सबै श्रेणीहरू

चुनाव जित्न अनेक चटक

चुनाव जित्न अनेक चटक

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँकेन्द्रित चुनावी अभियान शुरु भएको छ । वैकल्पिक शक्तिको नाममा पुराना पार्टीका नेतालाई गाली गर्दै शहर-बजार र सामाजिक सञ्जालतिर चर्का कुरा गर्नेहरू पनि यतिबेला उम्मेदवार बनेर भोट माग्न गाउँ पसेका छन् । 

चुनावका बेला उम्मेदवारले कार्यकर्ताको लावालस्कर लिएर घरदैलो गर्नुलाई सामान्य प्रक्रियाकै रुपमा लिइन्छ । तर, कतिपय उम्मेदवारले भने भोट माग्ने नाममा अनौठा हर्कत गरेको देखियो । 

अघिल्लो दिन पत्रकारिता छोडेको घोषणा गरेर भोलिपल्ट आम जनता पार्टीबाट उम्मेदवार बनेका पत्रकार ऋषि धमला यो मामिलामा निकै 'अग्रगामी' पाइएका छन् । धादिङ ज्यामरुङ स्थायी ठेगाना भई हाल काठमाडौँ बस्ने र रौतहट-४ बाट उठेका उनको भोट माग्ने शैलीले अघिल्लो साता सामाजिक सञ्जाल बेस्कन गर्माएको थियो । 

मतदाता रिझाउन अनेक उपाय अपनाएका ऋषि कोट पाइन्टमा सजिएर जलेवी पकाउने,आरोले काठ चिर्ने, उखुको भारी बोक्ने गरेपछि ट्रोलको शिकार भएका थिए । सञ्जालमा ऋषिको चर्चा नसेलाउँदै सुर्खेतमा पनि एक उम्मेदवारले त्यस्तै चटक देखाएका छन् । 

क्षेत्र नम्बर २ का एमाले उम्मेदवार कुलमणि देवकोटा मतदातालाई फुर्क्याउन कोदालो लिएर बारी खन्न पसेपछि ऋषिजस्तै ट्रोल भएका हुन् । अस्तिदेखि घरदैलो अभियान चलाएका उनले हिजो एक स्थानीय मतदाताको बारी खनेका थिए । घाँटीमा खादा लगाएर कोदालो समातेका उनले ‘स्टन्ट’ देखाएको भन्दै आलोचना भइरहेको छ । 

त्यस्तै चकट देखाएका छन्, गोरखा-१ का घण्टी उम्मेदवार सुधन गुरुङले पनि । कालो चस्मा लगाएर चिटिक्क परेका उनले जानी-नजानी भारी बोकेको भिडिओ सञ्जालतिर व्यापक छ । वर्षौंदेखि शहरमा बस्दै आएका उनले मतदातालाई रिझाएर भोट बटुल्न यस्तो गरेको बुझ्न कठिन छैन । 

भदौ २३ गते जेनजी प्रदर्शनकारीलाई पानी बाड्दा बाँड्दै नेता बनेका उनी काठमाडौँमा एनजिओ चलाउँछन् । रवि लामिछाने र बालेन्द्र साहलाई मिलाउन पनि उनैले भूमिका खेलेको भन्ने गरिएको छ । 

घण्टी पार्टीकै नुवाकोट-२ का उम्मेदवार अच्युतम लामिछानेले देखाएको नौटंकी पनि कम चर्चामा छैन । उम्मेदवारी मनोनयनको दिन गलाभरी माला भिरेर सडकमा दौडिएका उनले बाटोमा भेटिएका बूढापाकालाई 'हजुरबा र हजुरआमा' भन्दै जमिनमा मुन्टो टेकेर ढोगेका थिए । 

आफूलाई रवि लामिछानेजस्तै देखाउन खोज्ने उनको शैली निकै अस्वाभाविक देखिन्छ । स्थानीयले यसलाई चटकको संज्ञा दिएका छन् ।