सबै श्रेणीहरू

बालेनको सामान घरमा सारियो,सुनिता क्वार्टर सर्दै

बालेनको सामान घरमा सारियो,सुनिता क्वार्टर सर्दै

बालेन्द्र (बालेन) साहले मेयर पदबाट राजीनामा दिएपछि उपमेयर सुनिता डंगोल स्वतः कार्यवाहक मेयर बनेकी छन् । २०७९ वैशाख ३० गतेको स्थानीय  निर्वाचनबाट मेयरमा निर्वाचित बालेनले फागुन २१ को संसदीय निर्वाचनमा भाग लिन गत माघ ४ गते राजीनामा दिएका थिए । 

उनले राजीनामा दिएपछि कार्यवाहक बनेकी सुनिताले उपनिर्वाचन नभएमा १५ महिना कायममुकायमको हैसियतमा काम गर्नेछिन् । बालेन हिँडेसँगै सुनिता मेयरको कार्यकक्षमा सर्ने तयारीमा छिन् । छिट्टै उनले आफ्नो कार्यकक्ष फेर्ने स्रोत बताउँछ । 

यता,बालेन बस्दै आएको सरकारी क्वार्टर खाली भएको छ । हिजो बालेनले गाडीका गाडी सामान लगेर क्वार्टर खाली गरेका हुन् । बालेनले आफ्नो सामान लगेसँगै सुनिताले आफ्नो सामान बाँध्न थालिसकेकी छन् । उनी यही हप्ता त्यहाँ सर्न लागेको स्रोतको जिकिर छ । 

बालेनले हिजो राति मात्र क्वार्टर छोडेकाले सामान रुजु हुन बाँकी छ ।

‘उपमेयरज्यू छिट्टै सरकारी क्वार्टरमा सर्ने तयारीमा हुनुहुन्छ । हिजोबाट क्वार्टर खाली भएको छ । कीर्तिपुरमा आफ्नो घर असजिलो भएको उहाँको भनाइ छ’,स्रोतले भन्यो । गैरीगाऊँस्थित बाजेको सेकुवाको ठ्याक्कै पछाडि घर भएका बालेन मेयर भएपछि लाजिम्पाटस्थित भारतीय  राजदूतावास छेउमा रहेको सरकारी निवासमा बस्दै आएका थिए । 

राजीनामा दिएको १० दिनपछि मात्र उनले सामान लगेका हुन् । स्रोतका अनुसार उक्त क्वार्टरमा शीतल निवास, प्रधानसेनापतिको कार्यालयमा भएकाभन्दा महङ्गा सामान हालिएको थियो । किनकी त्यहाँ पहिला उपराष्ट्रपति र सभामुख पनि बसेका थिए  ।

‘महानगरको पैसामा महङ्गा सामान हालिएको थियो ’,स्रोतले भन्यो । जेनजी प्रदर्शनपछि अवकाशमा गएका राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का तत्कालीन प्रमुख हुतराज थापाले पनि सरकारी सामान घरतिर कुदाएका थिए । 

शीतल निवासपछाडि गुप्तचरको प्रमुखका लागि बनाइएको क्वार्टरमा महङ्गा सामान थिए । हुतराजले भक्तपुरस्थित घर फर्किँदा कार्पेट,गमला, फ्रिज,टेबललगायतका सामान गाडीमा हालेर लगे । रुजु गर्दा नभेटिएको सामान  पछि नयाँ चिफ टेकेन्द्र कार्कीले फर्काउन लगाएका थिए । 
बालेनले हिजो राति मात्र क्वार्टर छोडेकाले सामान रुजु हुन बाँकी छ । उक्त निवासमा मुलुकका प्रथम उपराष्ट्रपति परमानन्द झा,सभामुख अग्नि सापकोटालगायत बसेका थिए । महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले कार्यवाहक प्रमुख डंगोल मेयरको कार्यकक्षमा सरिनसकेको जानकारी दिए । 

जनआस्थासँग भने,‘उहाँ सर्नुभएको छैन । अहिले दुवै जिम्मेवारी उहाँले निर्वाह गरिरहनुभएकोले जहाँ बस्नुभए पनि हुन्छ । त्यो सामान्य कुरा हो ।’