सात प्रदेशमध्ये सबैभन्दा बढी समानुपातिक मत र दोश्रो धेरै संसदीय सिट भएको मधेशलाई राजनीतिक दलहरूले प्राथमिकतामा राखेको देखिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले माघ ५ गते जनकपुरमा चुनावी सभा आयोजना गरिसकेको छ । कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीसहित अन्य दलहरूले पनि सभाको तयारी गरेका छन् ।
चुनावमा होमिएका दलहरुले भोटका लागि मधेशलाई महत्व दिएको बुझ्न कठिन छैन । तर, निर्वाचन बहिष्कार गरेको राजावादी समूह पनि मधेशलाई केन्द्रमा राखेर आन्दोलनको तयारीमा जुटेको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानमा संयोजक दुर्गा प्रसाईले माघ १६ गते (शुक्रबार) सिराहकाे लहानमा भेला हुन आह्वान गरेका छन् । उनले आज एक भिडियो सन्देश जारी गर्दै राजसंस्था पुनःस्थापना, हिन्दु अधिराज्य र संघीयता खारेजीको लागि समर्थकहरुलाई कार्यक्रममा सहभागी हुन अपील गरेका हुन् ।
मेडिकल व्यवसायी समेत रहेका प्रसाईले फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचन कुनै पनि हालतमा नहुने दावीसमेत गरेका छन् । ‘दुर्गा प्रसाई एउटा शक्ति हो, राजासँग जोडिएको शक्ति’, उनले भनेका छन्, ‘यो शक्ति चानचुने शक्ति होइन, यो शक्तिलाई बाहिर राखेर चुनाव गराएर देखाउन् त, यहाँ ६ महिना के के हुन्छ, जबर्जस्ती थुनेर चुनाव गराउन् त !’
सरकारले १२ बुँदे सम्झौता गरे पनि कार्यान्वयनमा कुनै चासो नदेखाएको प्रसाईको आरोप छ । चुनाैती दिंदै थपेका छन्, ‘सरकारले १५ दिनभित्र कार्यान्वयन हुन्छ भनेको हो, आज १३ भइसक्यो, दुई दिन बाँकी छ, कार्यान्वयन भएन भने ठूलो आन्दोलन हुन्छ।’