अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको स्वार्थलाई साथ नदिएका कारण सचिव राधिका अर्याललाई हुत्याइएको खबर छ ।
माघ २ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरी उनको ठाउँमा लक्ष्मी बस्नेतलाई सरुवापत्र दिएको छ । नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का मन्त्री खरेलले चाहेको कम्पनीलाई दिन नमान्दा सरुवा भएको जानकारी सचिव श्रोतले दिएको छ । ठेक्का मिलाउनमा सचिव अर्याल बाधक देखिएपछि उनलाई हटाउन दुई महिनादेखि कोशिश जारी थियो ।
सञ्चारमा गण्डकी प्रदेशका मुख्यसचिव डण्डुराज घिमिरेलाई ल्याउन मुख्यसचिव सुमन अर्याल बाधक बनेपछि खरेलको प्रयास कार्यान्वयन हुन सकेन ।
नेपाल टेलिकमको बिलिङ प्रणाली जहिले पनि विवादमा पर्दै आएको छ । स्रोतका अनुसार ठेक्काका लागि मन्त्रीले दशैंलगत्तै सचिवलाई एक कम्पनीको नाम दिएका थिए । उक्त कम्पनीलाई ठेक्का दिन सकिन्छ कि सकिँदैन भनेर अर्यालले आफैं अध्यक्ष रहेको टेलिकमभित्र छलफल पनि थालेकी थिइन् । ‘मन्त्रीज्यूले भनेको कम्पनी प्रक्रियागत रुपमा कमजोर देखियो,’ स्रोत भन्छ, ‘मन्त्रीज्यूकै रुचिका कारण प्रक्रिया स्थगन गरी केही खुकुलो पनि पारियो तैपनि पार लाग्ने देखिएन ।’ योग्यता पुग्ने बलियो कम्पनी चाहिन्छ भनेर सचिवले अडान लिएपछि खेल शुरु भएको बताइएको छ । नभन्दै सचिव सरुवा भएकै भोलिपल्ट ठेक्का तोड्ने काम भएको छ ।
सचिव परिवर्तन गरेर भए पनि आफूले चाहेको कम्पनीलाई ठेक्का दिलाउन लागिपरेका खरेल पुस मसान्तसम्म गण्डकी प्रदेशबाट घिमिरेलाई सरुवा गरी ल्याउने अडानमा थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सहसचिव रहेका बेला घिमिरेले खरेलको कम्पनी मिडिया हेल्पलाइनलाई काम दिएका थिए । ‘रोजगार मेलादेखि श्रम मन्त्रालयका धेरै काम खरेलको कम्पनीलाई दिएको गुन लगाउन खोज्नुभएको होला ।’
स्रोतका अनुसार सचिव घिमिरे खरेलको कम्पनी मिडिया हेल्पलाइनका कन्सल्टेन्ट हुन् । यही सम्बन्धलाई कसिलो बनाउन खरेलले उनलाई सञ्चारसचिव बनाउन चाहेका थिए । प्रधानमन्त्री र मुख्यसचिव दुवै जनाले नमानेपछि दोलखाकी बुहारी भन्दै लक्ष्मी बस्नेतमा सहमति जनाएका हुन् । ‘सम्माननीयज्यूसँग पटक–पटक कुरा भएको रहेछ, मुख्यसचिवज्यूलाई पनि धेरै पटक भन्नुभएछ ।’ प्रधानमन्त्री कार्यालयका एक सचिव भन्छन्, ‘केही उपाय नलागेपछि महिला मन्त्री श्रद्धा श्रेष्ठलाई मनाएर दुई सचिव अदलीबदली गर्नुभयो ।’ उनका अनुसार २ गतेको मन्त्रिपरिषद् बैठक शुरु हुनुअघि दुवै मन्त्री सचिव परिवर्तनका लागि मुख्यसचिवसँग परामर्शमा थिए । सहसचिव हुँदा महिला मन्त्रालयमा बसेर धेरै विषय बुझेको हिसाबले राधिकालाई आफ्नोमा लैजान मन्त्री श्रद्धालाई खरेलले कन्भिन्स गरेकोबारे कर्मचारी वृत्तमा चर्चा भइरहेको छ ।
‘चुनाव लड्न मन्त्री पदबाट राजीनामा दिनुपर्ने हुँदाहुँदै मन्त्रालयमा नयाँ सचिव भिœयाउनु भनेको बाहिर बसेर भए पनि काम मिलाउने तयारी हो ।’ मन्त्रालय स्रोतले भन्यो, ‘टेलिकमको विषय सतहमा आएको मात्र हो, योभन्दा पनि ठुल्ठूला काम भइरहेको छ, ती पूरा गर्न सचिव परिवर्तन गर्नुभएको हो ।’ सुशासन दिन बनेको सरकारले नत्र किन हतारमा यसरी सचिव परिवर्तन गर्नुपर्ने थियो र ?
‘सचिव परिवर्तन मात्र गरिएन, उनको बारेमा मिडियामा अनेक कुरा लेखाइयो ।’ मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘सचिवज्यूको श्रीमान् नेपाली सेनामा र दाइ सशस्त्र प्रहरीमा हुनुसँग बिलिङ प्रणालीको के साइनो ?’
(जनआस्था साप्ताहिकको माघ ७ गते बुधबारको अंकमा प्रकाशित)