चिनियाँ युआनको मूल्य दिनहुँ बढ्दै गएको छ । केही महिनामा नेपाली बजारमा युआनको मूल्य लगातार उकालो लागेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज १ चिनियाँ युआनको खरिद दर २१.०३ रुपैयाँ र बिक्री दर २१.११ रुपैयाँ कायम गरिएको छ ।
यो वृद्धि पछिल्लो दशककै सबैभन्दा उच्च हो । १० वर्षअघि आजकै दिन युआनको खरिद दर १६.४८ रुपैयाँ र बिक्री दर १६.५७ रुपैयाँ थियो । एक महिनाअघि १ युआनको खरिद दर २०.२४ रुपैयाँ र बिक्री दर २०.३३ रुपैयाँ थियो ।
युआन मूल्य वृद्धिका कारणहरूमा विश्वव्यापी राजनीतिक र आर्थिक वातावरणलाई लिइन्छ । अमेरिकासँगको तनाव र अनिश्चितता बढेसँगै अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले सुन र सुरक्षित मुद्रामा लगानी गर्न थालेका छन्।
त्यसैगरी चीनको आर्थिक स्थिरता अर्को कारण हो । विश्व बजारमा चीनको आर्थिक अवस्था स्थिर देखिने क्रममा उच्च ब्याजदर र उत्साहित पुँजी बजारले लगानीकर्तालाई युआनतर्फ आकर्षित गरेको छ।
युआन बलियो हुँदा नेपालको विदेशी मुद्रा सन्तुलन, आयात–निर्यात र व्यापार लागतमा प्रभाव पर्छ । विशेषगरी चीनसँग व्यापार गर्दै आएका व्यवसायी र आयातकर्ताहरूको लागत बढ्नेछ । यसले चिनियाँ सामानको मूल्य स्वतः बढ्नेछ । त्यसैगरी पर्यटन,विद्यार्थीलगायत अन्य सेवा क्षेत्रका व्यवसायमा पनि प्रभाव पर्नेछ ।
विश्लेषकहरूले चीनको मुद्रा सुदृढीकरणलाई विश्व बजारमा लगानीको आकर्षक संकेत र स्थिर आर्थिक नीतिको प्रतिक बताइरहेका छन् । तर, नेपालजस्तो अर्थतन्त्रमा यस्ता विदेशी मुद्राको मूल्य वृद्धिले आर्थिक योजना र व्यापार व्यवस्थापनमा चुनौती थप्ने सम्भावना धेरै हुन्छ ।