एक दिन भगवान् शिव र माता पार्वती कैलाश पर्वतमा बसिरहेका थिए । उनीहरूका दुई छोरा गणेश र कुमार (कार्तिकेय) खेलिरहेका थिए । शिव र पार्वतीले दुवै छोरालाई समान प्रेम गर्थे तर उनीहरूले एउटा खेल खेल्ने निर्णय गरे । शिवजीले भने– ‘हे मेरो प्रिय पुत्रहरू ! सुमेरु पर्वत (विश्वको केन्द्र मानिने पर्वत) को परिक्रमा गरेर जो सबैभन्दा पहिले फर्किन्छ, उसलाई विशेष वरदान दिनेछु ।’
यो सुन्नासाथ कुमार (कार्तिकेय) आफ्नो वाहन मयुरमा चढेर तुरुन्तै निस्किए । उनी छिटो र शक्तिशाली थिए, त्यसैले सुमेरु पर्वतको परिक्रमा गर्न हतारहतार लागे । तर गणेशको वाहन मुसा थियो, जो छिटो दौडन सक्दैनथ्यो । गणेशले सोचे– ‘सुमेरु पर्वत परिक्रमा गर्नु भनेको सम्पूर्ण विश्व परिक्रमा गर्नु हो, किनकि सुमेरु विश्वको केन्द्र हो ।’ त्यसैले उनले आफ्ना बाबु–आमालाई (शिव र पार्वतीलाई) नै परिक्रमा गरे । उनीहरूको वरिपरि तीनपटक घुमे र भने– ‘हे बाबा–आमा ! तपाईंहरू नै मेरो विश्व हुनुहुन्छ । तपाईंहरूको परिक्रमा गरेपछि अरू केही परिक्रमा गर्नुपर्दैन ।’ शिव र पार्वती यसबाट अत्यन्त प्रसन्न भए । जब कुमार परिक्रमा सकेर फर्किए, तब गणेश पहिले नै त्यहाँ थिए । शिवजीले गणेशलाई पहिले पूजा गर्ने वरदान दिए । त्यसैले आज पनि हिन्दू परम्परामा कुनै पनि पूजा, व्रत वा कार्यमा सबैभन्दा पहिले गणेशको पूजा गरिन्छ । कुमारलाई दोस्रो स्थानमा राखिन्छ, तर उनी पनि क्षेत्रपाल (रक्षक) को रूपमा पुजिन्छन् ।
अहिले यो कथाको व्यवहारिक प्रयोग गुण्डुमा भइरहेको छ । शिव–पार्वतीको भूमिका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गणेशको भूमिका चक्रे मिलन र मधेश बस्नेतहरुले निभाएका छन । यसै पनि ओलीले आफूलाई ‘बा’ का रूपमा प्रस्तुत गरिहेकै थिए । छोराका रूपमा चक्रे मिलन जस्ता पात्र र प्रवृत्ति चुनाव लागेपछि टुप्लुक्क पुग्छन् । तीन फेरो घुम्छन र टिकट टप्काएर टाप कस्छन् । अध्यक्षकै जोडबलमा गोरखा–२ बाट आपराधिक पृष्ठभूमिका चक्रे मिलन (मिलन गुरुङ) लाई टिकट दिइएको छ । गुरुङ विवादै विवादले घेरिएका पात्र हुन् । पटक पटक पक्राउ पर्दै हिरासत र जेल पुग्ने गरेका छन् । सर्वसाधारणलाई आतंकित पार्ने गतिविधि गरेको आरोप लागेर धरौटीमा भक्तपुर र काठमाडौंबाट छुटेका थिए । उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको अर्को मुद्दा थियो । काठमाडौंबाट छुटेपछि उनलाई भक्तपुर पठाइएको थियो । भक्तपुर अदालतबाट पनि उनी धरौटीमा रिहा भएका थिए । प्रहरीको क्रिमिनल रेकर्ड सिष्टम (सिआरएस)को विवरण केलाउने हो भने उनीविरुद्ध अहिलेसम्म १२ पटकभन्दा बढी मुद्दा चलेको छ । कुनै समय एमाले पिपुल्स भोलेन्टियरको सदस्य भनेर चिनिने उनै मिलन गुरुङ अहिले चक्रे बनेर परिचित छन् ।
योगदानकर्ताको अपमान टिकट वितरणमा मात्र होइन, समानुपातिक सूचीमा पनि हावी छ ।
हुन त यहाँ यो कथा उल्लेख गर्दा हिन्दूधर्म र भगवानप्रति अनास्था प्रकट गरेको आरोप लाग्न सक्छ । तर व्यक्ति पुजन वा भक्तिगानको विरोध गर्नका लागि मात्रै उल्लेख गरिएको अर्थमा बुझ्न आग्रह छ । एमालेमा जयजयकारको जग र आलोचकहरूको जड एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको प्रक्रिया पार्टी इतिहासकै सबैभन्दा विवादास्पद र तानाशाहीपूर्ण बनेको छ । यो प्रक्रिया चुनाव जित्ने रणनीतिसँग कम र व्यक्तिगत प्रतिशोध तथा गुटबन्दीसँग बढी जोडिएको देखिन्छ ।
ओलीले आफ्ना आलोचकहरूलाई निर्ममतापूर्वक पाखा लगाउँदै पार्टीभित्रको लोकतान्त्रिक मूल्यलाई कुल्चेर आफूलाई ‘सर्वेसर्वा’ साबित गर्न खोजेका छन् । यो कदमले एमालेलाई एक व्यक्ति–केन्द्रित ‘ओली क्लब’ मा रूपान्तरण गर्ने खतरा बढाएको छ, जसले पार्टीको भविष्य र नेपालको लोकतन्त्र दुवैलाई धरापमा पार्दैछ । चाकडी प्रवृत्ति भनेको नेपाली समाज र राजनीतिमा निकै प्रचलित एक नकारात्मक व्यवहार वा संस्कार हो, जसमा व्यक्ति वा कार्यकर्ताले योग्यता, क्षमता, मेहनत वा नियम र प्रक्रियाभन्दा बढी शक्तिशाली व्यक्ति (नेता, मन्त्री, अध्यक्ष, ठूलाबडा) लाई खुशी पार्न, चाप्लुसी गर्न, प्रशंसा गर्न, जयजयकार गर्न, ढोका ढुकाउन, उपहार दिन, फूलमाला लगाउने वा व्यक्तिगत स्वार्थ सिद्ध गर्न विभिन्न तरिकाले रिझाउने काम गर्दछ । यो प्रवृत्ति मूलतः सामन्तवादी युग र राणाकालबाट आएको हो तर लोकतन्त्र र गणतन्त्र आए पनि यो झन् मौलाएको छ । त्यसलाई निरन्तरता दिने प्रमुख पात्र ओली भएका छन् ।
ओलीको टिकट वितरणलाई हेर्दा यो स्पष्ट हुन्छ कि उनी चुनावी सफलताभन्दा पनि आफूलाई चुनौती दिनेहरूलाई सजाय दिनमा बढी केन्द्रित छन् । पार्टीको ११औं महाधिवेशनमा इतर प्यानलबाट प्रतिस्पर्धा गरेका नेताहरूलाई मुख्य निशाना बनाएका छन् । महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानलबाट महासचिवका उम्मेदवार बनेका सुरेन्द्र पाण्डेले टिकट पाएनन् । यतिमात्र होइन, महाधिवेशनमा इतर प्यानलबाट उपमहासचिव निर्वाचित योगेश भट्टराईलाई टिकट दिएनन । सचिवालय बैठकमै ओलीले भट्टराईले चुनाव नजित्ने विश्लेषण सुनाए, जसले उनीहरूको राजनीतिक क्षमतामाथि नै प्रश्न उठाएको छ । भट्टराईले यसमा ‘नोट अफ डिसेन्ट’ दर्ता गरे पनि यो ओलीको एकलौटी निर्णयको अगाडि पानीको फोकाजस्तै साबित भयो ।
यसैगरी, ईश्वर पोखरेल समूहबाट पदाधिकारी वा केन्द्रीय सदस्यमा लडेका झपट रावल, पुरुषोत्तम पौडेल, कृष्ण राई, रचना खड्काजस्ता चर्चित अनुहारले टिकट पाउन सकेनन् । यो कदमले ओलीको ‘मेरो गुट वा कुनै गुट छैन’ को नारा खोक्रो साबित गरेको छ । ओलीको यो निर्ममता पार्टीमा राम्रो छाप बनाएका र जनाधार भएका नेताहरूसम्म फैलिएको छ । उनीहरूले पार्टीमा योगदान दिए पनि, यदि ओलीको जयजयकार गरेनन् भने उनीहरूको राजनीतिक भविष्य जोखिममा पर्छ । यो प्रवृत्तिले एमालेलाई कम्युनिष्ट पार्टीबाट ‘ओलीवादी डिक्टेटरसिप’ तर्फ धकेल्दैछ ।
स्थानीय सिफारिसको उपहास
ओलीको तानाशाही टिकट वितरणले तल्लो तहको लोकतान्त्रिक प्रक्रियालाई नै खिल्ली उडाएको छ । दैलेख क्षेत्र नम्बर २ बाट आन्तरिक प्रतिस्पर्धामा सबैभन्दा धेरै मत ल्याएका विष्णु रिजालले टिकट पाएनन् । बरु, कम मत पाएका र अघिल्लो महाधिवेशनमा पराजित लक्ष्मी पोखरेललाई टिकट थमाइयो । रिजालले सामाजिक सञ्जालमा यसको चर्को विरोध गरे पनि ओलीको कानमा जुँगा बाटियो ।
यस्तै, कञ्चनपुर क्षेत्र नम्बर २ मा आन्तरिक प्रतिस्पर्धामा ६१ मत पाएका अशोककुमार चन्दलाई पन्छाएर ५० मत पाएका वचनबहादुर सिंहलाई टिकट दिइयो । सुर्खेत, इलामलगायत थुप्रै जिल्लामा यही प्रवृत्ति दोहोरियो । स्थानीय कमिटीबाट सर्वसम्मत वा बहुमत सिफारिस भएकाहरूलाई ओलीले अस्वीकार गरे र आफ्नो गुटका ‘हजुरे’हरूलाई पुरस्कृत गरे । यो प्रक्रियाले पार्टीको आन्तरिक लोकतन्त्रलाई मृत्युशैय्यामा पुर्याएको छ । ओलीले महासचिव शंकर पोखरेल र पूर्वउपमहासचिव विष्णु रिमालको मात्र कुरा सुनेको आरोप लागेको छ, जसले टिकट पाउनेहरूमा उनीहरू निकटकै वर्चस्व देखिन्छ । उपमहासचिव भट्टराईले यसमा सार्वजनिक असन्तुष्टि पोखे पनि ओलीको ‘सुनुवाइ’ प्रक्रिया शून्य छ ।
समानुपातिक खेलः
योगदानकर्ताको अपमान टिकट वितरणमा मात्र होइन, समानुपातिक सूचीमा पनि ओलीको एकलौटी हावी छ । रामबहादुर थापालाई १ नम्बरमा सिफारिस गरेर बन्द सूची पठाइयो, जबकि पार्टीमा लामो समय योगदान गरेका र अवसर नपाएका नेताहरूलाई पछाडि पारियो वा सूचीबाटै हटाइयो । यसले पार्टीभित्र चर्को असन्तुष्टि निम्त्याएको छ, जसका कारण कतिपय उम्मेदवारले नाम फिर्ता लिए । समानुपातिक सूची हेर्दा पनि ओलीले योगदान र क्षमताभन्दा पनि व्यक्तिगत बफादारीलाई प्राथमिकता दिन्छन्, जसले एमालेलाई ‘क्रोनिज्म’ को दलदलमा फसाउँदैछ ।
केपी ओलीको यो टिकट वितरण प्रक्रिया पार्टीको एकता र लोकतान्त्रिक मूल्यको हत्या हो । उनले आलोचकहरूलाई पाखा लगाएर चुनाव जित्ने सपना देखे पनि, यो कदमले पार्टीभित्र विद्रोहको बीउ रोपेको छ । यदि, ओलीले यो तानाशाही शैली नसुधारे भने, एमालेको भविष्य अन्धकारमय हुनेछ । नेपालको राजनीतिमा कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने पार्टीले यस्तो व्यक्तिवादी प्रवृत्ति अपनाउनु दुःखद छ । ओलीले पार्टी चलाउने कि पार्टीले ओलीलाई ? ओलीको यो कदमलाई के भन्ने ?