भारतका कूटनीतिज्ञ डा. करण सिंह नेपाली राजनीतिका लागि नौलो नाउँ होइन । जम्मु र काश्मिरको नाम मात्रका शासक थिए कुनैबेला । पछि सन् १९५२ देखि १९६५ सम्म काश्मिर राज्यको सदर – ए – रियासत बने भने सन् १९६५ पछि त्यहीँको प्रथम गभर्नर । नेपाल उनको ससुराली हो । उनले मोहनसमशेरकी नातिनी र कुमार शारदासमशेर जबराकी छोरी यशो राज्यलक्ष्मीसँग सन् १९५० मा बिहे गर्दा १९ वर्षका थिए । बेलाबखत नेपाल आइराख्ने, नेपालका राजनीतिज्ञसित कहिले गोप्य त कहिले खुला भेटघाट गरिराख्ने उनको भूमिका त्यसबेला प्रष्ट देखियो जतिबेला राजा ज्ञानेन्द्रको शासन डग्मगाइसकेको थियो, राजनीतिक दल शाही शासनविरुद्ध आन्दोलनरत थिए । सुनिन्छ, उनैले ‘बेबी किङ’ को प्रस्ताव राखेर राजा र दलबिच सम्झौता गराउन खोजेका थिए र ज्ञानेन्द्रलाई संसद पुनःस्थापनाकोे निम्ति मञ्जुर गराएका थिए । ज्ञानेन्द्र ‘बेबी किङ’ मा सहमत नबनेपछि नेपालमा सदाको लागि राजतन्त्र अन्त्यको स्थिति बन्नपुग्यो । सुन्नमा आएकै हो, तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त्यसबखत उठाएको ‘बेबी किङ’ को प्रस्ताव पनि भारतकै चाहना अनुरुपको थियो ।
जम्मु र काश्मिरका अन्तिम महाराजा हरि सिंह करण सिंहका पिता हुन् । करण सिंहकी आमा तारादेवी हरि सिंहकी चौथो पत्नी थिइन् । हरि सिंहले सन् १९२५ देखि सन् १९५२ सम्म राज गरे । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि पनि काश्मिरलाई स्वतन्त्र अधिराज्य बनाइराख्न कोसिस गरे । यसै क्रममा सन् १९५२ सम्म नाम मात्रको भए पनि महाराजा बनिरहन सफल भए । सन् १९३७ मा काश्मिरमा प्रजातन्त्र स्थापना गर्न खोजे । तर, प्रधानमन्त्री शेख अब्दुल्लाह उक्त प्रस्तावविरुद्ध खडा भए । त्यसबेला त्यहाँको नियम थियो, प्रधानमन्त्री नै भावी महाराजा बन्ने । महाराजा हरि सिंह अब्दुल्लाहको कुकृत्यबारे पूर्ण जानकार थिए, त्यसैले त्यहाँका जनताको भलाइका खातिर आफ्नो राज्यमा प्रजातन्त्र बहाली चाहे । तर अब्दुल्लाह हरि सिंहकै विरुद्ध लागे, सेनालाई विद्रोहमा उत्रन उक्साए । तर आफ्नो लक्ष्य हासिल गर्न असफल बने । हरि सिंहले उनलाई गिरफ्तार गर्न लगाए र जेल पठाए ।
शेख अब्दुल्लाह र कांग्रेस नेता जवाहरलाल नेहरू मिल्ने साथी थिए । अब्दुल्लाहविरुद्ध मुद्दा लाग्नेबित्तिकै उनको तर्फबाट मुद्दा लड्न काश्मिर दगुरिहाल्थे । अनुमति नलिइकनै महाराजा हरि सिंहले बोलाएको क्याबिनेट बैठकमा पस्थे । पछिल्लो पटक महाराजा र प्रधानमन्त्रीबिच टकराव चलिराखेकै बेला पनि क्याबिनेट रुममा प्रवेश गरे । महाराजा हरि सिंहले उ सोधे – ‘तिमी को हौ ? बैठक चलिरहेको ठाउँमा किन पस्यौ ?’
नेहरू – ‘म भारतको भावी प्रधानमन्त्री हुँ ।’
हरि सिंह – ‘तिमी जोसुकै होऊ बिनाअनुमति यसरी प्रवेश गर्न पाउँदैनौं । राम्रो यही हुन्छ कि तिमी बैठक कक्षबाट निस्किहाल ।’
नेहरूले टेरेनन् । महाराजा रिसाएर नजिक पुगे अनि मन्त्री, भारदार र दरवारियाहरूकैसामु गालामा जोडले थप्पड मार्दै भने– ‘यो तिम्रो कांग्रेस पार्टीको बैठक होइन, न कि तिम्रो ब्रिटिशराज हो, तिमी जे चाहन्छौ त्यही गर्नलाई । भविष्यमा प्रधानमन्त्री बन्न सक्लाऊ छुट्टै कुरो भो तर अहिले म यहाँको महाराजा हुँ ।’
उक्त भनाइ सुन्नेबित्तिकै सेना बैठक कक्षमा प्रवेश ग¥यो । नेहरूलाई धकेल्दै बैठक कक्षबाट बाहिर मात्र पु¥याएन काश्मिरको सिमानाबाटै धपाइयो । यो अपमानलाई नेहरूले बिर्सनै सकेनन् । एकदिन शेख अब्दुल्लाहलाई काश्मिरको सर्वोच्च पदमा आसिन गराइछाड्ने प्रण गरे । त्यसैले स्वतन्त्रतापछि राजा महाराजाद्वारा शासित सबै राज्यलाई भारतमा गाभ्ने जिम्मा सरदार पटेललाई दिए पनि काश्मिरको जिम्मा आफैँले लिए । पटेलले सबै अधिराज्यलाई सफलतापूर्वक भारतमा गाभ्ने काम गरे । नेहरूले भने शेख अब्दुल्लाहलाई जम्मु काश्मिरको मुख्यमन्त्री बनाइछाडे । त्यहाँका वर्तमान नेता तथा पूर्वमुख्यमन्त्री डा. फारुक अब्दुल्लाह उनै शेख अब्दुल्लाहका ज्येष्ठपुत्र र वर्तमान मुख्यमन्त्री ओमार अब्दुल्लाह उनै फारुकका छोरा हुन् ।
नेहरू बदला लिन पछि हट्दैनथे । कहिले विनयभाव पनि देखाउँथे । प्रधानमन्त्री बनिसकेपछि एकपटक कुम्भ मेला अवलोकन गर्न इलाहावाद गए । प्रधानमन्त्री आइपुग्ने समाचारले ठूलो भीड जम्मा भयो । उनको गाडी भीडकै बीचबाट विस्तारै अघि बढ्दै थियो । जनता उनलाई हेर्न तँछाडमछाड गर्न थाले । उनीहरू ‘पण्डित नेहरू जिन्दाबाद’ को नारा लगाइरहेका थिए । यसैबीच एउटी वृद्धा भीडलाई पन्छाउँदै नेहरू चढेको गाडीको अगाडि पुगिन् र चिच्याउँदै भन्न थालिन्– ‘ओइ जवाहर, कहाँ छस् तँ ? मेरो कुरो सुन्, तँ भन्दै छस् कि हामीले स्वतन्त्रता पायौं । कसले पायो स्वतन्त्रता ? तँजस्ता मोटरमा घुम्नेहरूले स्वतन्त्रता पायौ होला, हामीजस्ता गरिबले कहाँ पाउनु, हेर, मेरो छोरोले एउटा जागिरसम्म पाएको छैन । अब भन, खै स्वतन्त्रता ?’
बूढी आइमाईको कुरा सुन्नेबित्तिकै नेहरू गाडीबाट ओर्ले । दुबै हात जोडेर भने– ‘आमा, तपाईं सोध्दै हुनुहुन्छ कि खै हामीले स्वतन्त्रता पाएको, के तपाईंले स्वतन्त्र भएको महसुस गर्न सक्नुभएन ! आज तपाईं देशको प्रधानमन्त्रीलाई ‘तँ’ भनेर संबोधन गर्दै हुनुहुन्छ, गाली गर्दै हुनुहुन्छ, के पहिला यसो गर्न सक्नुहुन्थ्यो ? तपाईं आफ्नो समस्या लिएर बिना हिच्किचाहट मेरो अगाडि आइपुग्नुभयो, साँच्चैको स्वतन्त्रता यही होइन र !’ नेहरूको कुरा सुनेर वृद्धाको रिस छुमन्तर भयो । उनले पनि हात जोडिन् । नेहरू उनको समस्याप्रति सोचविचार गर्ने आश्वासन दिएर भीड छिचोल्दै अघि बढे ।
नेहरू त्यस्ता नेता थिए जो खुल्लमखुल्ला सार्वजनिक कार्यक्रममै चुरोट तान्थे, मदिरा पिउँथे । सन् १९५७ देखि सन् १९६५ सम्म मध्यप्रदेशको राज्यपाल बनेका हरिबिनायक पाटस्करका अनुसार सन् १९६० मा नेहरूले भोपाल जाने कार्यक्रम बनाएर त्यहाँको राजभवनमा बस्ने भए । उनी आउने भएपछि स्वागतको तयारी थालियो । यसैबीच, राजभवनका कर्मचारीले खाना खाइसकेपछि खास ब्राण्डको चुरोट पिउने बानी नेहरूको रहेको जानकारी पाए । त्यो थियो – ‘ट्रिपल फाइभ’ । चुरोट निकै महंगो थियो र भोपालमा जहाँतहीं पाइँदैनथ्यो । राजभवनमा पनि उपलब्ध थिएन ।
उक्त शोख पुरा गर्न त्यहाँका गभर्नरले विमान चार्टर गरी इन्दोरबाट चुरोट ल्याउने ब्यवस्था मिलाए । इन्दोर विमानस्थलका म्यानेजरले पहिल्यै चुरोटको ब्यवस्था गरिसकेका थिए । भोपाल र इन्दौरको हवाई दूरी १ सय ७१ किमी छ । राज्यपाल पाटस्करको भनाइमा अहिले भोपालबाट इन्दोरको लागि सानो विमान चार्टर गर्नुपरेको खण्डमा भारु ७ लाख र अलि ठूलो निजी विमानको भाडा भारु १४ लाख पर्छ । त्यो बेलाकै कुरो गर्ने हो भने पनि सानो निजी विमानको भाडा १५ हजार भारु र ठूलो विमानको भाडा ३० हजार भारु पथ्र्यो अर्थात भारु १५ देखि ३० हजार भाडा तिरेरै भए पनि नेहरूको शोख पुरा गरिएको थियो, त्योबेला ।
१६ वर्षसम्म नेहरूको निजी सल्लाहकार रहेका आर. के. गोयलका अनुसार नेहरूलाई चिकित्सकले चुरोट पिउन सख्त मनाही गरेका थिए । तर, उनले उक्त सल्लाहलाई कहिल्यै टेरेनन् । उनी चुरोटलाई दुई टुक्रा पारेर पिउँथे र अत्यधिक पिउँथे । एकपटक त विमानभित्रै चुरोट सल्काए । परिचारिकाहरूले त्यसो नगर्न भन्दा पनि उनी मानेनन् । पछि क्याप्टेन स्वयंले आग्रह गरेपछि मात्र चुरोट निभाएका थिए ।