सबै श्रेणीहरू

चुनाव खर्च भन्दै फेसबुकबाट पैसा माग्दै

चुनाव खर्च भन्दै फेसबुकबाट पैसा माग्दै

प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै केही उम्मेदवारले चुनाव खर्च माग्न थालेका छन् । सामाजिक सञ्जालमा क्यूआर सार्वजनिक गर्दै विभिन्न पार्टीका 'भाइरल उम्मेदवार' रकम जुटाउन कस्सिएका हुन् । 

 फेसबुकमा क्यूआर राखेर आर्थिक सहयोग माग्ने एक उम्मेदवार हुन्, महावीर पुन । माघ ५ गते शिक्षामन्त्री पदबाट राजीनामा दिई रातारात म्याग्दी पुगेर मनोनयन दर्ता गराएका उनले फेसबुकमा राष्ट्रिय वाणिज्य बैंकको खाता सार्वजनिक गरेका छन् ।

‘धेरै साथीहरुले मलाई चुनावमा सहयोग गर्न भनेर बैंक खाता र क्यूआर कोड माग्नु भएको थियो’, उनले भनेका छन्, ‘धेरै समर्थकहरुको अनुरोध आएकोले चुनावको लागि मात्र भनेर मैले यो नयाँ खाता खोलेको छु, यो खाताको हिसाब किताब पूर्णरुपले पारदर्शी हुनेछ ।’

पहिले स्वतन्त्र उम्मेदवारी दिएका पुनलाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन जनाएको छ ।

त्यस्तै, काठमाडौँ क्षेत्र नम्बर ५ बाट गतिशील लोकतान्त्रिक पार्टीको चिन्हमा उठेकी कलाकार नेतृ निशा अधिकारीले पनि नेपाल इन्भेस्टमेन्ट बैंंकको क्यूआर सार्वजनिक गरेकी छन् । ‘सफा स्रोतबाट आएको सहयोगले मात्र सफा राजनीति सम्भव हुन्छ’, उनले भनेकी छन्, ‘तपाईंको सानो सहयोगले पारदर्शी र इमानदार चुनाव अभियानलाई बल पुर्‍याउँछ।’

जनार्दन शर्माको प्रलोपाबाट चितवन क्षेत्र नम्बर १ का उम्मेदवार विकास कामीले पनि ग्लोबल आइएमई बैंकको खाता सार्वजनिक गर्दै आर्थिक सहयोगको अपेक्षा राखेका छन् । आफू गरिब भएकाले पैसा चाहिएको उनको तर्क छ । 

‘मलाई झुटको राजनीति गर्न आउँदैन, त्यसैले मसँग अरू नेताजस्तो धनको भण्डार छैन, तर मसँग यो देश बनाउने स्पष्ट खाका र हुटहुटी छ’, कामी भन्छन्, ‘मेरो यो इमानदार र वैचारिक निर्वाचन अभियानमा साथ दिन इच्छुक महानुभावहरूले आर्थिक सहयोग गरि यस अभियानलाई अझ बलियो र सशक्त बनाउन हार्दिक अनुरोध गर्दछु ।’

रास्वपाको घण्टी छाप लिएर उठेका गणेश कार्कीले पनि नेपाल इन्भेस्टमेन्ट बैंकको क्यूआर सार्वजनिक गर्दै पैसा मागेका छन् । मोरङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका उनले चुनाव लड्न पर्याप्त पैसा नभएकाले सहयोग उठाउनुपरेको बताएका छन् । 

‘चुनावको स्रोतसाधनका लागि आर्थिक सहयोग गर्न इच्छा हुनेहरूका लागि आफ्नो व्यक्तिगत बैंक खाताको क्यूआर कोड राखेको छु । चुनावपछि यसको सम्पुर्ण आयव्यय विवरण सार्वजनिक गर्नेछु’, क्यूआरसँगै कार्कीले लेखेका छन ।