माघ ५ गते मंगलबार पत्रकार राजेन्द्र बानियाँले एक सांकेतिक फेसबुक पोस्ट गर्दै प्रश्न तेस्र्याए– मौका पर्दासम्म पहिचान लुकाउने र चाहिएपछि पहिचानको दावी गर्नेलाई नेपालीमा के भनिन्छ ? बानियाँको प्रश्नमा धेरैले धेरै उत्तर दिएका छन् । तर, राजनीति बुझ्नेले सहजै बुझ्छ, यो संकेत माघ ४ गते काठमाडौँको मेयरबाट राजीनामा दिएर औपचारिक रूपमा रास्वपा प्रवेश गरी माघ ५ गते जनकपुरमा जीवनको प्रथम राजनीतिक भाषण गर्न पुगेका बालेन्द्र साहका लागि थियो । जिन्दगीभरि मधेशी पहिचान नबोलेका बालेन्द्र साहले यो पटक आफूलाई अब्बल मधेशी सावित गर्न खोजे । अमरेश सिंहबाट सर्टिफिकेट लिन कस्सिए । मैथिलीमा पनि बोले ।
जनकपुर बोल्ट्सको नेपाल प्रिमियर लिगको जितलाई मधेशले देशको क्रिकेट जितेको कोणबाट व्याख्या गरे । सबैभन्दा महत्वपूर्ण त मधेशका शहीदलाई सम्मान गरेको देखाए । यसअघि तीन वर्ष संघीय राजधानीको प्रथम स्वतन्त्र मेयर भएर काम गरेका बालेन्द्रले कहिल्यै मधेशलाई मिस गरेनन् । मधेशको नाम लिएनन् । न त जनकपुर बोल्टस्ले खेलेको क्रिकेट नै हेर्न गए । न जितेकोमा बधाई दिए । अहिले मैथिलीमा बोल्ने उनले छठमा पनि मैथिली भाषाबाट शुभकामना दिएनन् । सबैभन्दा रोचक कुरा त मेयर हुनु अगाडि निर्वाचन आयोगमा पनि लेखिएको ‘साह’लाई रूपान्तरण गरेर ‘शाह’ बनाए । तराईका समुदायले प्रयोग गर्ने साह नलेखेर ठकुरी फ्लेभर झल्काए । तर अहिले बालेन्द्रलाई मधेश मिस भएको छ । मधेशी पुत्र हुनुपरेको छ । मधेशी शहीदलाई सम्झना गर्नुपरेको छ । यसअगाडि मधेशी शहीदको नाम उच्चारण नै नगर्ने र मधेशले मनाउने बलिदान दिवशलाई वास्तै नगर्ने बालेन्द्र अहिले एकाएक मधेशको प्रेमी भएका छन् ।
मधेश प्रेमी हुनुमा मूलतः चुनावी लक्ष्य छ । सबैभन्दा धेरै चुनाव क्षेत्र भएको प्रदेशमध्ये एक प्रदेश मधेश हो । मधेशबाट राष्ट्रपति, उपराष्ट्रपति, उप्रधानमन्त्री र प्रधानन्यायाधीश भए पनि प्रधानमन्त्री भएका छैनन् । त्यो लाइनलाई भावुकतासँग जोडेर बालेन्द्रले भोट तान्न खोजेका छन् । मधेशको रैथाने भएकोले मधेश प्रेम हुन्थ्यो भने त्यो प्रेम तीन कोणमा व्यक्त हुन्थ्यो । एक, मैथिली भाषाको संरक्षणका निम्ति काठमाडौँमा काम गर्ने थिए । किनभने काठमाडौँमा बोलिएको एक प्राचीन भाषा मैथिली हो । मधेश र काठमाडौँ जोड्ने पहिलो पुल मैथिली भाषा हो । त्यो काम गरेनन् । दुई, मधेशी पहिरन र पहिचान सार्वजनिक रूपमा व्यक्त गर्ने थिए । साहलाई शाह बनाउँदैन थिए । तीन, मधेशी शहीदको दिन वा मधेशले एनपीएल जितेको दिन रंगशालामा गएर हौसला दिने थिए । हौसला दिन नभ्याए सामाजिक सञ्जालबाट बधाई दिने थिए । यी सबै गरेनन् किनभने उनलाई त्यसको आवश्यकतै थिएन ।
आफूलाई मधेशी भन्दा काठमाडौँमा अहिले पनि रहलपहल रहेको पहाडे राष्ट्रवादले असर गर्ने थियो । मेयर बन्न आवश्यक जनमत निर्माणमा केही न केही चेक हुन्थ्यो । तर जब रास्वपा प्रवेश गरी घण्टी चुनाव चिह्न लिएर प्रधानमन्त्री ताक्न थाले तब मधेश मिस गरे । उसो त यो बालेन्द्रको मात्रै समस्या होइन । मूलधारको राजनीतिमा लागेका धेरैजसो नेताको समस्या हो । भोट बैंकको रूपमा मधेशलाई प्रयोग गर्ने तर मधेशको मुद्दामा गम्भीर नहुने । नेपाली कांग्रेसले २०१५ को पहिलो संसदीय चुनावको दुई तिहाइदेखि २०४८ को चुनावमा ल्याएको बहुमतसम्ममा मधेशको योगदान छ । २०१५ मा नेपाल कम्युनिष्ट पार्टीलाई निल हुनबाट बचाएका ४ सिटमा धेरै हिस्सा मधेशको छ । अरू त अरू मधेश केन्द्रित दलको कुरा पनि त्यही हो । काठमाडौँलाई गाली गरेर राजनीतिक आधार बनाएका उनीहरूले मधेशकेन्द्रित राजनीति शुरु गरेको दुई दशक पुग्न लाग्दा पनि देखिने विकास र
समृृद्धि दिन सकेका छैनन् । न मधेशका भाषा मैथिली, भोजपुरी, अवधि, थारु लगायतको राज्यगत संरक्षण गरेर सांस्कृतिक सम्पदा बलियो बनाए, न विकासमा कायापलट गरे न भौतिक क्रान्ति गरे । खासमा केही राजनीतिक अधिकार लिएर टालटुल पार्ने कामबाहेक केही गरेनन् । मूलधारका राजनीतिक नेताले जे गल्ती गरे त्यो अहिले बालेन्द्रले गरिरहेका छन् । अरू मधेशकेन्द्रित दलले आफूलाई गर्वसाथ मधेशी भन्छन् । शुरुबाटै मधेशी भएकोमा गर्व गर्छन् । बालेन्द्रले त त्यो पनि गरेनन् । नेपालमा तीन तहका संघ, प्रदेश र स्थानीय सरकारमा संघ सरकारपछिको सबैभन्दा धेरै आन्तरिक आय र बजेट भएको काठमाडौँ महानगरमा मेयर हुँदा बालेन्द्रले नसम्झेको मधेश अब प्रधानमन्त्री बन्ने सपना लिएर घण्टी बजाउँदै मधेश पुग्दा सम्झेका छन् । तर, एउटा कुरामा भने धन्यवाद भन्नुपर्छ । ढिलै सही, उनले आफ्नो मधेशी पहिचान खुलाएका छन् । ढिलै सही, उनले मैथिलीमा बोलेर नेपालको एक प्राचीन भाषा सभ्यताको सम्मान गरेका छन् ।
मैथिली मात्रै नेपालको एक यस्तो भाषा हो जसको संरक्षणमा लाग्नेले ज्यान गुमाएका छन् । २०६९ वैशाख १८ गते मैथिली भाषाको आन्दोलन गर्दा जनकपुरमा बम हानियो । चर्चित कलाकार रञ्जु झालगायतले ज्यान गुमाए । राजनीति गर्न नै सही होस् कम्तीमा बालेन्द्रले मैथिली बोलेर तिनको आत्मालाई सम्मान गरेका छन् । मधेशमा राजनीति गर्नेले दबाएर बन्न नसकेको प्रदेशको कामकाजी भाषा मैथिली बन्ने अभियानमा पनि बालेन्द्रको मैथिली छनोट तारिफयोग्य छ । तर, यी सबै हुँदाहुँदै पनि बालेन्द्रले यसअगाडि मधेशी पहिचान लुकाएकै हो । मैथिली पहिचान लुकाएकै हो । त्यही भएर ‘मौका पर्दासम्म आफ्नो पहिचान लुकाउने र चाहिएपछि पहिचानको दावी गर्नेलाई नेपालीमा के भनिन्छ?’ भन्ने पत्रकार राजेन्द्र बानियाँको प्रश्नको उत्तर हो– बालेन्द्र प्रवृत्ति ।
(जनआस्था साप्ताहिकको माघ ७ गते बुधबारको अंकमा प्रकाशित)