सबै श्रेणीहरू

आफ्नै मान्छे अन्तरघाती निस्किएपछि

आफ्नै मान्छे अन्तरघाती निस्किएपछि

प्राचीन रोमन गणराज्यको कुख्यात ब्रुटसको अवतार नेपाल गणराज्यमा देखिन थालेको छ । जुलियस सिजरको हत्या गर्न आएकाहरूको हुलमा छोरासरह प्रेम गरेको सबैभन्दा प्रिय पात्र ब्रुटसलाई देखेपछि सिजरले भनेका थिए, एट टु ब्रुटे ? अर्थात, ए तँ पनि मतियार बनेको छस् ? सिजरले मारिनुअघि बोलेको वाक्य हो यो । करुणा, घृणा र आवेगले भरिएको एट टु ब्रुटे अहिले पनि पश्चिमी राजनीतिक बृत्तमा सबैभन्दा घृणा र पश्चातापको वाक्य मानिन्छ । 

कस्तो संयोग ? कतै त्यही वाक्य यतिखेर पूर्व र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा तथा सुशीला कार्कीहरू फुस्फुसाइरहेका त छैनन् । तपाईंले सुन्नुभयो ? एट टु प्रकाशशरण, विमलेन्द्र निधि, ज्ञानेन्द्र कार्की, रमेश लेखक, एन्पी साउद, विजयकुमार गच्छदार, रामहरि खतिवडा आदि आदि । एट टु कुलमान, जगदिश, बब्लु अनि महावीर !

नेपाली कांग्रेसमा विधानबमोजिम विशेष महाधिवेशन हुन नदिएर गगन थापा, विश्वप्रकाश शर्माहरूलाई पार्टीबाट निश्कासन गर्न शेरबहादुर÷पूर्णबहादुरलाई उक्साउनेहरू गगन÷विश्वलाई निर्वाचन आयोगले मान्यता दिएपछि सर्वोच्च अदालतमा मुद्धा हाल्नसमेत पुगे । अदालतले उजुरी केलाउन नपाउँदै निवेदनमा हस्ताक्षर गरेर जेन्जी आन्दोलनमा खरानी बनेको सर्वोच्च अदालत पुगेकाहरूले नै गगनको चरणमा शरणागत गरेका छन् । 

गगनले हस्ताक्षर गरेको उम्मेदवार पत्र पाउनेबित्तिकै शेर/पूर्णलाई सिनोलाई उपियाँले छाडेर हिंडेजस्तै गरेका छन् दायाँबायाँ परजीवीहरूले । बहालवाला प्राइममिनिष्टरलाई मारेर अर्को राणाले झ्याली पिट्न नपाउँदै पुरानाको लाशमा टेकी नयाँलाई ढोग्न बुर्कुसी मारेभन्दा तीब्र गतिमा शेरबहादुरका हुक्के बैठकेहरू गगनको उम्मेदवार बन्न कुदेपछि तिनलाई ‘एट टु ब्रुटे’ नभनेर के भन्नु ? त्यसैगरी सुशीला कार्की नेतृत्वको सरकारमा निर्वाचन गराउन सहभागी भएका मन्त्रीहरूले भटाभट उनलाई निरीह बनाउँदै राजीनामा दिएर उम्मेदवार बन्न थालेकाले तिनलाई पनि ‘एट टु ब्रुटे’ भन्नु नै उपयुक्त होइन ? कुन आँखा, कुन मुख, कुन हात थापेर र कुन धर्ती टेकेर यिनले देउवा र कार्कीलाई यो धरतीबाट उचालेका होलान् ? कुन धर्ती र कुन आकाशको गफ दिएका होलान् ? यस्ता ब्रुटेलाई पनि मतदाताले माफी देलान् र ? 

नकचराहरूको ओखती औषधि विज्ञानले शायद अझै बनाइसकेको छैन ! बनाएको भए ती अस्पताल भर्ना भैसकेका हुनेथिए ! त्यसैले यो हदसम्मको निचतामा उत्रिन सकेका होलान् ...हुँदाहुँदा बाह्रसत्ताइस कुरा गरेर निर्वाचन अवधिभरको लागि शिक्षामन्त्री बनेको हुँ भन्न नथाक्ने महावीरले पनि म्याग्दीबाट राजीनामा पठाएको देख्नु पर्‍यो । यिनीहरूले मुख हो कि अर्को अंग कहाँबाट बोलेका हुन् छुट्याउन सकिएन ! स्मरणीय नै छ, ब्याटल अफ फिलिपमा पराजित भएपछि भगौडा ब्रुटसले आत्महत्या गरेर इहलीला समाप्त गर्नुपरेको थियो ।

घोषणा गरिएको मितिमा निर्वाचन भयो भने जनताले ‘ब्याटल अफ नेपाली इलेक्सन’ मा नेपाली ब्रुटसहरूलाई कसरी पराजित गर्छन् हेर्नलाई अब दुईवीस दिन मात्र कुरे पुग्छ । तर के घोषणा गरिएको मितिमै चुनाव हुन्छ ? राजनीतिशास्त्रका एक प्राध्यापकले भने– सेनाले गराउने हो चुनाव ? 

लोकोक्ति नै छ, डुब्न लागेको जहाजलाई मुसाको त के कुरा, कमिलाले पनि छोडिदिन्छ । डुबेर मर्न कोही चाहँदैन । स्वार्थ आधारित एकता धेरै दिन टिक्दैन । विचारको पतनपछि ब्यक्तिगत स्वार्थ मात्र रहन्छ । शेरबहादुर देउवा अर्थात् कांग्रेसको संस्थापन पक्षलाई विशेष महाधिवेशन नगर्न औंला हालेर उक्साउनेहरू को को हुन् ? नियमित महाधिवेशन भनेर गर्न कसले रोकेको थियो ? गगन/विश्वको जवर्जस्त विशेष महाधिवेशनपछि पार्टीबाटै निश्कासन गर्न उक्साउने तिनीहरू नै होइनन् ? गगनहरूलाई निर्वाचन आयोगले मान्यता दिएपछि केन्द्रीय समितिको बैठक गरेर सर्वोच्च अदालत पुग्ने कोको हुन् ? पार्टी प्रवक्तादेखि कार्यवाहक सभापतिसम्म अदालत पुगेर गगन÷विश्वलाई अवैध बनाउन मात्र लागेनन्, सशक्त आन्दोलनको  घोषणासम्म गर्न पुगेका होइनन् ? तर हस्ताक्षर गरेको मसी नसुक्दै गगनले पुच्छ्रेसही गरेर दिएको उम्मेदवारको पर्चा बोकेर निर्वाचन क्षेत्र पुग्ने कोको हुन् ? शेरबहादुर देउवा र पूर्णबहादुर खड्का मात्र कांग्रेस संस्थापन पक्षमा एक्लिएका हुन् ? 

विचार र नैतिकताको घनघोर पतनको ज्वलन्त उदाहरण हो नेपाली ब्रुटस छद्मभेषी परजीवीहरू ! वैचारिक पतनको यो यस्तो तुच्छ आपत्तीजनक अवस्था हो, जसको चर्चा गर्दा पनि नकारात्मक भाव उत्पन्न हुन्छ । बचेखुचेको सकारात्मक भावलाई पनि यसले प्रदूषित बनाउँछ । बैचारिक मूल्य, मान्यता र त्यसको पालनाले मात्र विश्वासलाई बढाउँछ । यसले मात्रै सच्चा ऐक्यवद्धतालाई प्रवद्र्धन गर्छ । यदि तपाईंसँग बैचारिक स्पष्टता छैन भने कुनै पनि बेला खाल्डोमा जाकिन सक्नुहुन्छ । विचार नभएको ब्यक्ति विचार भएको ब्यक्तिभन्दा धेरै पछाडि नै छुटिसक्छ । समकक्षमा आउनै सक्दैन, असम्भव हुन्छ । ब्रुटस भने स्वार्थ मिल्नेसंग लहसिंदै जान्छ । चुनाव आयो भने नीतिमा प्रतिस्पर्धा होइन, स्वार्थमा भासिन पुग्छ । उसमा भएको क्षमता नै कमजोर बन्दै जान्छ । र, अन्ततः उसको सर्वनाश हुन्छ । ब्रुटस संसदमा पुग्यो भने पनि ह्वीप लगाएर मात्र विधेयक पास गर्नतिर लाग्छ । हुँदाहुँदा नागरिकता विधेयकलाई पनि रामचन्द्र पौडेलले जसरी अर्थ विधेयकको चांगमा मिसाएर पास गर्न अभिप्रेरित हुन्छ । लोकतन्त्रमा के गर्न हुन्छ र हुँदैन भन्ने विवेक उसमा रहँदैन ।

देशको जेठोबाठो लोकतान्त्रिक पार्टी पतनको यो अवस्थासम्म आइपुग्नुमा नीति, सिद्धान्त र कार्यक्रममा कहिल्यै छलफल तथा विचार विमर्श नहुनु नै हो । पार्टीमा स्थापित हुन र लोकप्रिय बन्न जनतामा राजनीतिक चेतना विस्तारित गर्न, पार्टीलाई चेतनाको पुञ्ज बनाउन, नीति सिद्धान्त र कार्यक्रमप्रति प्रतिवद्ध बन्न, जनतासंग संवाद गर्न र जनआकांक्षालाई नीतिगत रूपमा नवीकरण गरिरहनु पर्छ । तर पछिल्लो दशक पार्टीभित्र बहुचर्चित नेताहरूको नाम भट्याएर कहिले महामानव, कहिले सन्त र कहिले फादर अफ डेमोक्रेसी भन्ने विशेषण घोक्ने नक्कली पाठ्यक्रमलाई नै निरन्तरता दिइयो ।

त्यसैलाई अगाडि सारियो । त्यसैमा कार्यकर्ता र समर्थकलाई शिक्षित र दीक्षित पार्न स्रोत, साधनको सर्वनाश गरियो । वास्तविक नीति, सिद्धान्त र कार्यक्रमलाई विर्खे टोपी लगाइयो । केही नाम दोहोर्‍याइ तेहर्‍याइ मात्र होइन, सयौंर्‍याइ गर्दै जसले नेताहरूको परिक्रमा गर्ने, खाने पिउने र पियाउने गर्न सक्छ ऊ जत्तिको राष्ट्रियता, प्रजातन्त्र र समाजवादी अरू कोही नठहरिने संस्कारकै विकास गरियो । जे रोप्यो त्यही फल्ने हो । निमको विरुवा रोपेर गुलियो आँप न फल्छ न त त्यसको रसस्वादन गर्न पाइन्छ । छद्मभेषी ब्रुटसहरूले शेरबहादुर, सुशीला मात्रै होइन केपी ओली, बालेन, प्रचण्डहरूलाई पनि नारायणहरि बनाइदिन सक्छन् !

(जनआस्था साप्ताहिकको माघ ७ गते बुधबारको अंकमा प्रकाशित)