सबै श्रेणीहरू

रवि, आरजु र केपीको यस्तो थियो रुचि

रवि, आरजु र केपीको यस्तो थियो रुचि

पुरानाले खाए, सिध्याए, अब हामीले हाँक्ने हो भन्दै सरकार र अदालतबाट यसबीच कैयौं ठूला सेटिङ मिलाएका रास्वपा सभापति रवि लामिछानेले युवा पुस्ताको मत आफूतिर एकोहोर्‍याउन २ वर्ष कान्छा गगन थापालाई काँग्रेसको आधिकारिक मान्यता प्राप्त हुन नपाओस् भनेर चर्को लबिङ गरेको प्रमाण भेटिएको छ ।

२०३३ सालको साउन १ गते शुक्रबार जन्मिएका गगन थापाले मुलुककै सबैभन्दा ठूलो र पुरानो दलको सभापतिका रुपमा संवैधानिक मान्यता पाउँदा २०३१ भदौ २० गते बिहीबार जन्मिएका रवि लामिछानेले मतदाताबीच युवा सेन्टिमेन्ट प्रवाह गर्न मुश्किल हुने निश्चित थियो । यसर्थ पुस ३० गते बेलुका ७ बजे काँग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा दिल्लीबाट फर्कनासाथ मिलिजुली कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुनसमशेर जबरालाई फकाई फुल्याई गर्न कुनै कसर बाँकी राखेनन् । तर केपी ओलीको प्रभावमा रहेकी अर्की आयुक्त जानकी तुलाधरबाहेक ती दुईले बरु पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेरको कुरा सुने, आरजु–रविलाई टेरेनन् र गगनद्वारा आयोजित विशेष महाधिवेशनले माघ २ गते आधिकारिता पायो । ३ सदस्यीय आयोगको १ मत मात्रै यतायता भैदिएको भए एमाले र माओवादीझैं काँग्रेसलाई पनि बूढो पुस्ताको पार्टी भनेर रास्वपाले बेग्लै माहौल सिर्जना गर्न सक्थ्यो । 

राजनीति हो, यो कति निर्मम हुने गर्छ भन्ने कुरा पह्रार असार १३ गते भुटानी शरणार्थी प्रकरणमा आरजुविरुद्ध बयान गराउन दिल्लीबाट बेचन झालाई समातेर ल्याउन लगाउने रवि र माओवादीको गठबन्धनविरुद्ध  असार १७ गते रातारात एमाले–काँग्रेस समीकरण तयार भएबाटै प्रष्ट हुन्छ । आज तिनै आरजु र शेरबहादुरलाई बचाउन  रवि र केपीको दौडधूप चाखलाग्दो छ । 

शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमाथि सत्ताको दुरूपयोग गरेको आरोप लाग्दै आएकै हो । अदालत, संवैधानिक अंग र राज्यका अन्य निकायमा सेटिङ मिलाएर आफू अनुकूल निर्णय गराएको आक्षेप तीनै नेताले आज पर्यन्त खेप्दै आएका छन् । तिनको यस्तै सत्ता केन्द्रित गतिविधिले राजनीतिलाई दुषित पारेको भन्दै रास्वपाका नेताहरू कराएको सुनिन्छ । तर, उनीहरूकै सभापति रवि लामिछाने पनि राजनीतिका खुराफाती खेलमा अरुभन्दा कम देखिएनन् । ‘नाइँ, मलाई त्यही केटी चाहिन्छ’ को शैलीमा गृहमन्त्री खान केपी ओलीसँग दोस्ती कसेका उनले प्रहरी–प्रशासनलाई हातमा लिएर सहकारी काण्ड दबाउन अनेक प्रयास गरे । कार्यकर्तालाई सडकमा उतारेर अदालतमाथि दबाब बढाए । पछिल्लो पटक मुद्दा फिर्ता प्रकरणसम्म आइपुग्दा सत्ताको दुरुपयोग गर्ने सन्दर्भमा पुरानालाई पनि माथ खुवाएको टिप्पणी भैरहेको छ । 

यसैबीच नेपाली कांग्रेसको आधिकारिकता विवादमा पनि लामिछानेले विभिन्न शक्ति केन्द्र प्रयोग गरेर निर्वाचन आयोगलाई प्रभावमा पार्न खोजेको अर्को रहश्य निर्वाचन आयोग भित्रैबाट खुलासा भएको छ । स्रोतका अनुसार आयोगले निर्णय लिनुअघि देउवा पक्षलाई वैधानिकता दिलाउन उनले विभिन्न च्यानलमार्फत् चर्कै जोडबल गरेका थिए । देउवाको माया लागेर वैधानिकता दिलाउन खोजेका भने होइनन् । स्रोतले भित्री तथ्य खुलाउँदै भन्यो– कांग्रेस नेतृत्व गगनको काँधमा जाँदा आफूलाई चुनौती हुने उनलाई थाहा छ । यही हिसाब गरेर देउवा पक्षलाई आयोगले आधिकारिकता देओस् भन्नेमा थिए । त्यसनिम्ति बालुवाटार र सिंहदरबारको स्रोत भित्रभित्रै परिचालन गरेका रहेछन् ।  

गत निर्वाचनमा ‘नो, नट एगेन’ को नारा उरालेर एकाएक राजनीतिमा उदाएका पात्र हुन् लामिछाने । युवा पुस्ताको नेतृत्व गर्ने पार्टी रास्वपा मात्र हो भन्ने उनको जिकिर रहँदै आएको छ । यस्तो भ्रममा रहेका उनी प्रधानमन्त्री बन्ने महत्वाकांक्षासहित भदौ २४ गते जेलबाट फुत्किएका थिए । तर, चर्को आलोचनापछि चार रात घरमा सुतेर नख्खु फर्किएका उनी पुस पहिलो साता अदालतको आदेशबाट रिहा भए । धरौटीमा छुटेलगत्तै जेनजी आन्दोलनका शहीद परिवारलाई भेटेर फोटो खिचाएका लामिछाने आफूलाई जेनजीको असली अगुवा देखाउन चाहन्छन् ।  

यता, कांग्रेसमा देउवाको नेतृत्व मन नपराउने डेमोक्रेटिक मतदाताको ठूलो हिस्सा छ, जसले कम्युनिष्टलाई मत दिंदैन भने रवि र बालेनलाई पनि रुचाउँदैन  । गगन नेतृत्वमा नआएको भए बाध्यात्मक विकल्पका रूपमा घण्टी रोज्ने तप्का हो यो । स्रोतका अनुसार यो यथार्थ बुझेका लामिछानेले शक्ति केन्द्रको आडमा निर्वाचन आयोगलाई देउवाको पक्षमा निर्णय गराउन दबाब दिएका हुन् ।   ‘एमालेको नेतृत्व ओलीकै हातमा गयो । कांग्रेस पनि देउवाको नेतृत्वमा गएको भए पुरानो र भ्रष्टाचारी पुस्ता भनेर ठुङ्गिरहन पाउने थिए’, समाचार स्रोत भन्छ, ‘गगनको नेतृत्वमा जाँदा उनले जेनजीको भावनालाई  संबोधन गर्छु भन्ने भए । यो सबै बुझेर देउवालाई आधिकारिकता दिलाउन दबाव सिर्जना गरेछन् ।’ 

गगन थापा सभापति भएसँगै आगामी चुनावमा काँग्रेसको तरल मत रास्वपाले चोर्न नसक्ने कतिपयको विश्लेषण छ । माघ २ गते रातिदेखि देशकै सबैभन्दा पुरानो र ठूलो दल कांग्रेसको नेतृत्व युवाको हातमा गएको छ । देउवादेखि शेखर कोइरालासम्मको पुरानै पुस्ता एकैचोटि बढारिएको छ । जेनजी आन्दोलनले खोजेको युवा नेतृत्व स्थापित हुँदा खास जेनजीको पार्टी कांग्रेस हुने भयो । अहिले देखिएको विवाद मिलाएर चुनावमा गयो भने कांग्रेस सबैभन्दा ठूलो पार्टी हुने सम्भावना बढेको छ । 

कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा अन्य पार्टीको चासो र हस्तक्षेप मज्जैले देखियो । एमाले अध्यक्ष केपी ओलीले पनि देउवालाई आधिकारिकता दिलाउन सक्दो प्रयास गरेका थिए । सार्वजनिक मञ्चबाटै ‘भीडको बलमा निर्णय गर्न पाइँदैन’ भनेर निर्वाचन आयोगलाई दबाब दिएका उनले भित्रभित्रै लबिङसमेत गरे । देशभरका महाधिवेशन प्रतिनिधिलाई भीड भन्ने हो भने एमालेले भृकुटीमण्डपमा के गरेको थियो ? भन्ने प्रश्न छँदैछ । 

अध्यक्षको निर्देशनमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग यसबारे सोधखोज गरेका थिए । तर, अपेक्षित जवाफ पाएनन् । विष्णुको चासोमा उनले भने– ‘प्रक्रिया पुर्‍याएर ल्याएका छन् । विशेष महाधिवेशन हुँदैछ भनेर १८ गते नै जानकारी पनि गराएका थिए । सबै प्रक्रिया टाकटुक पु¥याएर ल्याएपछि हामीले रोक्न मिल्दैन ।’

ओली र रविले देउवाको मायाले यसो गरेको भने होइन । जसरी रवि गगनलाई रोकेर आफू नयाँ पुस्ताको एकलौटी नेतृत्वका रुपमा स्थापित हुने चाहनाबाट प्रेरित थिए, ओलीको पनि बेग्लै स्वार्थ थियो । जेनजी आन्दोलनपछि सत्ताबाट बढारिएका उनलाई कुटाइ खाएर पनि देउवाले काँध हालेका थिए । प्रधानमन्त्रीको लोभ देखाएर प्रतिनिधिसभा विघटनविरुद्ध आफूसँगै उभ्याएका ओलीले चुनावी गठवन्धनका लागि पहिल्यै सहमत गराइसकेका थिए । दुई जनाबीच एक तहमा मोटामोटी समझदारीसमेत जुटिसकेको थियो । तर, गगनले मान्यता पाउनेबित्तिक्कै गठवन्धनको सम्भावना अन्त्य हुन्थ्यो । किनभने कांग्रेसभित्रको विवाद विभाजनको तहमा पुग्नुको एउटा मुख्य कारण त्यही थियो । 

रविको मुद्दा फिर्ता लिन महान्यायाधिवक्ता सविता भण्डारीलाई प्रयोग गरेकै शक्तिले निर्वाचन आयोगलाई प्रयोग गरेको एमालेको ठहर छ । देउवालाई हानेर ओलीलाई तर्साएको अर्थमा एमाले नेताहरूले यो घटनालाई व्याख्या गरेका छन् । 

(जनआस्था साप्ताहिकको माघ ७ गते बुधबारको अंकमा प्रकाशित)