काठमाण्डौमा एमाले र माओवादीको गोप्य तालमेल
माओवादीले बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनका निम्ति सत्तारुढ गठबन्धनवीच तालमेल गरेको भनिए पनि काठमाडौं महानगरपालिकाभित्रका केही वडामा भने एमालेसँग गोप्य मिलाप गरेको कागजात भेटिएको छ । वैशाख २० गते गरिएको लिखित तालमेल एक महिनापछि अस्ति जेठ २० गते बल्ल बाहिरिएको हो ।
काठमाडौैं महानगरपालिकाको वडा नम्बर ५ मा एमालेले स्थानीय माओवादी केन्द्रसँग सहमति गरेर निर्वाचन लड्ने लिखित सम्झौता १० दिनअगावै गरेको देखिन्छ । सोहिबमोजिम हाँडीगाउँ क्षेत्रको उक्त वडामा एमालेका वीरेन्द्र प्रजापतिले जितेका छन् ।
नेपाली काँग्रेसबाट वडाध्यक्षमा रमेश डंगोल उठेका थिए । उनले यस पटक पनि एक्लै उठेर एक्लै जित्ने उद्घोष गरेपछि माओवादीका स्थानीय नेता रिसले चुर भएका थिए । डंगोलको घमण्डलाई ठेगान लगाउन एमाले र माओवादीबीच लिखित सहमति गरिएको बताइन्छ ।
यसअघि २०७४ मा माओवादीले जति मत ल्याएको थियो,अहिले त्यति नै अन्तरले एमालेलाई जिताइदिएको देखिन्छ । तर नेवार समुदायबाट काँग्रेसका अन्य दुई इन्जिनियरले भने सदस्यमा जितेका छन् ।
दुवै पक्षका अध्यक्षका उम्मेदवार बसेर उक्त सम्झौतामा हस्ताक्षर गरिएको व्यहोरा उल्लेख छ । निर्वाचनपछि वडाको हरेक नीति,योजना, नियुक्तिलगायतका कामहरुमा दुवै पार्टीको सहकार्य र छलफलबाट काम कारबाहीहरु अघि बढाइने पहिलो बुँदामा लेखिएको छ ।
एमाले उम्मेदवारलाई जिताउन सोही दिनदेखि माओवादी केन्द्रका सम्पूर्ण वडा पार्टी कमिटीका कमरेडहरुले खुलेर लाग्ने कुरा लिखित सहमतिमा परेको छ ।

टिप्पणीहरू