सबै श्रेणीहरू

बालेनले लेख्नासाथ किन जल्यो सिंहदरबार ?

बालेनले लेख्नासाथ किन जल्यो सिंहदरबार ?

काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन साहले फेसबुकमा लेख्ने सामान्य सन्देशहरूले समेत एकैछिनमा लाखौं लाइक र हजारौं कमेन्ट पाउने गरेको देखिन्छ । उदाहरणका लागि, गत शुक्रबार उनले २०७२ सालको भूकम्पपछिको एउटा तस्बिर पोस्ट गर्दै भावी नीति, संरचना र शासन प्रणालीबारे लेखेको स्ट्याटसमा आएको लाइक, कमेन्ट र शेयर नै पर्याप्त छ ।

सामाजिक सञ्जालमा नेपाली भाषा खासै शुद्ध नलेख्ने उनी भन्छन्– ‘नीति यस्तो बन्नेछ, जसले संकट आउनुअघि नै तयारी होस् । संरचना यस्तो बन्नेछ, जसले विपद् सहन सकोस् । शासन यस्तो बनोस्, जसले जनताको विश्वास जितोस् ।’ सिभिल इञ्जिनियरको नाताले भूकम्पपछि आफूले २५ सय घर निर्माण गरेको र ३५ जिल्ला पुगेको दावी सोही पोस्टमा गरेका छन् तर प्रयोग गरिएको तस्बिरमा भने उनी बाँसको खाँबो अगाडि उभिएको र इञ्जिनियरले प्रयोग गर्ने सर्भे क्यामेरा चलाएको देखिन्छ, जुन प्रसङ्गसँग प्रत्यक्ष मेल नखाने भन्दै आलोचना पनि भएको छ ।

शुक्रबार बिहान करिब ८ बजे पोष्ट गरिएको उक्त फोटो र स्टाटसले दिउँसो ४ बजेसम्ममा २ लाख ९२ हजार लाइक, २९ हजार ९ सय कमेन्ट र ४ हजार ८ सय शेयर पाएको थियो । ‘के यस्तो सहभागिता सम्भव छ ?’ यही जिज्ञासाका साथ जनआस्थाले जापानमा सूचना प्रविधि र सफ्टवेयर इञ्जिनियरिङमा स्नातकोत्तर अध्ययनरत केही नेपालीसँग कुरा गरेको थियो । उनीहरुले भनेका छन्– ‘बालेनको फेसबुक स्टाटस यति छिटो भाइरल हुनुमा दुई पक्ष कारक छन् । एकातर्फ यसको निर्माण र अर्कोतर्फ यसको फैलावट । यसका पछाडि सफ्टवेयर, फेसबुक एल्गोरिदम र कम्युनिकेसनसँग सम्बन्धित धेरै प्राविधिक कारण हुने गर्दछन् ।

पछिल्लो समय फेसबुकले आफ्नो पोष्ट कसलाई देखाउने भन्ने निर्णय एल्गोरिदममार्फत् गर्छ । बालेन साहको हकमा पनि यही नियम लागू भएको अनुमान लगाउन सकिन्छ । यद्यपि, उनको पेजको भित्री प्राविधिक विस्तृत विवरण मेटा कम्पनी र नेपाल सरकारबाहेक अरू कसैले प्रत्यक्ष हेर्न सक्दैन । खाडी राष्ट्र, अष्ट्रेलिया, अमेरिका, जापान, कोरिया र नेपाली धेरै बस्ने मलेशियालाई कमेन्ट के गर्ने भन्ने बिहानै तय गरेर टार्गेट गरेको देखिन्छ। 

यसमा मुख्य तत्व भनेको पोष्ट गरेलगत्तै हुने प्रारम्भिक सहभागिता नै हो । शुरुमै धेरै लाइक, कमेन्ट र शेयर आएको पोस्टलाई फेसबुकले थप प्रयोगकर्ता र उनीहरूका समूहमा फैलाउँछ । शुरुमा फलोअर्स, त्यसपछि उनीहरूका साथीहरू र अन्ततः बालेनलाई रुचाउने विभिन्न समूहसम्म पोष्ट पुर्‍याइन्छ । यो प्रक्रियामा फेसबुक शेयरको प्राविधिक ज्ञान भएको जनशक्ति प्रयोग गरिन सक्छ । 

बालेन वा उनको टिमले गरेको यही हो । यो विशेषगरी रुटिन अफ नेपाल बन्दलगायत नयाँ पुस्ताको पनि ‘नेगेटिभ धार’ रुचाउने विभिन्न ग्रुपसँग आवद्ध गराइएको अवस्थामा सम्भव हुन्छ । अन्यथा, नेपालजस्तो तुलनात्मक रूपमा थोरै फेसबुक प्रयोगकर्ता भएको देशमा एक–दुई घण्टामै सधैं लाखौं लाइक र हजारौं कमेन्ट पूर्ण रूपमा अर्गानिक तवरले आएको मान्न सकिन्न । अर्को पक्ष भनेको ठूला पेजहरूको नेटवर्क प्रभाव हो । दशौं हजार वा लाखौं सक्रिय फलोअर्स भएका रुटिन अफ नेपाल बन्दलगायत पेज प्रयोग गरेर नेटवर्क प्रभाव सिर्जना गरिन्छ । ती समूहमा रहेका सक्रिय प्रयोगकर्ताले छिटो प्रतिक्रिया जनाउँछन् । यस्तो अवस्थामा बालेन वा उनको टिमले ठूलो रकम खर्च गरेर यस्तो नेटवर्क प्रयोग गरेको देखिन्छ ।  जेनजी आन्दोलनमै सेप्टेम्बर २४ को दिन प्रहरीले समात्ने डरले दुबई भागेका रुटिन अफ नेपाल बन्द चलाउने बालेनका दाहिने हात भिक्टर पौडेललाई डिसेम्बर १० को दिन इण्डोनेशियाबाट बाँकी काम सम्हाल्न नेपाल फर्काइसकिएको छ ।  

त्यसैगरी, बालेनले आफ्नो पेज आफैँ बुस्ट नगरी अन्य ठूला पेजहरूलाई पेड प्रमोसनमा प्रयोग गरेको बुझिएको छ । यो तेस्रो पक्ष प्रयोग गरेर प्रचार गर्ने रणनीतिजस्तै हो—आफू प्रत्यक्ष नदेखिए पनि प्रभाव भने आफूलाई नै आउने । सतहमा बालेनको फेसबुक पेज अर्गानिक देखिए पनि उनका म्यासेजलाई अन्य ग्रुपले डलर तिरेर बुस्टिङ गरेका छैनन् भन्न सकिन्न । अर्को महत्वपूर्ण पक्ष कोअर्डिनेटेड एक्टिभिटी र इन्गेजमेन्ट पोड हो । यसमा केही प्राविधिक रूपमा परिचालित समूहले पोष्ट आएलगत्तै लाइक, कमेन्ट र शेयर गर्छन् ।

फेसबुक पोस्ट व्यापक रूपमा भाइरल हुन थप दुई कुरा निर्णायक हुन्छन् अर्थात् पोस्ट गर्ने समय र विषयवस्तु । सामान्यतयाः बेलुकीदेखि मध्यरातअघिको समय उपयुक्त मानिन्छ । तर, शुक्रबार बिहान पोस्ट गरिएको, भूकम्पको १० वर्षअघिको प्रसंगसँग प्रत्यक्ष नजोडिएको फोटोमा एकाएक यति धेरै लाइक र कमेन्ट आउनुलाई पूर्ण रूपमा स्वाभाविक मान्न गाह्रो हुन्छ । अन्ततः, कुनै पनि पोस्टलाई भाइरल बनाउन सञ्चार कला र एल्गोरिदमिक रणनीति आवश्यक पर्छ । जसले पनि पोष्ट गर्दैमा सामग्री भाइरल हुँदैन । 

एक–दुई घण्टामै लाखौं सहभागिता पाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वा हलिउड–बलिउडका चर्चित कलाकारहरू जत्तिकै विश्वव्यापी प्रभाव हुनुपर्छ । नेपाल र बालेनको सन्दर्भमा त्यो तहको सहभागितालाई पूर्ण रूपमा अर्गानिक भन्न सकिन्न । पछिल्लो समय बालेनले सिंहदरबार जलाउने भन्नासाथ जल्नु, तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई मनपरी गाली गर्नु, नयाँ पुस्ताको नकारात्मक सोचमा रमाउने समूहलाई उराल्न सहयोग पुग्ने धारणा राखिनुको कारण उनका फेसबुक पेजमा अब अर्को के नकारात्मक सन्देश आउला भनेर कुर्नेहरूको संख्या बढ्नु हाम्रो जस्तो वाक स्वतन्त्रता भएको समाजमा स्वाभाविक हो । निश्कर्षमा भन्नुपर्दा, यस्ता पोस्टका लागि ठूलो सक्रिय फलोअर आधार, एल्गोरिदमिक प्रवद्र्धन, भावनात्मक सामग्री, सही समय र स्पष्ट सञ्चार रणनीति अनिवार्य हुन्छ । अन्यथा, सामाजिक सञ्जालमा जसले जे पोस्ट गरे पनि केही बेरमै भाइरल हुँदैन । सूचना प्रविधिमा अझै पछाडि रहेको नेपाली समाजमा अलि प्राविधिक ज्ञान भएकाले गरेको प्रयास प्रभावकारी देखिएकोमा कुनै शंका छैन ।’

(जनआस्था साप्ताहिकको माघ ७ गते बुधबारको अंकमा प्रकाशित)