फागुन २१ गतेको निर्वाचनका लागि काठमाडौं-४ छाडेर सर्लाही-४ पुगेका काँग्रेस सभापति गगनकुमार थापाले हिजो वारिसमार्फत् उम्मेदवारी दर्ता गराएका छन् । सो क्षेत्रबाट गत निर्वाचनमा बागी उम्मेदवार बनेर जितेका अमरेशकुमार सिंह यसपटक घण्टी चिन्हसहित उठ्दैछन् ।
२०७९ मा अमरेशले २० हजार १७ मत ल्याएका थिए भने तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ सहयोगप्राप्त काँग्रेस उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत पाए ।
स्वतन्त्र उम्मेदवार मधुमालाकुमारी यादव १४ हजार ६२२ मत पाएर तेस्रो भएकी थिइन् भने चौथो भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका राजेशकुमार मिश्रले ५ हजार ८१३ पाएका थिए । अहिले ती सबै चुनौतीको सामना गर्न काँग्रेस सभापति त्यहाँ जानुलाई अर्थपूर्ण ठानिएको छ ।
काँग्रेस सर्लाही उपसभापति डा. सरोज यादवले सो क्षेत्रको पार्टी सदस्यमा गुटगत समस्या नरहेको दावी गरेका छन् । घण्टीले भावी प्रधानमन्त्रीका रुपमा बालेन साहलाई अघि सारेकोबारे उनको भनाइ छ, ‘हिजो काठमाडौंमा मेयर हुँदा ठेलागाडीवालालाई लखेटे । काठमाडौंमा कवाडी व्यापार गर्ने मधेशी मूलका नागरिकमाथि दुर्व्यहार गरे,यी सबैको एक एक हिसाब हुन्छ ।’
पहिलेका पार्टी सभापति सुरेन्द्र सिंहको उक्त क्षेत्रमा राम्रो पकड रहेको बताइन्छ । उनी नाताले अमरेशका भाइ हुन् । शिवपुजन रायको साथमा झण्डै १० हजार मत रहेको विश्लेषण छ । उनलाई गगन र अमरेश कसले तान्न सक्छ, त्यसमा निर्भर रहने बताइन्छ । स्थानीय विश्लेषक भन्छन्, ‘यस पटक यो फ्याक्टर सबैभन्दा महत्वपूर्ण हो ।’