सबै श्रेणीहरू

एउटा मन्त्रीले सम्झाएपछि बल्ल अर्का मन्त्रीको राजीनामा

एउटा मन्त्रीले सम्झाएपछि बल्ल अर्का मन्त्रीको राजीनामा

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका तत्कालीन एक मन्त्रीले पदबाट राजीनामा नदिइकनै चुनाव उठ्न खोजेको तथ्य खुलेको छ । आफूलाई सुशासनको पक्षधर दावी गर्ने 'जेनजी मन्त्री' भनिएका बब्लु गुप्ताले राजीनामा नदिई उम्मेदवारी मनोनयन दर्ता गर्न खोजेको र अर्का मन्त्रीले त्यसो नगर्न सल्लाह दिएको कुरा अहिले आएर खुलेको हो ।  

उम्मेदवारी मनोनयनको अघिल्लो दिन माघ ५ गते नै गुप्ता झण्डावाल गाडी लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी सभामा भाग लिन पुगेका थिए । बा १ झ ८७६१ नम्बरको उक्त गाडी पहिला ओली सरकारका भूमि ब्यवस्था मन्त्री बलराम अधिकारीले चढ्थे ।

 सिराहाको लाहानमा आयोजित सभामा भाषण गरेर भोलिपल्ट त्यतैबाट निर्वाचन अधिकृतको कार्यालय गई नोमिनेशन फाइल गर्ने उनको तयारी थियो ।

"मञ्चमा अतिथि आसन ग्रहण गरिरहेका बेला फोन आएपछि शुरुमा राजीनामा दिन अन्कनाएका उनी पछि तयार भए । " 

गैरदलीय सरकारका मन्त्री झण्डावाल गाडी लिएर पार्टीको कार्यक्रममा भाषण गर्न पुगेको सूचना तत्काल सिंहदरबार आइपुग्यो । त्यतैबाट केही जेनजीले अर्थमन्त्री रामेश्वर खनाललाई फोन गरेर त्यसबारे जानकारी गराएका थिए । त्यसपछि खनालले बब्लुलाई फोन गरेर राजीनामा दिन र गाडी फिर्ता गर्न सल्लाह दिएको बताइएको छ । 

स्रोतका अनुसार अर्थमन्त्रीको फोन आउँदा गुप्ता चुनावी सभामै थिए । मञ्चमा अतिथि आसन ग्रहण गरिरहेका बेला फोन आएपछि शुरुमा राजीनामा दिन अन्कनाएका उनी पछि तयार भए । 

'तपाईं जेनजीको अगुवा बनेर मुलुक परिवर्तन गर्न हिँडेको मान्छे हो, राजीनामा नदिई चुनावमा उठ्दा प्रश्न उठ्छ' भनेर अर्थमन्त्रीले सम्झाएपछि बब्लुले पाँच मीनेटमै प्रधानमन्त्री कार्यालयमा ह्वाट्सअपमार्फत राजीनामा पठाएका थिए ।