फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गरेको अवस्थामा गृहमन्त्री ओमप्रकाश अर्याल काठमाडौंस्थित भद्रगोल जेल र डिल्लीबजार सदर खोर पुगेका छन् । हिजो दिउँसो त्यहाँका कैदीबन्दीसँग गरिएको भेटमा घुमाउरो तरिकाबाट उनले आगामी चुनावमा कैदीबन्दीको मत कता खस्ला भनी नाडी छामेको बुझिएको छ ।
जेल भ्रमणका क्रममा जेलभित्रका संरचनागत समस्या,कैदीबन्दीको दयनीय अवस्था एवम् सुधारगृहको भौतिक सुविधाबारे केही कुरा सुन्दै राजनीतिक सन्देश प्रवाहमै जोड दिइएको कैदीबन्दीहरुको भनाइ छ । उनीहरुलाई जेलमा राखिने मतदान केन्द्रमा समानुपातिकतर्फ र घरपरिवारका सदस्यलाई प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ घण्टी चिन्हमा मतदान गर्न सल्लाह दिइएको थियो ।
निर्वाचन आयोगले सेनालगायत सुरक्षा निकाय र जेलमा समानुपातिकतर्फ मतदानको व्यवस्था गर्दैछ ।