जेलको भान्साघर निर्माणमा लाखाैं भ्रष्टाचार
कारागार कार्यालय कुश्मा, पर्वतका प्रमुख शिला श्रेष्ठ भ्रष्टाचारमा तानिएकी छन् । जेलको भान्साघर ब्लक निर्माण गर्दा लाखौं रकम भ्रष्टाचार गरेको आरोपमा उनीसहित पाँच जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो ।
मुद्दा दर्ता हुनेमा बोलपत्र मूल्याङ्कन समितिका सदस्यहरु सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङका इन्जिनियर विकाश अधिकारी, कारागारका नासु हरिकृष्ण शर्मा, सहलेखापाल सुभास घर्ती र मोदीकाली कन्स्ट्रक्सन मोदी–६, का प्रोपाइटर प्रदिप तिमिल्सिना छन् ।
आर्थिक वर्ष २०७८–०७९ मा कारागारको भान्साघर ब्लक निर्माण प्रक्रिया अघि बढाइएको थियो । त्यसका लागि ६३ लाख ७२ हजार ३९४ रुपैयाँ लागत लाग्ने अनुमान गरी ठेक्का आह्वान गरिएकोमा सौर्य किरण कन्स्ट्रक्सनले ४२ लाख १६ हजार ६५८ रुपैयाँमा काम गर्नेगरी बोलपत्र पेश गरेको थियो ।
तर, उनीहरुको मिलेमतोमा सौर्यसहित अन्य कम्पनीलाई पन्छाई सबैभन्दा बढी अर्थात् ६२ लाख ७१ हजार १६१ रुपैयाँ कबोल गर्ने मोदीकाली कन्स्ट्रक्सनलाई ठेक्का दिइएको अख्तियारको ठहर छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम २१ लाख ५५ हजार ७३५ रुपैयाँ बिगो कायम गरी प्रतिवादीहरुलाई कैद र जरिवाना सजाय हुन माग गरेको छ ।
टिप्पणीहरू