बहानामा नातिद्वारा हत्या
स्थानीय तह निर्वाचनमा भोट हाल्न शहरबाट गाउँ लैजाने क्रममा बृद्ध हजुरआमाको हत्या गरेको भन्दै नातिविरुद्ध प्रहरीमा जाहेरी परेको छ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भई हाल इटहरी उपमहानगरपालिका–१६ बालग्रामचोक बस्दै आएकी ७७ वर्षकी तुलसा खड्कालाई भोट हाल्न गाउँ लैजाने क्रममा बाटैमा हत्या गरेको आरोपमा नातिविरुद्ध किटानी जाहेरी परेको हो ।
कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । ३० वैशाखको स्थानीय तह निर्वाचनमा मतदान गर्न भन्दै बृद्धा वैशाख २६ गते नातिसँग सुनसरीबाट खोटाङतर्फ हिँडेकी थिइन् । गाउँ हिँडेकै दिनदेखि बेपत्ता भएकी उनको शव ३१ गते बैशाखमा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेराको सुनकोशी नदी किनार भेटिएको थियो ।
बेवारिसे अवस्थामा भेटिएको शवलाई प्रहरीले उठाएर उदयपुरको बेलटार लगी पोष्टमार्टम गरेको थियो । तर पोष्टमार्टमपछि पनि आफन्त सोधीखोजीमा नपुगेपछि बेवारिसे बनेको शवको २ जेठमा सदगद गरियो । शव हिजो बल्ल सनाखत भएको छ ।
दाँत,साडी,चोलो लगायतका माध्यमबाट ठूलीआमाको पहिचान गरिएको भतिजी लक्ष्मी खड्काले बताइन् । “गत वर्ष डेण्टलमा लगेर ठूलीआमाको दाँत हालिदिएको थिएँ । उहाँले रातो पारी भएको पहेँलो साडी र राधे लेखिएको गेरु रंगको कपडा ओढ्नु भएको थियो,” उनले भनिन्, “शव सडेर नचिनिने अवस्थामा भए पनि यही प्रमाणको आधारमा पहिचान गरेका हौँ ।’
लक्ष्मीका अनुसार पारिवारिक बेमेल र हिंसा पीडित बृद्धालाई उनले आफ्नो घर नजिकै कोठा व्यवस्था गरेर एक वर्षदेखि रेखदेखमा राखेकी थिइन् । तर, आफू घरमा नभएको बेला बृद्धाको नातिले कोठाबाट लगेको र बेलुका फोन गर्दा सम्पर्क हुन नसकेको लक्ष्मी बताउँछिन् ।
शहरबाट मतदान गर्न गाउँ जाने मतदाताका लागि उम्मेदवारहरुले गाडीको व्यवस्था गरेका थिए । लक्ष्मीले पनि बृद्धालाई त्यस्तै प्रायोजित गाडीमार्फत मतदान गर्न जान र फर्कन सुझाएकी थिइन् । तर आफू बिहेमा गएको बेला बृद्धालाई मतदान गर्न गाउँ लैजाने बहानामा बेपत्ता पारिएको लक्ष्मीको दावी छ ।
मतदान गर्न जाने क्रममा सँगै रहेका बृद्धा बेपत्ता भएपछि आफन्तले नातिलाई शंकास्पद नजरले हेरेका थिए । बृद्धाको बारेमा सोधखोज गर्दा उनले ‘आफन्तकोमा इन्डिया गएको र महिना दिनपछि आउने’ जवाफ दिने गरेका थिए । घटना थप शंकास्पद बन्दै गएपछि लक्ष्मीले बृद्धाको हत्या भएको र नातिकै संलग्नता रहेको सामाजिक सञ्जालमार्फत लाइभ बसेर दावी गरेकी थिइन् ।
गत १० जेठसम्म सम्पर्कमा रहेका अभियुक्त १३ जेठदेखि सम्पर्कमा नरहेको लक्ष्मीको भनाइ छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी लम्सालले बताए ।
टिप्पणीहरू