साढे तीन वर्ष किन रोकियो,छोड्ने बेलामा किन लगाइयो ? काठमाडौं महानगर प्रहरी बलका हवल्दारलाई असईको फुली वितरणपछि उठेको प्रश्न हो यो । साढे तीन वर्षदेखि दर्ज्यानी चिन्हको पर्खाइमा रहेका हवल्दारहरुले तत्कालीन प्रमुख एसएसपी राजुनाथ पाण्डेले राजीनामा बुझाएको भोलिपल्ट मात्र असईको फुली पाएका छन् ।
उच्च अदालत,पाटनका न्यायाधीशद्वय महेशप्रसाद पुडासैनी र किरणकुमार पोखरेलको संयुक्त इजलासले २०७९ चैत १५ गते हवल्दारहरुलाई फुली लगाइदिन आदेश दिएको थियो । आदेशमा भनिएको छ,‘रिट निवेदकहरुले स्तरवृद्धि सम्बन्धमा दिएको निवेदनमा स्थानीय तहको सेवा गठनसम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७९ को दफा ४ (४) कानुनी व्यवस्थासमेतको आधारमा कानुनबमोजिम यथासक्य चाँडो निर्णय गरिदिनू ।’
‘एउटै फुली,एउटै बढुवा,एउटै अदालतको आदेश तर फुली वितरणमा भने भेदभाव । आफूलाई मन नपरेकालाई पाण्डेले फुली नलगाइदिएपछि जोशीले लगाइदिए,यस्ता असहिष्णुले काठमाण्डौ-३ बाट चुनाव जिते भने मतदातालाई कति विभेद गर्लान् ! ’,
तर,पाण्डेले अदालतको आदेशकै अपहेलना गरेर उनीहरुलाई फुली दिएका थिएनन् । हवल्दारको ड्रेसमै रहेका उनीहरुले तलब भने असईसरहको खाइरहेका थिए । जुन एक हिसाबले भ्रष्टाचार हो । ‘असईको तलब खानका लागि त पहिले फुली लगाएको पनि हुनुपर्यो नि । तर,फुली नै नलगाईकन तलब खुवाइएको हो । यो एक किसिमले भ्रष्टाचार नै हो’,स्रोतले भन्यो ।
चुनाव आएकाले उनीहरुलाई हतारहतार फुली लगाइदिएको स्रोतको भनाइ छ । पाण्डेले माघ २ गते माघ ४ गतेदेखि लागु हुनेगरी राजीनामा दिएका थिए । माघ ३ गते उनले हवल्दारहरुलाई असईको फुली लगाइदिए । सबैले फुली पाउँदा चार जनालाई भने छुटाइएको थियो । आफूलाई मन नपर्नेलाई उनले फुलीबाट वञ्चित गरेका हुन् ।
उनीहरुलाई निमित्त प्रमुख एसपी विष्णु जोशीले कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहबरमा फुली लगाइदिएका छन् । ‘एउटै फुली,एउटै बढुवा,एउटै अदालतको आदेश तर फुली वितरणमा भने भेदभाव । आफूलाई मन नपरेकालाई पाण्डेले फुली नलगाइदिएपछि जोशीले लगाइदिए,यस्ता असहिष्णुले काठमाण्डौ-३ बाट चुनाव जिते भने मतदातालाई कति विभेद गर्लान् ! ’,स्रोतले भन्यो ।
महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले पाण्डेले राजीनामा पेश गरेलगत्तै दर्ज्यानी चिन्ह प्रदान गरेको बताए । जनआस्थासँग भने,‘उहाँले राजीनामा दिएलगत्तै दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।’