काठमाडौँबाट सञ्चालन हुने प्राइम टेलिभिजनका मालिक हुन्,ऋषि धमला । ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा अतिथिहरुलाई असान्दर्भिक तर रोचक प्रश्न गर्दै र्याख्-र्याख्ती पार्ने उनी यतिबेला भने आफै चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट रौतहट क्षेत्र नम्बर ४ मा उम्मेद्वारी दिएका धमला मनोनयन दर्ता गराएदेखि नै स्थानीयसँग भेटघाटमा व्यस्त देखिएका छन् । तर, उनको भेटघाटलाई समाजिक सञ्जालमा भने ट्रोल बनाइएको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेद्वारहरु स्थानीय मतदाता भेट्न घरघरमा पुग्नु सामान्य नै हो । तर धमलाले भने स्थानीय मतदातासँग नजिक हुन अण्टसण्ट हर्कत देखाएपछि ट्रोलको शिकार भएका हुन् । उनी घरी स्थानीयको साइकल थुतेर चलाउँछन्, त घरी सेल रोटी हाल्न पुग्छन् । घरी फर्निचरमा पुगेर आरा लगाउँछन् त घरी अस्वभाविक अंगालो हाल्न पुग्छन् । धमलाका यी हर्कतका फोटो तथा भिडियोहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।
स्मरण रहोस्, गत कात्तिक अन्तिम साता मोडल समेत रहेकी श्रीमती एलिजा गौतमलाई उपाध्यक्ष बनाएर जनादेश पार्टी खोलेका धमला एक महिना नबित्दै आम जनता पार्टीमा समाहित भएका थिए । पार्टीको समानुपातिक बन्द सूचीमा समेत उनै एलिजालाई पहिलो नम्बरमा राखिएको छ ।
यसरी धमला दम्पत्ति नै माननीय बन्न कस्सिएपछि धेरैले ट्रोल गरिरहेका छन्। यद्यपि, कतिपयले भने उनीहरुको प्रयासलाई सकारात्मक रुपमा लिएको देखिन्छ ।