भेनेजुयलामाथि हस्तक्षेपपछि अमेरिकाले ग्रीनल्याण्ड र इरानमाथि नजर लगाएको छ । त्यसो त कोलम्बिया, मेक्सिको र क्युबालाई पनि धम्क्याउन छोडेको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पले खुल्लमखुल्ला अमेरिकी नीतिविपरीत चल्ने र अमेरिकालाई अप्ठेरो पार्ने जोसुकैलाई कारबाही गर्न पछि नहट्ने अडान दोहोर्याइसकेका छन् । उनले पनामाको स्वामित्व रहेको ८० किमी लामो नहर पनि हडप्ने भनेका छन् । क्यानाडासमेत उनको निशानामा परेको छ ।
बिश्वको ध्यान कम जाने मुलुकमा पर्छ ग्रीनल्याण्ड । यसको बाबजुद अमेरिका त्यसलाई आफ्नो ५१ औं राज्य बनाउन चाहन्छ, जबकि उक्त मुलुक युरोपेली राष्ट्र डेनमार्कको अधिनष्थ छ । अमेरिका र डेनमार्क दुबै उत्तरी एट्लान्टिक सन्धि संगठन ‘नेटो’ का सदस्य राष्ट्र हुन् । ३२ मुलुक सदस्य रहेको उक्त संगठनको मुख्य उद्देश्य हो, कुनै पनि सदस्यमाथि अरुले आक्रमण गरे सामुहिक मुकाबला गर्ने । ग्रीनल्याण्डलाई जबर्जस्ती गरेर भए पनि हडप्ने अमेरिकाको पछिल्लो आकांक्षाले भने एउटै संगठनभित्रका दुई मुलुकबीच नै युद्ध चर्कने सम्भावनालाई तीव्र पारेको छ, डेनमार्क र ग्रीनल्याण्डले पनि जबर्जस्ती गरिए मुकाबिला गर्ने उद्घोष गरिसकेका छन् । त्यति मात्र होइन, युद्ध भएमा फ्रान्स र जर्मनीजस्ता नेटोकै सदस्य राष्ट्रले डेनमार्कलाई सघाउने प्रतिबद्धता जनाएका छन् । उता, अमेरिका नेटोलाई दाउमा राखेर भए पनि ग्रीनल्याण्ड कब्जा गरी छाड्ने दाउमा छ । यदि ग्रीनल्याण्डको निम्ति अमेरिका र डेनमार्कबीच युद्ध भड्केमा नेटोको अवसान हुने पक्कापक्की छ ।
अमेरिकाले ग्रीनल्याण्डलाई सामरिक महत्वको मुलुक ठानेको छ । ट्रम्पले आफू कब्जा नगरे ग्रीनल्याण्ड रुस वा चीनको कब्जामा जाने तर्क गर्दैछन् । ग्रीनल्याण्ड अमेरिकाबाट ४ हजार ९ सय् १३ किमी टाढा छ भने रुस र ग्रीनल्याण्डको दूरी ४ हजार ३१ किमी छ । यो मुलुक चीनबाट ८ हजार ४ सय १० किमी टाढा छ । अहिलेसम्म ग्रीनल्याण्ड र उसको वरिपरि रुस र चीनको सैन्य उपस्थिति वा गतिविधि शून्य छ जबकि अमेरिकाले यहाँको उत्तरपश्चिम समुद्री तटमा पहिल्यैदेखि अन्तरिक्ष सैन्य अखाडा राखिराखेको छ, सन् १९५१ देखि नै । हालै ट्रम्पले भनेका छन्– ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङसँग मेरो राम्रो सम्बन्ध छ तर ग्रीनल्याण्डमा उनीहरुको उपस्थिति भने देख्न चाहन्न ।’
ग्रीनल्याण्ड बिश्वकै सबैभन्दा ठूलो (क्षेत्रफलमा नेपालभन्दा १५ गुणा ठूलो) टापु हो तर ८० प्रतिशत भूमि बरफले ढाकिएको छ । शहरहरु एकापसमा सडकले जोडिएका छैनन् । एकस्थानबाट अर्कोमा जान नौका, हेलिकप्टर वा हिउँकुकुरले तान्ने गाडामा सवार हुन अनिवार्य छ । २१ लाख वर्ग किमी क्षेत्र भएको यसको जम्माजम्मी १ सय २० किमी सडक छ, सबैभन्दा लामो सडकै मात्र ३५ किमीको छ । यहाँको उत्तरी भागमा वर्षमा २ महिना सूर्य अस्ताउँदैन अर्थात् २४ घण्टै घाम लाग्छ । जनवरीमा तापक्रम घटेर माइनस ३२ सम्म पुग्छ । सन् १९९१ को डिसेम्बरमा माइनस ७० डिग्रीसम्म पुगेको थियो । यहाँ ८८ प्रतिशत जनसंख्या कालालित जनजातिको छ भने १२ प्रतिशत डेनिस अर्थात डेनमार्कका । रुख बिरलै देख्न पाइन्छ । अर्धस्वशासित यो मुलुकको कूल जनसंख्या नै ५७ हजार मात्र छ । डेनमार्कको अधिनष्थ भए पनि छुट्टै संसद छ अनि निर्वाचित प्रधानमन्त्री पनि । यो ३ सय वर्षदेखि डेनमार्कको अधिनमा छ ।
अमेरिकाले ग्रीनल्याण्ड किन्न खोजेको थियो । उसले ७ सय् अर्ब डलर अफर गरेको थियो तर डेनमार्क र ग्रीनल्याण्ड दुबैले बिक्रीमा नभएको जवाफ फर्काएका थिए । यो टापु अमेरिकाले सन् १९५० को दशकमै किन्ने इच्छा प्रकट गरेको थियो । अहिले आएर यो विवाद चरमोत्कर्षमा पुगेको छ । अमेरिकाले बल प्रयोग गरेरै भए पनि ग्रीनल्याण्डलाई हडप्छु भनेपछि डेनमार्कले पनि ग्रीनल्याण्डमा अमेरिकी सैनिक देख्नेबित्तिकै गोली हान्ने आदेश आफ्नो सेनालाई दिइसकेको छ । उता, ग्रीनल्याण्डको सरकार र त्यहाँका जनताले कसैको भूभाग हुनै परे डेनमार्कको हुने तर अमेरिकाको कदापि हुन नदिने मत जाहेर गरेका छन् । ग्रीनल्याण्ड उत्तरी अटलाण्टिक महासागरमा, उत्तरी अमेरिका र युरोपको बीचमा अवस्थित छ, आर्कटिक सर्कलभित्र पर्छ ।
क्षेत्रफलको हिसाबले विश्वको १२ औं ठूलो देश हो यो । यहाँ बहुमूल्य युरेनियम, फलाम, तामा सिसा, चाँदी, सुन, तेल र जिंकको ठूलो भण्डार छ । यसबाहेक उच्च प्रविधिको उत्पादनमा नभै नहुने नियोडिमियम, डाइस्प्रोसियम जस्ता शक्तिशाली चुम्बकीय वस्तु पनि पाइन्छ । अमेरिका यसकारण पनि ग्रीनल्याण्डलाई आफ्नो भूभागमा गाभ्न चाहन्छ किनभने यी चुम्बकीय बस्तुमा ऊ चीनमाथि निर्भर छ । अमेरिकाले यसलाई रणनीतिक हिसाबले पनि महत्वपूर्ण क्षेत्र मान्दै आएको छ । यहाँबाट उसले रुस र चीनको सामरिक गतिविधि निगरानी गर्न खोजेको छ । ऊ आर्कटिक क्षेत्रमा पूर्णतः नियन्त्रण चाहन्छ । रुस र चीनलाई रोक्न चाहन्छ ।
अमेरिका भेनेजुयलाको तेल भण्डारमाथि प्रभुत्व जमाएसरह इरानमा पनि एकाधिकार कायम गर्न चाहन्छ । त्यसैले लगातार सैन्य आक्रमण गर्ने धम्की दिइरहेको छ । इरान मध्यपूर्वको एकमात्र आणविक हतियारसम्पन्न मुलुक हो । इरान शक्तिशाली रहेसम्म उसको अनन्य मित्र मुलुक इजरायललाई खतरा छ । तर, अमेरिकाको निम्ति इरानमाथिको आक्रमण भेनेजुयलाजति सहज छैन । इरान भेनेजुयलाजस्तो कमजोर मुलुक होइन, न भौगोलिक रुपले नजिक छ । त्यसैले त्यहाँ आन्तरिक उथलपुथल गराएर कट्टर धार्मिक सत्तालाई कमजोर बनाउन खोजिरहेको छ । सिआइएका एजेन्टहरुको घुसपैठ गराएर सरकारविरोधी आन्दोलन चर्काउँदै छ ।
पश्चिमा सुधारको माग गर्दै आन्दोलनमा उत्रेका आन्दोलनकारीहरुमाथि दमन गरेमा राम्रो नहुने धम्की दिइँदै छ । सन् १९७९ को क्रान्तिमा फालिएका अमेरिकी कठपुतली राजा मुहमद रेजा पहल्बीका पुत्र रेजा पहल्बीलाई उक्साइँदैछ । अन्तिम राजा मुहमद रेजा पहल्बीकी तेश्रो रानी फराह दिबा, जुम्ल्याहा बहिनी असरफ पहल्बी, पहिलो पत्नीतर्फकी छोरी सहनाज र फराहतर्फकी छोरी फरहनाजलाई आन्दोलनको पक्षमा बोल्न लगाइँदै छ । उनीहरुले इरानमा स्वतन्त्रता नभएको भन्दै महिलाहरुलाई सरकारविरुद्ध सडकमा उत्रन आह्वान गर्दैछन् । जबकि अमेरिकाले यस्तै आरोप लगाएर सत्ता पल्टाएको सिरिया, इराक, अफगानिस्तान, लिबिया आदी मुलुकमा अमेरिकी हस्तक्षेपपछि महिलाको दुर्दशा झन बिकराल बनेको छ । स्मरणीय छ, रेजा पहल्बी, पूर्व रानी र राजकुमारीहरु अमेरिकामै बस्छन् ।
अमेरिका इरानमाथि कब्जा जमाएर चीन र रुसलाई कमजोर पार्न चाहन्छ । इरान तेल र ग्यास उत्पादनमा तेस्रो ठूलो मुलुक हो । इरानी कच्चा तेलको प्रमुख खरिदकर्ता रुस र चीन हुन् । अमेरिकाले हालै कच्चा तेल उत्पादनमा पहिलो ठूलो मुलुक भेनेजुयलामाथि कब्जा जमाइसकेको छ । भेनेजुयलाको तेलको प्रमुख खरिदकर्ता पनि रुस र चीन नै हुन् । अमेरिका इरानमाथि नियन्त्रण जमाएर इरानलाई खण्डित पार्न चाहन्छ ताकि ऊ कहिल्यै शक्तिशाली बन्न नसकोस् । ऊ उत्तरी भूभागलाई दक्षिण अजरबैजान, दक्षिण तुर्कमेनिस्तान, पश्चिमी भूभागलाई कुर्दिस्तान र अरबिस्तान, दक्षिणपश्चिमलाई कासकैस्तान एवं दक्षिणपूर्वीलाई बलुचिस्तान बनाउन चाहन्छ । यो योजना अमेरिका र इजरायलको पुरानो प्लान हो । यसको एउटा नक्सा हालै सार्वजनिक भएको छ, जुन सिआइएले तयार पारेको भनिएको छ । उनीहरुको योजना हो, इरानलाई खण्डित बनाएर छिमेकी मुलुकहरुसित स्थायी गृहयुद्धमा फसाउने ।
अमेरिका इरानमाथि सैन्य आक्रमण यसकारण पनि गर्न चाहन्छ, किनभने मध्यएशियामा इरान मात्र यस्तो मुलुक हो जसले आफ्नै भूमिबाट लखेटिएका प्यालेष्टिनीहरु र इजरायली आतंकले आतंककारी बनेको समूह हमासलाई खुलेर समर्थन र सहयोग गर्दै आइरहेको छ । अमेरिका इरानमा भइरहेको आन्दोलन चर्काउन नोबेल शान्ति पुरस्कार बिजेता पाकिस्तानी युवटी युसुफ मलालालाई पनि प्रयोग गर्दैछ । गाजामा महिला र केटाकेटीमाथि दुब्र्यवहार र यातना दिइँदासमेत मौन बसेकी उनी इरानी मामिलामा बोल्न थालेकी छन् । उनी पनि अमेरिकामै बस्छिन् । उता, इरानी सरकार पनि आन्दोलनकारीमथि चर्को दमनमा उत्रेको छ । सरकारी दमनमा सयौंको मृत्यु भइसकेको छ । सरकार बिदेशी घुसपैठ भएको भन्दै आन्दोलनलाई शक्तिकै आडमा कुल्चने प्रयास गर्दैछ । २६ वर्षीय इरफान सोल्तनीलाई फाँसी दिइने कुरोले आन्दोलन थप उग्र बन्न पुगेको छ । इरफान गैर राजनीतिक ब्यक्ति हुन् । महंगी र सरकारी स्वेच्छारिताको बिरोध गर्दै सडकमा उत्रेका बेला पक्राउ परेका थिए ।