सबै श्रेणीहरू

टाइगर कपको मुख्य प्रायोजक एनसेल

टाइगर कपको मुख्य प्रायोजक एनसेल

दूरसञ्चार सेवा प्रदायक एनसेल यो पटक पनि राष्ट्रिय भलिबल खेल महाकुम्भ ‘छैठौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता, २०८२’ को मुख्य प्रायोजक बनेको छ । 

अस्तिदेखि कास्कीको पोखरामा शुरु भएको सो प्रतियोगितामा एनसेलले मुख्य प्रायोजकका रुपमा सहकार्य गरेको हो । पछिल्लो पाँच वर्षदेखि आयोजना हुँदै आएको यो प्रतियोगितामा गत वर्ष पनि एनसेल मुख्य प्रायोजक थियो । यसपालि पनि मुख्य प्रायोजकका रुपमा सहकार्य गर्न एनसेलले टाइगर ग्रुप अफ पोखरा नेपालसँग साझेदारी गरेको हो । 

एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ता यो सहकार्यले खेलकुद र युवा सशक्तिकरणप्रति एनसेलको गहिरो प्रतिबद्धतालाई झल्काउने बताउँछन् । ‘यो प्रतियोगिताले नेपालको प्रिय खेल भलिबल प्रवद्र्धनमा अर्थपूर्ण योगदान पुर्याउनुका साथै स्थानीय युवालाई सशक्त बनाउँदै भविष्यका राष्ट्रिय प्रतिभा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने छ भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गरेको यो प्रतियोगिता यही माघ १७ गतेसम्म पोखरा रङ्गशालाको भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुनेछ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले खेलकुदमा आफ्नो आबद्धतालाई निरन्तरता दिँदै यो वर्ष पनि टाइगर कपमा सहकार्य गरेकोमा एनसेलप्रति आभार व्यक्त गरे ।

छैटौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ ५ र पुरुषतर्फ ६ टोली गरी कुल ११ टोली प्रतिस्पर्धा गर्दैछन् । जसअनुसार महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यु डायमन्ड युथ स्पोट्र्स क्लब र थाइल्यान्ड क्विन्स गरी पाँच टोली सहभागी छन् ।

पुरुषतर्फ भने गण्डकी प्रदेश भलिबल संघ पोखरा, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपीएफ क्लब, पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्स छन् । यो प्रतियोगितामा विजेता हुने महिला र पुरुषतर्फका दुवै टोलीले समान ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ र तृतीयले २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार पाउनेछन् ।