रुपन्देहीको मर्चवार क्षेत्रका नेता ओमप्रकाश यादव ‘गुल्जारी’ तत्कालीन माओवादी विद्रोहीविरुद्ध प्रतिकारमा उत्रिएपछि राजनीतिमा उदाएका पात्र हुन् । २०६४ सालमा भएको संविधानसभा सदस्य निर्वाचनमा उनले उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमबाट रुपन्देही क्षेत्र नम्बर ३ (तत्कालीन रुपन्देही–२) बाट विजयी भएका थिए।
त्यसपछि भएको पार्टी विभाजनमा विजयकुमार गच्छदारले अलग पार्टी गठन गरे। केही समयपछि राजकिशोर यादवको नेतृत्वमा मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) गठन भयो। उक्त दलमा प्रवेश गरेपछि गुल्जारीले कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाए।
निर्वाचन आउनुअघि नै उनी राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा प्रवेश गरे। २०७० सालको निर्वाचनमा उनले रुपन्देही–४ बाट ‘तीर’ चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका थिए, तर विजयी हुन सकेनन्। यस क्रममा उनले दलसँगै निर्वाचन क्षेत्र पनि परिवर्तन गरे।
२०७४ को निर्वाचनअघि उनी नेकपा (एमाले) मा प्रवेश गरे। सोही वर्ष रुपन्देही–४ बाट उम्मेदवार बने तर पराजित भए। एमालेभित्र केही नेताहरूबाट राम्रो व्यवहार नपाएको र षड्यन्त्रपूर्वक महाधिवेशन प्रतिनिधि बन्नसमेत रोकिएको आरोप लगाउँदै उनले पार्टी परित्याग गरे।
त्यसपछि उनी पुनः आफ्नो पुरानै दल, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरे। अघिल्लो निर्वाचनमा जसपा नेपालबाट उम्मेदवार बनेका यादव फेरि पनि पराजित भएपछि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, नेपालको केन्द्रीय उपाध्यक्ष बने।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा यादव रुपन्देही–५ बाट जनमत पार्टीको उम्मेदवार बनेका छन्। २०६४ देखि २०८२ सम्म आइपुग्दा उनले दल मात्र होइन, निर्वाचन क्षेत्र पनि पटक–पटक परिवर्तन गर्दै उम्मेदवारी दिएका छन्। २०६४ सालपछि विभिन्न राजनीतिक दलबाट उम्मेदवार बने पनि उनी लगातार पराजित हुँदै आएका छन्। आगामी निर्वाचनमा यादव जित्लान् कि हार्लान् त्यो भने हेर्न बाँकी छ ।