तल गएर हार-जीतको हिसाब कसले निकाल्ने ?

तल गएर हार-जीतको हिसाब कसले निकाल्ने ?

गठबन्धनका कारण अपेक्षाकृत परिणाम ल्याउन नसकेको भन्दै असन्तुष्ट रहेको नेकपा एकीकृत समाजवादीले चुनावी समीक्षा थालेको छ । समाजवादीको असन्तुष्टीले सत्ता गठबन्धनको भविष्यबारे आशंका भैरहेका बेला उसले वस्तुनिष्ठ समीक्षा गर्न सातै प्रदेशबाट सूचना सङ्कलनका लागि शीर्ष नेताहरूलाई खटाउने निर्णयसमेत गरेको छ ।

तल्ला कमिटीबाट अझै सम्पूर्ण सूचना नआएकाले चुनावी समीक्षा हुन नसकेको भन्दै ५ दिनभित्र सूचना संकलन गरी बैठकमा पेश गर्न प्रदेशमा एक-एक जना सचिवालय सदस्यलाई खटाइएको उपमहासचिव गंगालाल तुलाधरले बताउनुभयो । उहाँका अनुसार प्रदेश–१ मा जयन्ती राई,मधेशमा रामचन्द्र झा,बागमतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा बेदुराम भुसाललाई सूचना संकलन गर्नका लागि जिम्मेवारी तोकिएको छ ।

समाजवादीले स्थानीय तह निर्वाचनको समीक्षालाई गठबन्धनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिका र आगामी कार्ययोजनासँग जोडेर छलफल थालेको बताईएको छ । नेता तुलाधरले संगठनात्मक आधार हुँदा-हुँदै गठबन्धनभित्र आफूहरूमाथि सम्मानजनक व्यवहार नभएकोलगायतका सवालमा सत्ता गठबन्धनमा रहेका दलमा छलफलको विषय बनाउने पार्टीको निर्णय छ ।

आफूहरू गठबन्धनप्रति इमान्दार भए पनि अन्य दलबाट धोखा भएको प्रारम्भिक रिपोर्ट आएको र त्यसलाई निष्कर्ष दिनुअघि फिल्डबाट तथ्य संकलन गर्न लागिएको तुलाधरले बताउनुभयो ।

स्थानीय चुनावपछि सत्ता गठबन्धनको निरन्तरता र सम्भावित वाम गठबन्धनको चर्चा भैरहेका बेला शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार र पाँचदलीय गठबन्धन बनाउन निर्णायक भूमिका खेलेको समाजवादीको पछिल्लो निर्णयलाई महत्वका साथ हेरिएको छ ।

टिप्पणीहरू