पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र रवि लामिछानेको पार्टी रास्वपाद्वारा भावी प्रधानमन्त्रीका रूपमा प्रचारित काठमाडौँ महानगरका पूर्वमेयर बालेन्द्र (बालेन) साह प्रतिष्पर्धामा उत्रिएपछि झापा-५ चर्चाको केन्द्रमा छ । चुनावको मिति नजिकिँदै गर्दा त्यहाँको माहोल गर्माएको छ भने मतदाता निकै उत्साहित देखिएका छन् ।
जेनजी आन्दोलन भनिएको भदौ २३ र २४ को हिंसात्मक घटनापछि सत्ताबाट बढारिएका ओली र उक्त घटना निम्त्याउने पर्दा पछाडिका एक खेलाडी मानिएका बालेन आमनेसामने भएकाले पनि झापा-५ को चर्चा चुलिएको हो । तर,परिणाम कसको पक्षमा जान्छ ? अहिलेसम्म प्रष्ट चित्र आइसकेको छैन । एमालेका 'बा' र बालेनले प्रतिष्ठाको लडाइँ बनाएको यो निर्वाचन जित्न दुवैलाई केही सहजतासँगै ठूलो चुनौती पन्छाउनुपर्ने देखिन्छ ।
०४८ सालदेखि यही क्षेत्रबाट उठ्दै आएका ओलीको व्यक्तित्व,एमालेको बलियो संगठन र उनले गरेका विकास निर्माणका कामलाई जितको आधार मानिएको छ । एमालेको बलियो संगठन भएको जिल्ला हो झापा । ०४८ यताका आम निर्वाचनको परिणाम हेर्दा संगठनको बलमै उसले चुनाव जित्दै आएको इतिहास छ । गत चुनावमा समानुपातिकतर्फ सबैभन्दा बढी भोट ल्याउनुले पनि झापामा एमाले बलियो अवस्थामा रहेको देखिन्छ ।
एमालेको तुलनामा रास्वपाको संगठन बलियो नहुनु,बौद्धिक तप्त्काले खुलेर समर्थन नगर्नु र मतदातामाझ नयाँ अनुहार हुनु नै बालेनका लागि मुख्य चुनौती ठानिएको छ । चुनावी लहर आएका बेला 'स्विङ भोट' आफूतिर तान्ने एउटा कुरा, तर बिनासंगठन त्यसैको भरमा ओलीलाई हराउनु फलामको च्युरा चपाउनु सरह नहोला भन्न सकिन्न ।
तर,यो तीन वर्षमा राष्ट्रिय राजनीतिमा ठूलो उथलपुथल आइसकेको छ । ओली प्रधानमन्त्री भएका बेला जेनजी आन्दोलन भयो । उनीमाथि आन्दोलन दमन गरेको आरोप छ । अर्कोतिर, एमालेमा आन्तरिक एकता भत्किएको छ । पार्टीको जिम्मेवारी र टिकट वितरणमा काखापाखा गरेको भन्दै ओलीसँग थुप्रै नेता-कार्यकर्ता असन्तुष्ट छन् । जसका कारण तल्लो तहमा पहिलेको जस्तो उत्साह देखिंदैन । हिजोमात्र राष्ट्रिय युवासंघ दमक नगर कमिटीका अध्यक्ष र उपाध्यक्षले पार्टी छोडेर बालेनतिर लागेका थिए ।
सामाजिक सञ्जालको लोकप्रियताको आडमा राजनीतिक उचाइ बनाएका बालेनलाई पनि परिणाम आफ्नो पक्षमा पार्न केही सहजता र उत्तिकै चुनौती देखिन्छ । मतदाताको ठूलो हिस्सा पुराना दलप्रति असन्तुष्ट हुनु,युवा आकर्षण आफूतिर बढ्नु र घण्टीको पक्षमा पहिलेभन्दा माहोल राम्रो बन्दै जानुले ऊ उत्साहित छ । तर, यहाँको माटोसँग अपरिचित भएकाले चुनाव जित्न यो नै काफी नहुनसक्छ ।
एमालेको तुलनामा रास्वपाको संगठन बलियो नहुनु,बौद्धिक तप्त्काले खुलेर समर्थन नगर्नु र मतदातामाझ नयाँ अनुहार हुनु नै बालेनका लागि मुख्य चुनौती ठानिएको छ । चुनावी लहर आएका बेला 'स्विङ भोट' आफूतिर तान्ने एउटा कुरा, तर बिनासंगठन त्यसैको भरमा ओलीलाई हराउनु फलामको च्युरा चपाउनु सरह नहोला भन्न सकिन्न ।
झापाका ५ मध्ये क्षेत्र नम्बर २, ४ र ५ मा एमाले उम्मेदवार विजयी भएका थिए भने लोकप्रिय मतमा पहिलो भएको थियो । समानुपातिकतर्फ उसले १ लाख २७ हजार ७८० मत ल्याउँदा रास्वपा ७७ हजार ४४४ भोटसहित तेस्रो स्थानमा रह्यो । क्षेत्र नम्बर ५ मा ओलीले दोब्बर बढी मतान्तरले जितेका थिए ।
अहिले सरसर्ती हेर्दा युवाको मत बालेनलाई र बूढापाकाको ओलीलाई जाने देखिन्छ । तर,चुनाव तात्दै जाँदा के हुन्छ अहिले नै भन्न सकिंदैन भन्छन् स्थानीय पत्रकार पर्वत पोर्तेल । उनका अनुसार मतदाता अझै पर्ख र हेरको अवस्था रहेकाले चित्र आइसकेको छैन । समग्रमा 'ओलीलाई विगतको मत जोगाउन र बालेनलाई पुराना पार्टीका असन्तुष्ट मत आफूतिर तान्न' चुनौती हुनसक्ने अनुमान पोर्तेलले गरे ।
ओलीलाई संगठनको भर,बालेनलाई युवा
कम्युनिष्ट आन्दोलनको आधारभूमि झापालाई एमालेको लालकिल्ला मानिन्छ । गत निर्वाचनमा झापाका ५ मध्ये क्षेत्र नम्बर २, ४ र ५ मा एमाले उम्मेदवार विजयी भएका थिए भने लोकप्रिय मतमा पहिलो भएको थियो । समानुपातिकतर्फ उसले १ लाख २७ हजार ७८० मत ल्याउँदा रास्वपा ७७ हजार ४४४ भोटसहित तेस्रो स्थानमा रह्यो । क्षेत्र नम्बर ५ मा ओलीले दोब्बर बढी मतान्तरले जितेका थिए ।
२०७२ सालको संविधान जारी भए यताका दुई वटा निर्वाचनको परिणामलाई आधार मान्ने हो भने ओलीकै पल्लाभारी देखिन्छ । तर, दुवै निर्वाचनमा उनलाई अन्य दलले सघाएको यथार्थ पनि बिर्सनुहुँदैन । ०७४ मा एमाले र माओवादीबीच देशव्यापी गठवन्धन भएकाले झापा-५ मा पनि ओलीलाई सहज भएको थियो । ०७९ मा आफ्नो जित थप सुरक्षित बनाउन ३ नम्बर क्षेत्र राजेन्द्र लिङ्देनलाई छोडेर ५ नम्बरमा राप्रपाको भोट लिएका थिए ।
त्यतिबेला ओलीले ५२ हजार ३१९ मत ल्याउँदा निकटम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेका रास्वपा उम्मेदवार सुरेशकुमार पोखरेलले जम्मा ११ हजार ७५९ भोट पाए ।
महोत्तरी थातथलो भई काठमाडौँमा जन्मिएका बालेनसँग संसदीय राजनीतिको अनुभव छैन । काठमाडौँका मतदाता यिनले आफैँलाई भोट दिन पाउने छैनन् ।
मतदातासँग प्रत्यक्ष जोडिने स्थानीय तहमा पनि एमालेकै बर्चस्व छ । झापा-५ मा दमक नगरपालिका,कमल गाउँपालिका,गौरीगञ्ज गाउँपालिकाका वडा नं. ३, ४, ५ र ६ तथा गौरादह नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ पर्दछ । यसमध्ये गौरादहको मेयर र उपमेयरसहित चार वटा वडामा एमालेको नेतृत्व छ । गौरीगन्जको उपमेयरसहित तीन,कमल गाउँपालिकाको उपाध्यक्षसहित चार र दमकका सात जना वडाध्यक्ष एमालेका छन् ।
तीन वर्षअघिको यो परिणाम जोगाउनसके ओलीको जित कसैले रोक्न सक्दैन । तर,अहिले राष्ट्रिय राजनीतिक परिस्थितिमा ठूलो बदलाव आएको छ । अर्कोतिर,गत निर्वाचनमा राप्रपाको साथ पाएका ओलीलाई यसपटक अन्य पार्टीले सघाएका छैनन् । यहाँ कांग्रेस,माओवादी (नेकपा) र राप्रपाले आ-आफ्नै उम्मेदवार उठाएका छन् । यद्यपि, क्षेत्र नम्बर ३ मा लिङ्देनलाई सघाएर ५ मा राप्रपाको मत लिनेगरी भित्रभित्रै तालमेलको प्रयास भैरहेको बताइन्छ ।

राप्रपाको तर्फबाट दमकका मेयर राम थापाको सार्वजनिक अभिव्यक्तिले पनि दुई पार्टीबीच तालमेलको सम्भावनातर्फ संकेत गरेको छ । हिजोमात्रै उनले ओलीलाई राहत र बालेनलाई आहत हुनेगरी एउटा धारणा सार्वजनिक गरेका थिए । आफ्नो घर र नगरपालिका कार्यालय जलाउनेहरूले अहिले बालेनलाई चुनाव प्रचारको कार्यालय राख्न घर भाडामा दिएको उनले खुलासा गरेका थिए । दमकमा लोकप्रिय मानिएका थापाको यो टिप्पणीले भदौ २४ गते विध्वंशकारीलाई उकासेको आरोप खेपिरहेका बालेनलाई अप्ठेरो पार्नसक्ने कतिपयको विश्लेषण छ ।
अर्कोतिर,ओली संसदीय राजनीतिका पुराना खेलाडी हुन् । चुनाव जित्न साम,दाम,दण्ड,भेदको प्रयोग कसरी गर्नुपर्छ उनलाई थाहा छ । बालेन्द्रको हकमा यो उनको पहिलो संसदीय प्रतिष्पर्धा हो । महोत्तरी थातथलो भई काठमाडौँमा जन्मिएका उनीसँग संसदीय राजनीतिको अनुभव छैन । काठमाडौँका मतदाता यिनले आफैँलाई भोट दिन पाउने छैनन् ।
झापा-५ मा 'बा कि बालेन ? चर्चा र चासो बढिरहँदा हर्क साम्पाङ र दुर्गा प्रसाईं 'फ्याक्टर' ले पनि प्रभाव पार्नसक्ने आंकलन गरिएको छ ।
त्यसकारण उनको जितको आधार भनेको सामाजिक सञ्जालमा कमाएको लोकप्रियता मात्रै हो । खासगरी युवा मतदातामा देखिएको क्रेजलाई मतमा कन्भर्ट गर्न सके उनको पल्लाभारी हुनसक्ने विश्लेषण भैरहेको छ । सञ्जाल र सडकमा अहिले देखिएको समर्थन ब्यालेट बक्समा व्यक्त भयो भने प्रतिष्पर्धा रोचक हुने विश्लेषकहरू बताउँछन् ।
बाहिरबाट हेर्दा बालेनको पक्षमा जनलहर उर्लिएकोजस्तो देखिए पनि भूगोलको वास्तविकता ठ्याक्कै त्यस्तो नरहेको बताउँछन्,पुराना नेता चन्द्र भण्डारी । मनोनयन दर्ताको दिन देखिएको माहोललाई आधार मानेर परिणामको आंकलन गर्नु हतारो हुने उनको बुझाइ छ । यद्यपि पूर्व प्रधानमन्त्रीलाई पूर्व मेयरले राम्रै चुनौती दिनेमा भने उनी ढुक्क थिए ।
मनोनयन दर्ताको दिन बालेनका पक्षमा सडकमा ठूलो भीड देखिएको थियो । तर,जुलुशमा देखिएका अधिकांश जिल्ला बाहिरका थिए । काठमाडौँबाट गएका युट्युबरदेखि विराटनगर,जनकपुर र मधेश प्रदेशका कतिपय जिल्लाबाट लगिएका युवाहरूको संख्या धेरै देखिन्थ्यो । कतिपयचाहिँ बालेनलाई हेर्नका लागि जुलुशमा मिसिएका थिए । काठमाण्डौको मेयर हुँदासम्म बाहिर ननिस्किएका,छुट्टै लिफ्ट चढेर कार्यकक्षमा छिर्ने र जनतासँग आँखा जुधाएर संवाद नगर्ने बालेन कस्ता होलान् भन्ने हिसाबले हेर्नका लागि एमालेकै कार्यकर्तासमेत जुलुशमा देखिएको बताइन्छ ।
'रास्वपालाई आफ्नो माहोल देखाउनु थियो । त्यसैले उसले सबै शक्ति ५ नम्बरमा केन्द्रित गर्यो थियो', पत्रकार पोर्तेलले भने, 'अरु क्षेत्रमा नोमिनेशन फाइल गर्न गएका उम्मेदवार र अन्य केही व्यक्तिबाहेक सबै त्यतै ओइरिएका थिए ।'
बालेनले झापा पुगेकै दिन किराँत धर्मगुरु आत्मानन्द लिङ्गदेनलाई भेटेर आशिर्वाद लिए । मनोनयन दर्ता गर्नेबित्तिकै आश्रममा पुगेर ढोगेका उनले उक्त धार्मिक समुदायको मन जित्न खोजेको बुझिन्छ । किराँत धर्मावलम्बीहरूद्वारा सत्य,शान्ति र अहिंसाका उपासकका रुपमा पुजिने आत्मानन्दसँग अरू नेताहरूले पनि आशिर्वाद लिने गरेका छन् ।
हर्क र दुर्गा निर्णायक
झापा-५ मा 'बा कि बालेन ? चर्चा र चासो बढिरहँदा हर्क साम्पाङ र दुर्गा प्रसाईं 'फ्याक्टर' ले पनि प्रभाव पार्नसक्ने आंकलन गरिएको छ । हजारौँ युवालाई रोजगारी दिएका दुर्गाको झापा जिल्लामा व्यक्तिगत प्रभाव छ भनिन्छ । उनले ३ देखि ५ हजारसम्म मत प्रभावित पार्नसक्ने अनुमान स्थानीयले गरेका छन् ।
खासगरी लघुवित्त पीडित र सुकुम्बासीहरूको एउटा तप्का दुर्गासँग नजिक छ । बालेनप्रति कटाक्ष गरिरहेका उनले अहिलेसम्म कसलाई समर्थन गर्ने भनेर मुख खोलिसकेका छैनन् । दुर्गालाई आफूतिर तान्न ओलीले भित्रभित्र पहल गरिरहेको बुझिएको छ ।
यता,माटो चिन्ह लिएर चुनावमा होमिएका धरानका पूर्व मेयर हर्कको कोशी प्रदेशका पहाडी जिल्लामा राम्रै प्रभाव देखिन्छ । दमकमा पहाडबाट बसाइँ सरेर आएका जनजाति मतदाताको ठूलो संख्या छ । वैकल्पिक शक्तितिर झुकाव राख्ने त्यो मत माटोमा गयो भने ओलीलाई सहज हुनसक्छ ।
'पहाडबाट आएका दमकका जनजातिहरूको मत नै निर्णायक हुनसक्छ । यदि त्यो भोट हर्कले होल्ड गरे भने बालेनलाई कठिन छ', पोर्तेल भन्छन्, 'हर्क साम्पाङ आफ्नो उम्मेदवारलाई जिताउन दमक नै आएर बस्ने भन्ने कुरा सुनिएको छ । त्यो स्थितिमा बढी मत बालेनकै काटिने देखिन्छ ।'