सबै श्रेणीहरू

कुरै नबुझी कागको पछि दौडनेहरुसङ्ग केही प्रश्न

कुरै नबुझी कागको पछि दौडनेहरुसङ्ग केही प्रश्न

लोकप्रियतावाद र लोकतन्त्रलाई परस्पर विरोधी विचारधारा मानिन्छ । तथ्य र प्रमाणका आधारमा होइन सस्ता र आकर्षक कुरा गरेर जनमत आफूतिर तान्नु लोकप्रियतावादको प्रमुख विशेषता हो,जसले व्यक्तिको नायकत्वका बलमा परिवर्तनको सपना बाँड्ने गर्छ । 

जब समाजमा लोकप्रियतावादले टाउको उठाउँछ तब लोकतान्त्रिक मूल्य,मान्यता र आदर्शको ठाउँमा व्यक्तिलाई सर्वोपरी ठान्ने चिन्तन स्थापित हुँदै जान्छ । विश्वव्यापी रूपमा चलिरहेको लोकप्रियतावादको हावाले नेपाललाई पनि छोएको छ । वैकल्पिक शक्तिका नाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय यसैको परिणाम हो । 

राजनीतिमा विचार,सिद्धान्त,नीति तथा कार्यक्रम र निष्ठा ओझेलमा परेको छ । अमूक पात्रलाई हिरोइज्म शैलीमा जबर्जस्ती प्रस्तुत गरिँदैछ । भ्रम, प्रोपोगन्डा,हल्ला र फेक न्युज नै विचार निर्माणको माध्यम बनिरहेको छ । 'चिसो भनेकै कोकाकोला' भनेझै 'नयाँ भनेकै रास्वपा' भन्ने भाष्य स्थापित गरिँदैछ ।

पछिल्लो पटक दर्ता भएको कुलमान घिसिङ्गको उज्यालो नेपाल पार्टीभन्दा तीन वर्ष अगाडि खुलेको रास्वपालाई पुरानो मान्नुपर्ने हुन्छ । सरकार र संसदमा ऊ परीक्षण भैसकेको छ ।  

देश यतिबेला निर्वाचनको सम्मुखमा छ । दलका उम्मेदवारहरू चुनावी अभियानमा होमिएका छन् । तर,एजेन्डाकेन्द्रित होइन नयाँ र पुरानाको नाममा बहस हुँदैछ । पुरानाले केही पनि गरेनन्,नयाँलाई भोट दिनुपर्छ भन्ने 'ह्विम' ल्याइएको छ । प्रचार यसरी गरिएको छ कि राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेस,एमाले र माओवादीहरूको कुनै योगदान नै छैन । लोकतान्त्रिक आन्दोलनमा यी पार्टीहरूले कुनै भूमिका नै खेलेका थिएनन्,रवि लामिछानेहरूले अहिले उपभोग गरिरहेको लोकतन्त्र कुनै दैवी शक्तिको 'फु मन्तर' बाट प्राप्त भएको हो । 

पुराना पार्टीहरूले जनअपेक्षाअनुरुप काम गर्न नसकेकोमा दुई मत छैन । रास्वपाको उदय हुनुको एउटा कारण उनीहरूको असक्षमता पनि हो । त्यसैले इतिहासको ब्याज खाएर मात्रै अब कांग्रेस, एमाले र माओवादीको राजनीति चल्नेवाला छैन । तर,के पुराना दलका नेता खराब मात्रै छन् ? रास्वपा चाहिँ  दूधले नुहाएको पार्टी हो ?  नयाँ र पुरानाको भेद छुट्याउने आधार के हो ? यो आफैँमा विचारणीय प्रश्न छ ।

रास्वपाले निकै महत्वका साथ उम्मेदवार बनाएका अमरेशकुमार सिंहदेखि रहबर अन्सारीसम्म नयाँ होइनन् । २०६३ देखि निरन्तर सत्ता र शक्तिमा रहेका अमरेश दुई पटक कांग्रेसबाट संसद भएका थिए ।  

पार्टी भनेको बगिरहने खोलाजस्तै हो,त्यहाँ नीति र नेतृत्व निरन्तर नवीकरण भैरहन्छ । यदि दल दर्ता गरेकै मितिलाई आधार मानेर नयाँ र पुरानोको अर्थ लगाउने हो भने कुनै पनि पार्टी सँधै नयाँ भैरहँदैन । आज खुलेको पार्टी भोलि पुरानो हुन्छ । जस्तो, पछिल्लो पटक दर्ता भएको कुलमान घिसिङ्गको उज्यालो नेपाल पार्टीभन्दा तीन वर्ष अगाडि खुलेको रास्वपालाई पुरानो मान्नुपर्ने हुन्छ । सरकार र संसदमा ऊ परीक्षण भैसकेको छ । 

०७९ असारमा स्थापना भएको रास्वपा लगत्तै चुनावमा सहभागी भयो र २१ सिटसहित संसद्को चौथो शक्तिका रूपमा उदायो । 'नो, नट अगेन' को नारा लगाएर बनाएको संसदीय हैसियतको दुरुपयोग गर्दै पटक-पटक सत्तामा गयो । रवि लामिछाने आफैँ 'नाइँ,मलाई त्यही केटी चाहिन्छ' को शैलीमा दुई पटक उपप्रधानसहित गृहमन्त्री भए र कैयन नीतिगत निर्णयमा हस्ताक्षर गरे । कहिले प्रचण्ड त कहिले केपी ओलीसँग मिलेर गठवन्धन बनाउने र भत्काउने खेलमा प्रत्यक्ष सहभागी भए । 

यदि विचारका आधारमा नयाँ भन्ने हो भने वैचारिक स्पष्टता नभएको रास्वपा कसरी नयाँ भयो ? नेतृत्वको आचरण-व्यवहार हेर्ने हो भने सहकारी ठगीदेखि राहदानी दुरुपयोगको मुद्दा खेपिरहेका पात्रले नेतृत्व गरेको समूहलाई कसरी नयाँ मान्ने ? रास्वपाका नेता र उम्मेदवारहरूको अनुहार हेर्ने हो भने पनि नयाँ लाग्दैन । कांग्रेस,एमाले, माओवादीलगायत पुरानै पार्टीमा लिनुसम्म अवसर लिएर थप अवसरको खोजीमा घण्टी समात्न पुगेकाहरू त्यहाँ धेरै छन् ।

सबैभन्दा पुरानो पार्टी कांग्रेसको सभापति गगन थापा रविभन्दा दुई वर्ष कान्छा छन् । कांग्रेसले अधिकांश युवा र नयाँलाई टिकट दिएको छ । अघिल्ला निर्वाचनको तुलनामा एमाले र नेकपाले पनि युवा र नयाँलाई नै मौका दिएको देखिन्छ ।

रवि लामिछानेसहित अघिल्लो संसदमा रहेका २१ जना स्वत: नयाँ भएनन् । उपसभापति स्वर्णिम वाग्लेलाई पनि नयाँ भन्न मिल्दैन । कांग्रेस पृष्ठभूमिका उनी शेरबहादुर देउवाको निकट भएर पटक-पटक लाभको पदमा पुगेका पात्र हुन् । देउवा दाहिना भएकै कारण योजना आयोगको उपाध्यक्षसम्म खाएका उनी कांग्रेसले टिकट नदिएपछि ०८० सालको उपनिर्वाचनमा रास्वपा प्रवेश गरेका थिए । 

रास्वपाले निकै महत्वका साथ उम्मेदवार बनाएका अमरेशकुमार सिंहदेखि रहबर अन्सारीसम्म नयाँ होइनन् । २०६३ देखि निरन्तर सत्ता र शक्तिमा रहेका अमरेश दुई पटक कांग्रेसबाट संसद भएका थिए । गत चुनावमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेर जितेका उनलाई रास्वपाले पार्टीमा भित्र्याएर सर्लाही-४ मा गगन थापाविरुद्ध उतारेको छ । तत्कालीन माओवादी केन्द्रबाट मधेश प्रदेशको सांसद रहेका रहबरलाई पनि त्यसैगरी हाताहाती टिकट दिएर बारा–४ बाट उठाएको छ । 

यसअघि प्रदेश सांसद रहेका महन्थ ठाकुर नेतृत्वको लोसपाका कन्हैया बानियाँ रास्वपाबाट रूपन्देही–४ मा उम्मेदवार बनेका छन् । कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई हत्तपत्त पार्टी प्रवेश गराएर नवलपरासी–१ मा उम्मेदवार बनाइएको छ ।

रास्वपाले प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका पात्र बालेन्द्र (बालेन) साह पनि नयाँ होइनन् । ०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई काठमाडौँ महानगरको मेयर जितेका उनी  सरकार प्रमुखका रूपमा परीक्षण भैसकेका पात्र हुन् । एल्गोरिदमको दुनियाँमा उनलाई  'असाधारण पात्र' का रूपमा चर्चा गरिए पनि कार्यक्षमता भने त्यस्तो देखिंदैन । सार्वजनिक बहसमा रुचि नराख्ने र प्रश्नबाट निरन्तर तर्किंदै आएका उनको साढे ३ वर्षे कार्यकाल भत्काउने र डोजर चलाउनेमै बित्यो ।  

'गरिबको चमेली बोल्दिने कोही छैन' भाकाको गीत गाउँदै भोट लिएका बालेन्द्रमाथि गरिबको उठिबास लगाएको आरोप छ । चुनावी बाचा अलपत्र छोडेर प्रधानमन्त्री बन्न हिँडेका उनलाई भदौ २४ को विध्वंशका एक योजनाकार ठान्नेहरू धेरै छन् । 

अर्कोतिर,रास्वपाले आफूलाई युवा नेतृत्वकर्ताका रूपमा प्रस्तुत गर्दै युवा सेन्टिमेन्ट आफूतिर तान्ने प्रयास गरिरहेको छ । जबकि सबैभन्दा पुरानो पार्टी कांग्रेसको सभापति गगन थापा रविभन्दा दुई वर्ष कान्छा छन् । कांग्रेसले अधिकांश युवा र नयाँलाई टिकट दिएको छ । अघिल्ला निर्वाचनको तुलनामा एमाले र नेकपाले पनि युवा र नयाँलाई नै मौका दिएको देखिन्छ ।  
  
पार्टी सभापतिकै नेतृत्वमा पटक-पटक सरकारमा गएको,चुनाव,उपचुनावको चक्कर पार गरेर आएको,लाभका पदमा पुगेका पात्रहरूको बोलबाला रहेको अनि अन्य पार्टीमा अवसर नपाएपछि घण्टी खोज्दै आएकाहरूलाई थुपारेर रास्वपा कसरी नयाँ भयो ? स–साना कुरामा उद्वेलित भैहाल्ने र तत्काल परिवर्तन खोज्ने सामाजिक मनोविज्ञानले सत्य स्वीकार नगर्नसक्छ तर यो आजको यथार्थ हो । चुनाव जित्नुलाई नै सबैथोक ठान्ने हो भने कुनै समय नानीमैयाँ दाहाल र गोल्छे सार्कीको पनि रवि र बालेनहरूको भन्दा कम चर्चा थियो र ?

हाल अमेरिका बस्ने पत्रकार निल खड्काले फेसबुकमा लेखेका छन् : 

सर्लाही-४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहलाई हेरौँ !

• २०६३ को अन्तरिम संसदमा गिरिजा र प्रचण्डको सहमतिमा सांसद मनोनित । 
• २०७० को दोश्रो संविधानसभामा सर्लाही-६ बाट मधेसी जनअधिकार फोरमबाट निर्वाचित ।  
• २०७४ को आम निर्वाचनमा सर्लाही-४ बाट नेपाली कांग्रेसबाट सांसद निर्वाचित ।  
• २०७९ को निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि सर्लाही-४ बाट स्वतन्त्र सांसद निर्वाचित ।  
• २०८२ को आगामी निर्वाचनमा रास्वपामा प्रवेश गरी सर्लाही-४ बाट उम्मेदवार । 

झण्डै २० वर्षदेखि लगातार सांसद बनिरहेका अमरेशकुमार सिंहचाहिँ पुरानो नहुने ? अरूको हकमा ‘पुरानोलाई होइन,नयाँलाई हेर्नुपर्ने’ रास्वपामा प्रवेश गरेका कारण उनको हकमा चाहिँ त्यस्तो लागू नहुने ? आफ्नो स्वार्थअनुसार दल बदल्दै जसरी पनि सांसद बन्नै पर्ने स्वभावका उनी रास्वपामा प्रवेश गरेपछि चाहिँ शुद्ध र पवित्र हुने ?