सबै श्रेणीहरू

लेण्डुपहरूको देश हुँदैन

लेण्डुपहरूको देश हुँदैन

मलाई लाग्छ, पुस्तकको नामले नै धेरै पाठकको मन छुन्छ । जो–कोहीको हातमा यो पुस्तक परेपछि उसले पढेकै हुन्छ। मेरो हातमा यो पुस्तक परेपछि म नपढी बस्नै सकिनँ, किनकि पुस्तकको नाम नै प्यारो लाग्यो। त्यसैले कुनै विश्राम नगरी अक्षरशः एकै सिटिङमा पढिसकेँ। अध्ययनको चरित्र नै यस्तो हुन्छ—राम्रो पुस्तक भेटेपछि सबैले पढेकै हुन्छन्।

‘लेण्डुपहरूको देश हुँदैन’ भन्ने शीर्षक नै बुझ्न पर्याप्त छ। अहिले धेरै मानिसहरूले ‘लेण्डुपहरू’ भन्ने गर्छन्। कतिपय पाठकलाई शब्द थाहा हुन सक्छ, तर त्यसको अर्थ थाहा नहुन सक्छ। यो पुस्तकले त्यस्ता पाठकलाई राम्रो खुराक दिन सकेको छ। पुस्तकको शीर्षक मात्र लोभलाग्दो होइन, यसभित्रका उपशीर्षकहरू पनि उत्तिकै मार्मिक छन्। पढ्दै जाँदा छोड्न मन लाग्दैन—जति पढ्यो, उति पढ्न मन लाग्ने।

सरल भाषामा राष्ट्रियता, राष्ट्र, जन्मभूमि र आमाजस्ता गहिरा विषयमा कलम चलाउनु सजिलो काम होइन। यद्यपि लेखकले पाठकलाई बुझाउने प्रयास गरेको पाइन्छ। कतिपय यस्ता शब्द प्रयोग गरिएका छन्, जसले पाठकको हृदयमा नै धड्कनको महशुस गराउँछन्।

पुस्तक पढ्दै जाँदा लाग्छ—लेखक जन्मभूमि र राष्ट्रियताका विषयमा गहिरो पीडामा छन्। प्रारम्भदेखि अन्त्यसम्म राष्ट्रियता र जन्मभूमिबाट बाहिर जान सकेका छैनन् र यही विषयलाई केन्द्रविन्दु बनाएका छन्। वास्तवमा यो पुस्तकको बलियो पक्ष यही हो, किनकी अहिले राष्ट्र र राष्ट्रियतामाथि नै खतरा बढ्दै गएको विषय सर्वत्र बहसमा छ।

लेखकले जसरी आफ्नो सिर्जनाको माध्यमबाट देशप्रेम व्यक्त गरेका छन्, त्यसरी नै पाठक वर्गले पनि देश माया गरून् भन्ने सन्देश प्रवाह भएको पाइन्छ। आ–आफ्नो क्षेत्रबाट सबैले सक्दो योगदान दिन सक्ने हो भने देशले कहिल्यै पीडा भोग्नुपर्ने छैन। तर लेखकले सुझाएअनुसार के गरिएको छ त ? यथार्थमा भन्नुपर्दा, धेरै कुरा भएको देखिँदैन।

पुर्खाले जोगाएर राखेको देश अहिले दयनीय अवस्थामा पुग्न लागेको देख्दा लेखक चिन्तित छन्। यही चिन्ताका कारण नेपालमा पनि सिक्किमका ‘लेण्डुपहरू’ जस्तै पात्र जन्मिने त होइनन् भन्ने आशङ्का व्यक्त गरिएको छ। यस्ता पात्रप्रति सजग हुन सबैलाई आग्रह गरिएको छ।

देशले काँचुली फेर्नु भनेको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सुधार हुनु हो। तर यी अवयवहरू अहिले कमजोर हुँदै गएका छन्। राजनीति राजनीति हुन सकेन, बरु अपराधीकरण हुँदै गयो। यसरी राजनीति र अपराधीकरण पर्यायवाची शब्दझैँ बनेको अवस्थालाई लेखकले स्पष्ट रूपमा उजागर गरेका छन्।

देशमा भ्रष्टाचार र बेथिति बढ्दै गएको छ। त्यसैले अर्थतन्त्र संकटतर्फ उन्मुख हुने सम्भावना देखिएको छ। बढ्दो सार्वजनिक ऋण र घट्दो पुँजीगत खर्चले भुइँमान्छेको जीवन कष्टकर बन्दै गएको अवस्थाप्रति लेखकले व्यक्त गरेको चिन्ता आजको सन्दर्भमा अत्यन्त सान्दर्भिक देखिन्छ। लेखकले सामाजिक पक्षलाई पनि उजागर गरेका छन्। सामाजिक सद्भाव खलबलिनु सबैका लागि घातक हुन्छ भन्ने विषयलाई उनले स्पष्ट रूपमा प्रस्तुत गरेका छन्।

राष्ट्रियताका विषयमा लेखक यति पीडित देखिन्छन् कि त्यसको कुनै सीमा देखिँदैन। त्यसैले उनी लेख्छन् : ‘आफूलाई जन्म दिने आमा र मातृभूमि वन्दनीय र स्तुत्य हुन्छन्। भनिन्छ, मानिस सबै कुरा सहन तयार हुन्छ, तर आफ्नी आमा र जन्मभूमिप्रति कहिल्यै आत्मघात सहन सक्दैन। जननी र जन्मभूमिमाथि कसैले नजर लगाएको हेर्नसमेत सक्दैन।’

अन्तरमनबाट निस्किएका यस्ता शब्दहरूले लेखकको मात्र होइन, पाठकको मन पनि छोएकै छन्। लेखकले देशको वर्तमान अवस्था मात्र होइन, विगत इतिहासलाई पनि गहिराइमा केलाएका छन्। अमरसिंह थापा, बलभद्र कुँवर, भक्तिथापा, वंशराज पाण्डे, वंश गुरुङ, वीरभद्र उपाध्याय तथा वीरङ्गनाहरूको देशभक्तिलाई पनि उनले स्मरण गरेका छन्। उनीहरूको योगदानको कदर गरिएको छ। यसरी विभिन्न पक्षलाई मिहिन ढङ्गले विश्लेषण गर्न सक्ने लेखकको क्षमता प्रशंसनीय छ।

पुर्खाले जोगाएर राखेको देश अहिले दयनीय अवस्थामा पुग्न लागेको देख्दा लेखक चिन्तित छन्। यही चिन्ताका कारण नेपालमा पनि सिक्किमका ‘लेण्डुपहरू’ जस्तै पात्र जन्मिने त होइनन् भन्ने आशङ्का व्यक्त गरिएको छ। यस्ता पात्रप्रति सजग हुन सबैलाई आग्रह गरिएको छ।

दक्षिण एसियाका नेपालजस्ता साना मुलुकहरूको अवस्था विस्तृत रूपमा प्रस्तुत गरिएको छ। जसरी सिक्किमको सार्वभौमिकता विलय गरियो, त्यसरी नै अन्य देशहरू पनि विलय त हुने होइनन् भन्ने प्रश्न लेखकले उठाएका छन्। ठूला माछाले साना माछालाई खाने सम्भावनालाई उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।

यथार्थ के हो भने, दक्षिण एसियाका नेपालजस्ता साना देशहरू अहिले ठूलो त्रासमा बाँचिरहेका छन्। भुटान, बंगलादेश, पाकिस्तान वा श्रीलंका—कुन देश शान्तसँग बसेको छ र ? सबै डर र दबाबबीच बाँचिरहेका छन्। जसरी सिक्किममा ‘लेण्डुपहरू’ जन्मिए, त्यसरी नै नेपालमा पनि त्यस्ता पात्र जन्मिने त होइनन् भन्ने कुरा हामी सबैले गम्भीरतापूर्वक बुझ्नुपर्ने लेखकको सन्देश छ।

नेपालको राष्ट्रियता हामी आफैंले जोगाउने हो, अरूले आएर जोगाइदिने होइन। अरूले त खोस्न पनि सक्छन्—यो लेखकको गहिरो चिन्ता हो। महाकाली सन्धि, भ्रष्टाचारको महामारी, खोकु–छिन्ताङको घाउ, सहिदका सपना र स्वाभिमानी विदेश नीति जस्ता विषयहरू राष्ट्रियतासँग प्रत्यक्ष जोडिएका छन्। यी सबै विषयलाई एउटै पुस्तकमा समेट्नु लेखकको गहिरो अध्ययनको प्रमाण हो।

निष्कर्ष

‘लेण्डुपहरूको देश हुँदैन’ भन्ने कुरा लेखकले विचार, इतिहास र उदाहरणका माध्यमबाट प्रमाणित गरेका छन्। राष्ट्र, राष्ट्रियता र सार्वभौमिकताजस्ता संवेदनशील विषयलाई केन्द्रमा राखेर लेखिएको यो पुस्तक अत्यन्तै मार्मिक र पठनीय छ।

यो समीक्षा केवल सानो झ्याल मात्र हो। पुस्तकको गहिराइ बुझ्न सबैले एक पटक अवश्य पढ्नुपर्छ। यस्तो गम्भीर र महत्वपूर्ण कृति प्रकाशित गरेकोमा लेखक सुभाषचन्द्र देवकोटालाई धेरै–धेरै धन्यवाद।

लमजुङ, राइनास–०७ ।