सबै श्रेणीहरू

नेपाली र चिनियाँको आपसी भ्रमणमा खर्च ब्यवस्थापनवारे सल्लाह

नेपाली र चिनियाँको आपसी भ्रमणमा खर्च ब्यवस्थापनवारे सल्लाह

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेल र चिनियाँ केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाका गभर्नर फान कोङसङबीच भेटवार्ता भएको छ । दुबै गभर्नरबीच राजधानी बेइजिङभन्दा पूर्वतर्फको सामुन्द्रिक तटीय सहर थिएनचीनमा आयोजित एक बैठकको क्रममा कुराकानी भएको बताइएको छ ।

थिएनचीनमा गत अगष्टको अन्त र सेप्टेम्बरको शुरुमा सांघाई सहयोग संगठनको शिखर सम्मेलन भएको थियो । उक्त सम्मेलनमा नेपालको तर्फबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल सहभागी थियो । 

गभर्नर पौडेल नेतृत्वको तीन सदस्यीय टोेली बैंक फर सेटलमेन्ट्सद्वारा आयोजित २० औं एसिया प्रशान्त उच्चस्तरीय बैठकमा भाग लिन त्यहाँ गएको हो । त्यस अवसरमा नेपाल र चीनबीच सीमापार भुक्तानी,लगानी तथा सहयोग आदानप्रदानका अवसर र चुनौतीबारे छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाली र चिनियाँ नागरिकले एक अर्काको मुलुकमा गर्ने भ्रमणको क्रममा क्युआर कोडमार्फत् हुने भुक्तानीको सहजीकरण तथा लागत न्यूनीकरण बारेमा पनि छलफल भएको छ । डिजिटल माध्यमबाट हुने भुक्तानीमा सहयोग आदानप्रदान र सहकार्यका लागि चिनियाँ केन्द्रीय बैंक तयार रहेको सन्देश दिइएको छ ।

चिनियाँ लगानीकर्ता,बैंकर र सरकारी अधिकारीहरुले उपयुक्त कानुनी व्यवस्थाको अभावमा नेपालमा चिनियाँ बैंकको शाखा खोल्ने चाहनाले मूर्तरुप लिन नसकेको बताउँदै आएका छन् । राष्ट्र बैंकले होलसेलबाहेक रिटेल बैंकिङको व्यवस्था नगरेसम्म अन्य विदेशी बैंकका झैँ चिनियाँ बैंकका शाखा पनि नेपालमा खुल्नसक्ने कुनै सम्भावना छैन ।