सबैतिर डिजिटलाइनेसन, बल्खुमा सँधै लाइन

सबैतिर डिजिटलाइनेसन, बल्खुमा सँधै लाइन

मुलुकका विश्वविद्यालय पछिल्लो समय रित्तिँदै गएको छ । माध्यमिक शिक्षा पढेर विद्यार्थीहरु धमाधम उच्च शिक्षाका लागि विदेश गइरहेका छन् । जसको प्रमुख कारण विश्वविद्यालयहरुको लापरवाही र कमजोरी हो । समयानुकूल विश्वविद्यालयमा परिवर्तन आउन नसक्दा विद्यार्थीहरु यहाँ पढ्नै चाहँदैनन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मुलुककै जेठो विश्वविद्यालय हो । 

देशभरका आधाभन्दा बढी विद्यार्थी त्रिविअन्तर्गतकै आंगिक कलेजमा पढ्छन् । सबैभन्दा बढी विद्यार्थी भएको विश्वविद्यालयको अवस्था देख्दा जोकोहीलाई दिक्क लागेर आउँछ । अन्य विश्वविद्यालयले आफूलाई डिजिटलाइनेशनमा रुपान्तरण गरिसक्दा त्रिविमा भने अझै लाइन नै लाग्नुपर्ने अवस्था छ । एउटा सामान्य कामका लागि पनि भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यता त्रिविमा छ । 

त्रिविको बल्खुस्थित परीक्षा नियन्त्रणको कार्यालयमा जहिलेपनि भीड देखिन्छ । रजिष्ट्रेशन नम्बरमा एउटा अक्षर बिग्रिएमा सच्याउनसमेत त्यहीँ धाउनुपर्ने भएकाले कार्यालयमा सँधै विद्यार्थीको चाप हुन्छ । ट्रान्सक्रिप्ट लिनका लागि पटकपटक कार्यालय धाउनुपर्ने बाध्यता छ । स्नातक तहको ट्रान्सक्रिप्टका लागि त्रिवि पुगेकी अस्मिता मल्लले नेपालमा पढ्नभन्दा सर्टिफिकेट लिन गाह्रो रहेको गुनासो पोखिन् । 

भनिन्,‘त्रिविमा त पढ्नभन्दा पनि सर्टिफिकेट लिन गाह्रो रहेछ । ट्रान्सक्रिप्टको लागि दुईपटक आइसके । आज पनि काम सकिने हो कि होइन् भन्ने चिन्ता छ ।’ त्यस्तै, ट्रान्सक्रिप्टकै लागि आएका नरेशकुमार ठाकुरले त्रिविकै कारणले विद्यार्थीहरु विदेशिरहेको बताए । 

‘विद्यार्थी विदेश जाने कारण यही हो । न समयमा परीक्षा हुन्छ न रिजल्ट आउँछ । चार वर्ष लाग्ने स्नातक सक्न ६ वर्ष लाग्छ । बल्लतल्ल सकिन्छ, रिजल्ट लिन त्यस्तै गाह्रो छ । प्रविधिको युगमा पनि त्रिवि ढुंगे युगमा चलिरहेको छ’,उनले भने । त्रिविले विद्यार्थीको भविष्यसँग खेलबाड गरिरहेको नबिना नेपालीको आरोप छ । ‘त्रिविले अति नै गर्ने रहेछ । न परीक्षाको ठेगान छ न नतिजाको । बल्लतल्ल स्नातक सकायो, सर्टिफिकेट लिन उस्तै झ्याऊ छ । एउटा ट्रान्सक्रिप्टको फाराम भर्न कतिचोटि धाउनुपर्ने हो ?’,उनले भनिन् ।

जताततै लाइन नै लाइन 

बिहान ९ बजे नै कार्यालयको गेटमा विद्यार्थीको लाम लागिसकेको हुन्छ । जबकि, कार्यालय १० बजे मात्रै खुल्छ । छिटो पालो आउने आशमा बिहानदेखि लाइन बसेका विकास सापकोटा भन्छन्,‘बिहानै आउँदा त पालो पाउन गाह्रो हुन्छ । दिनदिनै आउन भ्याइँदैन, काममा पनि जानुपर्छ ।’ कार्यालयमा ग्लोबल आईएमई बैंक र नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर छ । 

गेटबाट छिर्नेबित्तिकै ग्लोबल आईएमई बैंकको काउण्टर देखिन्छ । दुवैतिर उस्तै भीड हुन्छ । बैंक दिँउसो ३ बजेसम्म मात्र खुल्ने भएकाले विद्यार्थीहरु धकेलाधकेल गर्छन् । भौंचर लिने र भुक्तानी गर्ने लाइन कहिलेकाँही गेटसम्म पनि आउने गरेको छ । बैंकमा घण्टौं उभिएर भौंचर बुझाएपछि फेरि अर्को लाइनमा गएर बस्नुपर्छ । एउटा फाराम बुझाउँदा दिन बित्छ । फाराम बुझाएको २० दिनपछि मात्र ट्रान्सक्रिप्ट आउँछ । 

ट्रान्सकिप्ट लिनका लागि पनि फेरि घण्टौं लाइनमा उभिनुपर्छ । ट्रान्सक्रिप्ट लिन आएकी एलिजा गिरी भन्दै थिइन्,‘ट्रान्सक्रिप्ट बुझाउँदा पनि यस्तै लाइन थियो, लिन आउँदा पनि उस्तै छ । सानो कामका लागि पनि यहाँ लाइन नलागि सुःखै रहनेछ ।’ त्रिविका आंगिक क्याम्पसबाट स्नातक र स्नातकोत्तर उत्तीर्ण गरेका मुलुकभरका विद्यार्थी ट्रान्सक्रिप्ट, प्रोभिजनल, माइग्रेशन, रजिष्ट्रेशन कार्डलगायत प्रमाणपत्र लिन बल्खु नै आउनुपर्छ । 

त्रिविले जिल्लाबाटै सर्टिफिकेट दिने व्यवस्था मिलाउन नसक्दा विद्यार्थीले अनाहकमा दुःख पाइरहेका छन् । ट्रान्सक्रिप्ट लिएपछि प्रोभिजनल र माइग्रेशनका लागि पुनः छुट्टै फाराम भर्नुपर्छ । विद्यार्थीले फेरि उही सास्ती खेप्नुपर्छ । भौंचर भर्ने, लाइनमा गएर घण्टौं उभिने प्रक्रिया शुरु हुन्छ । 

त्रिविको कारण स्नातकोत्तर पढ्न अरुचि

ट्रान्सक्रिप्ट लिन आएका अधिकांश विद्यार्थीहरु त्रिविमा स्नातकोत्तर नपढ्ने बताइरहेका थिए । त्रिविमा दुई वर्षको स्नातकोत्तर सकाउन चार वर्ष लाग्ने जिकिर उनीहरुको छ । बल्खु पुगेकी प्रीति लामाले भनिन्,‘म त त्रिविमा स्नातकोत्तर पढ्दिनँ । दुई वर्षको स्नातकोत्तर सकाउन चार वर्ष लाग्छ ।’ त्रिविमा पढ्नु पैसा र समय खेर फाल्नु मात्र भएको विद्यार्थी प्रकाश रावलको भनाइ छ । ‘स्नातक त बल्लतल्ल सकियो, स्नातकोत्तर कहिले सकिने हो ? त्यसैले त्रिविमा चाँहि पढिँदैन । यहाँ पढ्नु पैसा र समय खेर फाल्नु मात्र हो’,उनले भने ।

अनलाइन सेवा भएन प्रभावकारी 

त्रिविले गत असार १५ गतेदेखि १० वटा सेवा पूर्ण रुपमा डिजिटल माध्यमबाट उपलब्ध गराउने व्यवस्था गरेको थियो । जसमा त्रिवि रजिष्ट्रेशन, परीक्षा आवेदन, ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पुनर्योगका लागि आवेदन, शैक्षिक कागजात सच्याउने, सिफारिस पत्र, प्रमाणीकरण तथा प्रमाणपत्रका प्रतिलिपि आवेदन फाराम छ । 

तर, त्रिविको अनलाइन सेवा नाम मात्रको बनेको छ । अनलाइन सेवा प्रभावकारी नभएको विद्यार्थीहरु बताउँछन् । अनलाइनबाट फाराम भर्न झमेला भएकाले विद्यार्थीहरु कार्यालय नै धाउन बाध्य छन् । अनलाइन माध्यम कहिले चल्ने, कहिले नचल्ने विद्यार्थीहरुको गुनासो छ । कार्यालयले सर्टिफिकेटका लागि भौतिक रुपमा उपस्थित हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा उनीहरुको जोड छ । 

व्स्थपनको अभाव 

कार्यालयमा व्यवस्थापनको पनि एकदमै अभाव देखिएको छ । फाराम लिने र ट्रान्सक्रिप्ट दिने काम एउटै शाखाबाट हुन्छ । जसका कारण शाखा गञ्जागोल देखिन्छ । एउटा शाखाबाट फाराम लिने र अर्कोबाट दिने व्यवस्था गर्नुपर्ने विद्यार्थीहरुको जिकिर छ । विद्यार्थीहरु भन्दै थिए,‘के गरेको होला यस्तो । फाराम लिने र ट्रान्सक्रिप्ट दिने छुट्टाछुट्टै शाखा बनाइदिए पनि हुन्थ्यो नि । अलि भीड पनि कम हुन्थ्यो ।’

यता, त्रिविको सेवामा चरम ढिलासुस्ती छ । त्यहाँ सबै काम ‘कछुवा गति’ मा हुन्छ । अधिकांश शाखामा कर्मचारी भेटिँदैनन् । खाजा खान भनेर घण्टौं हराउँछन् । उनीहरु लाइनमा सेवाग्राही छन् भनेर सोच्दैनन् । त्रिविकी सूचना अधिकारी लिली थापाले त्यहाँको विषयमा खासै जानकारी नभएको बताइन् । ‘म कीर्तिपुरमा हो । त्यहाँ सेवाहरु अनलाइन सिस्टमबाट दिने भन्नेसम्म जानकारीचाँहि पाएक

टिप्पणीहरू