किन एक्लिँदै गइन् सुमना ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा रहँदासम्म ‘युवा आइकन’ को रूपमा चर्चा गरिएकी पात्र हुन्, सुमना श्रेष्ठ । छोटो समय शिक्षामन्त्री हुँदा होस् या संसदमा उनका प्रस्तुतिले सामाजिक सञ्जालदेखि सञ्चार माध्यम हुँदै सडकसम्म वाहवाही कमायो । तर, जेनजी आन्दोलनपछि रास्वपा छोडेर हिँडेकी उनी अहिले राजनीतिमा एक्लिँदै गएकी छन् ।
एक वर्ष अघिदेखि नै रास्वपा छाड्न लागेको हल्लाबीच जेनजी आन्दोलनको ठीक पाँच दिनपछि भदौ २९ गते सुमना बाहिरिइन् । रवि लामिछानेलाई छाडेर प्रधानमन्त्री सुशीला कार्कीको निकट बन्न पुगेकी उनी अहिले दलविहीनताको अवस्थामा मात्र पुगेकी छैनन्, राजनीतिबाटै एक्लिएकी छन् ।
रास्वपा नछाड्दै काठमाडौँ महानगरका मेयर बालेन्द्र साहसँग नजिकिएकी सुमनाले कुलमान घिसिङसँग मिलेर पार्टी खोल्न लागेको चर्चा थियो । उनकै अगुवाइमा बालेन्द्रको समेत समर्थन लिएर जेनजी अगुवा भनिएका ३७ वर्षे सुदन गुरुङ समूहलाई पनि समेटी नयाँ दल गठनको गृहकार्य चलिरहेको दावी गरिएको थियो । यसका लागि विभिन्न चरणमा छलफल भएको कुरा पनि बाहिर आइरहेको थियो ।
तर, कुलमानले आफ्नै व्यक्तित्व झल्किने नाम र चुनाव चिह्न राखेर पार्टी खोल्दा सुमना त्यसमा अटाइनन् । यौटै पार्टी खोल्न सबै सहमत भए पनि नाम र चुनाव चिह्नमा मतभेद भएपछि उनी त्यो पार्टीमा नपरेको बताइएको छ ।
बलिरहेको बिजुलीको चिम चुनाव चिह्न रहेको कुलमानको उज्यालो नेपाल पार्टीमा पूर्वसचिव अनुपकुमार उपाध्याय अध्यक्ष छन् । स्रोतका अनुसार नाम र नेतृत्वमा सुमना असन्तुष्ट भएपछि उनीहरूको सहकार्य शुरु नहुँदै टुटेको हो ।
बालेन्द्र साहको समर्थनमा कुलमानसँग मिलेर नयाँ पार्टी खोल्ने योजनामा असफल बनेकी सुमनाको पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्कीसँग पनि दूरी बढेको चर्चा छ । प्रधानमन्त्रीलाई थाहै नदिई सचिवालयमा आफ्ना मान्छे घुसाएको तथ्य खुलेपछि उनलाई बालुवाटारले ‘एक्सेस लिमिट’ गरेको स्रोत बताउँछ ।
स्रोतका अनुसार आफूलाई प्रधानमन्त्रीको सल्लाहकारकै भूमिकामा देखाउन खोजेकी सुमनाले सचिवालयमा थप आफ्ना मान्छे नियुक्त गर्न खोजेपछि बालुवाटार झस्किएको हो । प्रधानमन्त्रीको सचिवालयमा ४२ जनाको दरबन्दी रहेकामा २० जना मात्र नियुक्त भएका थिए । सुमना भने दरबन्दीअनुसार गर्नुपर्ने भन्दै भित्रभित्र लबिङ गरिरहेकी थिइन् ।
तर, ६ महिनाका लागि प्रधानमन्त्री भएकी कार्कीले सानो र छरितो टिम बनाउने भन्दै उल्टै घटाएर ६ जनामा सीमित गरिदिइन् । त्यसपछि सुमनाले जेनजीलाई उचालेर सरकारको बद्ख्वाइँ गर्दै हिँडेको स्रोत बताउँछ ।
त्यसो त सुमनालाई पछिल्लो समय जेनजीले पनि विश्वास गर्न छाडेको भनिँदै छ । विभिन्न समूहमा रहेका जेनजीलाई आफूअनुकूल उचाल्ने र पछार्ने गरेको आरोप उनीमाथि लागेको छ । १० बुँदे सम्झौतामा हस्ताक्षर भएको दिन पनि सुमनाको भूमिका शंकास्पद देखिएको प्रधानमन्त्रीनिकट जेनजी समूहका एक युवाले दावी गरे ।
‘खासमा त्यो दिन उहाँको उपस्थिति जरुरी नै थिएन’, उनी भन्छन्, ‘जसरी सम्झौता च्यात्ने काम भयो, त्यसमा हाम्रो केही आशंका छ ।’
यता, जेठो छोरोको उपमा पाएका सुदन गुरुङले पनि पछिल्ला दिनमा प्रधानमन्त्रीसँग सेड्युलमा मात्र भेट पाउने गरेको बुझिएको छ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग सिधै ‘एक्सेस’ बनाएका उनी कतिपय सन्दर्भमा त्यताबाट प्रधानमन्त्रीकहाँ पुग्ने गरेको बुझिएको छ ।
(जनआस्था साप्ताहिकको पुस २ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू