सबै श्रेणीहरू

‘न्यु वर्ल्ड अर्डर’मा हतियार र मतियारको जगजगी

‘न्यु वर्ल्ड अर्डर’मा हतियार र मतियारको जगजगी

– वशिष्ठ शर्मा

इतिहास हेर्ने हो भने,शक्तिशाली साम्राज्यहरू सधैँ भूबनोटको नक्सा बोकेर हिँडेको पाइन्न । नेपालकै सन्दर्भमा पनि कहिले उनीहरू धर्मको किताब बोकेर आए त कहिले सभ्यताको झण्डा बोकेर । केही दशकदेखि विकास, सुशासन र सुधारको शब्दावली र ठेली बोकेर आएका छन् । संक्षेपमा भन्नुपर्दा रूप फेरिएको छ,तर लक्ष्य उही हो । 

विगतमा चुनाव जिते पनि सरकार बारम्बार फेरिन्थ्यो । सडकमा जनता थिए,संसदमा प्रतिनिधि थिए,तर अन्तिम निर्णय भने सधैँ ‘बाहिरको सन्तुलन’ ले तय गरेको हेक्का धेरैपछि मात्र हुन थाल्यो । विकास,सुशासन र सुधारका हर्ताकर्ताहरुले ऋण रोक्ने डर देखाउँथे,नरम भएपछि अनुदानको लोभ दिन्थे त्यसपछि महत्वपूर्ण नीति अर्कैतिर मोडिन्थ्यो । दशकौंसम्म यसो गरेपछि बन्ने त्यो देश ‘असफल राज्य’ को सफल उदाहरण हुनेमा दुई मत छैन।

यो भूमण्डलको अर्को कुनै एउटा देशको उदाहरणलाई हेर्ने हो भने त्यो देशमा पनि सेना अगाडि आएन । ट्याङ्क चलेन । तर अदालत,मिडिया र गैरसरकारी संरचनाबाटै सत्ता पुनर्संरचना भएको पाउँछौं । यसलाई संवैधानिक प्रक्रिया भनियो । केही वर्षपछि त्यहाँका नागरिकहरूले बुझ्न थाले—सत्ता त उनीहरूले रोजेकै थिए, तर शासनशैली उनीहरूले चाहेबमोजिमको हुँदै होइन ।

अर्कोतिर,अफ्रिकी भू–भागका केही राष्ट्रमा २० औं शताब्दीको अन्ततिर विकास परियोजनाको बाढी नै ल्याइयो । सडक बने,भवन ठडिए,तर राज्यको आत्मालाई ऋणको तमसुकमा कसिलोसँग बाँधियो । पुस्तौँसम्म तिर्नुपर्ने सम्झौतालाई रणनीतिक साझेदारी भनियो । प्रश्न उठाउनेहरूलाई ‘विकासविरोधी’ ठहर गर्न थालियो ।

यी उदाहरण टाढाका हुन् । तर यिनका संकेत हाम्रालागि निकै परिचित हुन थालेका छन् । यहाँ पनि सरकार फेरिन्छ,तर कार्यसूची कहिल्यै फेरिँदैन। नीति निर्माणअघि ‘ब्रिफिङ’ हुन्छ, निर्णयपछि ‘प्रशंसा’ आउँछ । संसदमा बहस हुन्थ्यो तर बहसभन्दा बाहिरका टिप्पणीहरू निर्णायक भएका धेरै उदाहरण छन् । विकासको खाका प्रायः गाउँभन्दा टाढा कोरिनु यसका विशेषता हुन् ।

यहाँ पनि केही अनुहार सधैँ व्यस्त देखिन्छन् । सेमिनार,कार्यशाला, अन्तर्राष्ट्रिय बैठकमा उनीहरू राष्ट्रका नाममा बोल्छन्,तर भाषा राष्ट्रको होइन, रिपोर्टको हुन्छ। उनीहरू निर्वाचित नहुन पनि सक्छन्, तर अपरिहार्य बनाइएका वा बनाइन्छन् । त्यसैले यहाँ पनि प्रश्न गर्नेहरूलाई सजिलै वर्गीकृत गरिन्छ—कट्टरवादी,प्रतिक्रियावादी, अव्यावहारिक । बहसको सट्टा लेबल लगाइन्छ । जब लेबल लाग्छ त्यसपछि नीति चुपचाप यताउता हुनु स्वाभाविक हो ।

न्यु वर्ल्ड अर्डरका मतियारहरू यस्तै मौनता र अप्ठेरोमा फैलन्छन् । उनीहरू देश चलाउँदैनन्, तर देश कसरी चल्ने भन्ने म्यानुअल लेखिरहन्छन् । उनीहरू सत्तामा हुँदैनन्,तर सत्ता कसलाई सहज हुन्छ भन्ने योजना तय गर्छन् । धेरै देशका इतिहासले पनि देखाइसकेको छ–जब राष्ट्रले आफ्नै प्राथमिकता आफैँ परिभाषित गर्न छाड्छ, तब अरूले त्यो काम खुशीका साथ गरिदिन्छन् । र त्यही क्षणबाट,त्यस्तो मुलुकको सार्वभौमसत्ता कागजी नक्सामा मात्र सीमित रहन्छ ।