सबै श्रेणीहरू

जेनजी प्रदर्शनपछि थुप्रै सैनिकको भागाभाग

जेनजी प्रदर्शनपछि थुप्रै सैनिकको भागाभाग

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि नेपाल प्रहरीमा राजीनामा दिने क्रम बढिरहँदा नेपाली सेनामा जानकारी नै नगराईकन सुइँकुच्चा ठोक्नेको संख्या ह्वात्तै बढेको छ । तीन साताको छुट्टी मागेर घर गएका सिपाही हरिश विष्ट भगौडामा परेका छन् । बिदा सकिएकै दुई साता बितिसक्दा पनि कार्यालय फर्किएनन् । दार्चुलाको मार्मा गाउँपालिका–४, मर्मतीका बिष्ट गत पुस ९ गतेदेखि घर बिदामा थिए ।

पुस २५ गते दिउँसो ४ बजे कार्यालय हाजिर हुनुपर्नेमा उनी नआएका हुन् । ब्याच नम्बर ३२६१२८ भएका उनी मानसिंह विष्टका नाति एवं पूर्णसिंह विष्टका छोरा हुन् । उनी बेपत्ता भएपछि सेनानी आनन्दकुमार श्रेष्ठले खोज्न प्रहरी गुहारेका छन् । बिदाको बहानामा गणबाट निस्किने र नफर्किने अर्का सिपाही हुन्–कृष्णबहादुर साउद । ब्याच नम्बर ३१६००८ भएका उनी रणचण्डी गणमा कार्यरत थिए । १० दिन घर बिदा मागेर पुस १८ गते निस्किएका उनी २७ गते हाजिर हुनुपर्ने थियो । दैलेखको डुङ्गेश्वर–४ बस्ने गम्भीर क्षेत्रीका नाति एवं तेजेन्द्र साउद क्षेत्रीका छोरा उनी नआएपछि सेनाले धुइँधुइँती खोज्न थालेको छ । सेनानी मल्लिकदास चौहानले कहीँ–कतै फेला परेमा समातेर बुझाउन भनेका छन् । नारायणदल गणका सिपाही प्रविन गोतामे पनि भागौडामा परेका छन् ।

लमजुङको सुन्दरबजार नगरपालिका–२ का आइते सार्कीका नाति एवं लुकबहादुरका छोरा उनी घरायसी समस्या दर्शाएर पुस २५ गते ब्यारेकबाट निस्किएका थिए । ब्याच नम्बर ३२६३५५ भएका उनी पुस २७ गते हाजिर हुनुपर्नेमा नआएपछि खोजी अगाडि बढाइएको छ । सिपाही राजेशकुमार यादवसमेत सम्पर्कविहिन छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ का लक्ष्मण यादवका नाति तथा देवनारायण यादवका छोरा हुन् । एक दिने घर बिदामा बसेका उनी कार्यालय नै आएका छैनन् । सबुज गणमा कार्यरत थिए । सिंह शार्दुल गुल्मका सिपाही निकित पुनमगरको कुनै खबर छैन । एक दिन बिदामा बसेका उनी कार्यालय आएनन् । 

कैलालीको टिकापुर नगरपालिका–१ वनगाउँका नरबहादुर पुनमगरका नाति एवं दिलबहादुरका छोरा उनी घरमा आपत परेको भन्दै पुस २९ गते छुट्टीमा गएका थिए । त्यसैदिन साँझ फर्किनुपर्नेमा आएनन् । सिपाही ज्ञानु थारु कोही नभएको मौका छोपेर गणको हाता नाघेर भागेका छन् । पुस २८ गते बिहान पहिलो परेडमा सहभागी भएका उनी दोस्रो परेडमा नआईकन तारबार नाघेर ब्यारेकबाट फरार भएका हुन् । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ का समशेरगञ्ज हजारी थारुका नाति एवं रामबहादुरका छोरा उनले आईडी कार्ड जवानको लाइनमा खसालेको अवस्थामा फेला परेको थियो ।

सहसेनानी दिपराज रावतले उनलाई खोजेर बुझाउन भनेका छन् । कपडा धुन गएका एक सिपाही पनि बेपत्ता भएका छन् । सिंहनाथ गण (कमाण्डो) मा सञ्चालित सि.सं.२१ कमाण्डो आधार तालिममा तालिमरत सिपाही डिलबहादुर गुरुङ कसैले सुइँको नपाउनेगरी भागेका हुन् । ब्याच नम्बर ३१५६३४ भएका उनी नारायणदल गणमा कार्यरत थिए । गोरखाको आरुघाट गाउँपालिका–१ का उनी पुस २८ गते लुगा लिएर धुन गएकोमा नफर्किएपछि गणको हाताभित्र धुइँधुइँती खोजियो । तर, कहीँ–कतै फेला नपरेपछि भागेको पुष्टि भएको हो । घरायसी समस्या देखाएर बिदामा बस्ने र नफर्किने सिपाहीमा नारायण खत्री पनि छन् । कैलालीको कैलारी गाउँपालिका–७ का लालबहादुर खत्रीका नाति एवं विमलका छोरा उनी चण्डीदल गणमा थिए । पुस २४ देखि ३० गतेसम्म घर बिदामा बसेका थिए ।

पुस ३० गते उपस्थित हुनुपर्ने उनको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । घरबिदामा गएका सिपाही वीरेन्द्र अधिकारी पनि फर्किएका छैनन् । दैलेखको डुङ्गेश्वर गाउँपालिका–३, छाना बस्ने टेकबहादुरका नाति एवं शेरबहादुर अधिकारीका छोरा उनी संग्राम शार्दुल गुल्ममा कार्यरत उनी मंसिर २९ गतेदेखि एक महिना बिदामा थिए । बिदा सकिएको हप्तौं बितिसक्दा पनि हाजिर भएका छैनन् । उपसेनानी सुशील दाहालले भेटेमा पक्राउ गर्न निर्देशन दिइसकेका छन् । सुर्खेतको चौकुने गाउँपालिका–६ का कृपाराम बुढाका नाति एवं गंगारामका छोरा सिपाही प्रशान्त बुढा पनि भगौडा २१ दिन घर बिदामा बसेका थिए । बिदा सकिएपछि पनि कार्यालय नआएपछि सेनाले उनलाई खोज्न थालेको छ । शेर गणमा कार्यरत उनलाई भेटाएमा समातेर बुझाउन खबर गरिएको छ । संयुक्त राष्ट्रसंघको मिसनका लागि लिबियामा खटिन छनौटमा परेका गुरुबक्स गुल्मअन्तर्गत शान्ति सेनाको आठौं डफ्फाका अमल्दार चहकमान राई आफूखुशी भगौडामा परेका छन् ।

उनी संखुवासभाको चैनपुर नगरपालिका–१० का चन्द्रबहादुर राईका नाति एवं दिलकुमारका छोरा हुन् । बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी विनिता कुमालको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । चितवनको भरतपुर महानगरपालिका–१८, गुन्जनगरका नहरबहादुर कुमालकी नातिनी एवं सोमबहादुरकी छोरी उनी पुस २६ गते घर बिदामा गएकी थिइन् । पुस २७ गते उपस्थित हुनुपर्नेमा नफर्किएको जनाइएको छ । कतै फेला परेमा नियन्त्रणमा लिन सेनानी सञ्जिता श्रेष्ठले निर्देशन दिएकी छन् ।

(जनआस्था साप्ताहिकको माघ ७ गते बुधबारको अंकमा प्रकाशित)