सबै श्रेणीहरू

बाबुरामले छाडे पद, रोजे पार्टी

बाबुरामले छाडे पद, रोजे पार्टी

नेपाली राजनीतिमा ‘पद नपाएसम्म विद्रोही, पाएपछि भक्त’ हुने चलन नौलो होइन। तर त्यही राजनीतिमा पद हातैमा आइपुग्दा पनि पार्टी रोज्ने नेता भेटिनु बिरलै हुन्छ । काठमाडौँ–१ मा यस्तै उदाहरण बनेका छन् नेपाली काँग्रेसका युवा नेता बाबुराम आचार्य।

सङ्घीय सांसद बन्ने प्रबल सम्भावना हुँदाहुँदै आचार्यले उम्मेदवारी फिर्ता लिए। कारण एउटै छ, पार्टीलाई जिताउन। पदभन्दा पार्टी ठूलो हो भन्ने सन्देश दिन उनले आफूलाई रोकिदिए।

काठमाडौँ–१ मा आचार्यको नाम केही समयदेखि चर्चामा थियो। चार पटक सांसद भइसकेका, सर्वोच्च नेता गणेशमान सिंहका पुत्र तथा प्रकाशमान सिंहलाई टक्कर दिँदै प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएपछि आचार्य एकाएक चर्चाको केन्द्रमा आए। सामाजिक सञ्जालदेखि चिया पसलसम्म ‘यो पटक बाबुराम’ भन्ने चर्चा चल्यो।

स्थानीय स्तरमा उनको पक्षमा माहोल पनि कमजोर थिएन। युवासँग संवाद गर्न सक्ने, गुटभन्दा बाहिर देखिने र ‘चाकरी राजनीतिबाट टाढा’ रहेको छवि उनका लागि बलियो पक्ष थियो। “टिकट पाए बाबुरामले जित्थे,” भन्ने कुरा काँग्रेस कार्यकर्तामाझ खुलेर सुनिन्थ्यो।

तर काँग्रेसको आन्तरिक किचलोले काठमाडौँ–१ मा सबै समीकरण उल्टाइदियो। विशेष महाधिवेशनपछि न प्रकाशमान सिंहले टिकट पाए, न बाबुराम आचार्यले। पार्टीभित्रै असन्तुष्टि चुलियो। आचार्यले त्यसपछि बागी उम्मेदवारी दर्ता गराए।

यहीँबाट कथा यसरी मोडिन्छ :

पार्टीका क्षेत्रीय सभापति, प्रदेश सांसद, वडा तहका नेता–कार्यकर्ता, आधिकारिक उम्मेदवार प्रबल थापादेखि केन्द्रका नेतासम्मले आचार्यलाई एउटै कुरा भने—“पार्टी फुटाएर होइन, पार्टी जोगाएर अघि बढ्नुस्।”

समर्थकहरूले भने दबाब पनि दिए। “बागीमै लड्नुस्, जिताएर देखाउँछौँ।” तर आचार्य कसैको उक्साहटमा लागेनन्। महामन्त्री गुरुराज घिमिरे र पार्टी सभापति गगन थापासँगको संवादपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरे।

“म स्वतन्त्रबाट पनि जित्न सक्थेँ,” आचार्य भन्छन्, “तर अहिले मेरो जितभन्दा पार्टीको जित महत्वपूर्ण थियो।” उनका शब्दमा, ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को एजेन्डा बोकेर आफू होइन, पार्टीलाई अघि बढाउने निर्णय गरिएको हो।

२५ वर्षदेखि काँग्रेसको सक्रिय राजनीतिमा रहेका आचार्य पूर्वप्रधानमन्त्री सुशील कोइरालासँग निकट रहेर काम गरिसकेका नेता हुन्। कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको त्याग राजनीतिलाई आदर्श मान्ने उनी आफूले गरेको निर्णयलाई त्यही परम्पराको निरन्तरता ठान्छन्।

काँग्रेसभित्र अहिले युवाहरूको चर्चा चलेको छ। गगन थापा, विश्वप्रकाश शर्माजस्ता अनुहारहरू अघि आइरहेका बेला बाबुराम आचार्यले गरेको त्यागलाई पनि धेरैले ‘भोलिको लगानी’का रूपमा हेरेका छन्। एक काँग्रेस नेता भन्छन्, “आज सांसद नबने पनि बाबुराम आचार्यले राजनीति भने जितेका छन्।”

पार्टीले यो त्याग सम्झन्छ कि बिर्सिन्छ, त्यो भने आउने दिनले नै बताउनेछ। तर काठमाडौँ–१ मा पद छोडेर पार्टी रोज्ने नेता भएको तथ्य भने राजनीतिक अभिलेखमा दर्ज भइसकेको छ।