सबै श्रेणीहरू

ग्लोबल क्यापिटललाई ओएनकाे आईपीओ निष्काशनकाे जिम्मा

ग्लोबल क्यापिटललाई ओएनकाे आईपीओ निष्काशनकाे जिम्मा

ओएन बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । त्यसका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

ओएन बायोटक लिमिटेडका सञ्चालक अध्यक्ष चुन्नप्रसाद शर्मा र ग्लोबल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । ०७६ पुस २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको ओएनको केन्द्रीय कार्यालय रुपन्देहीको तिलोत्तमा रहेको छ । 

कम्पनीले कृषि उत्पादनपछि खेर जाने सहायक सामग्रीहरु जस्तैः पराल, भुस, उखुको बगास, तोरीको पिनालगायत प्रयोग गरेर ताजा च्याउ उत्पादन गर्दै आएको छ । त्यस्तै, गहुँ, जुनेलो तथा कोदोमार्फत बीउ उत्पादन गरेर सबै खालका च्याउका बीउबिजनसमेत बेचबिखन गर्ने गरेको छ । 

ताजा च्याउ बजारीकरणसँगै अत्याधुनिक प्रविधिबाट प्रशोधन गरी ड्राई मसरुम बनाउने र क्यान मसरुम प्लान्ट सञ्चालन गर्ने लक्ष्य पनि कम्पनीले राखेको छ । कम्पनीले च्याउका अतिरिक्त मौसमी तरकारी उत्पादन एवम् बजारीकरण तथा किसानका लागि आवश्यक पर्ने कम्पोष्ट मलसमेत उपलब्ध गराउँदै आएको छ । यसका अलावा प्राङ्गारिक मल उत्पादन गरी बिक्रीवितरण गर्ने योजनासहित अघि बढिरहेको कम्पनीले जनाएको छ ।