एक वर्षसम्म पनि बन्न सकेन मेलम्चीमा पक्की पुल

एक वर्षसम्म पनि बन्न सकेन मेलम्चीमा पक्की पुल

पोहोर साल सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले वितण्डा मच्चायो । मनसुन सुरु भएलगत्तै आएको बाढीले धेरै धनजनको क्षति भयो । जीवनकालमा कहिल्यै नदेखेको विपद् सो वर्ष मेलम्चीवासीले भोग्नुपप्यो । मेलम्ची बजारलाई नै उठीबास लगाइदिने गरी नदी उर्लियो ।

पक्की घरहरु गल्यामगुर्लुम ढले । बाटोघाटो, पुल सबै ध्वस्तै भयो । मेलम्चीवासीको घरभित्र नदी पसेको थियो । भीषण बाढीका कारण त्यहाँका हजारौं घरपरिवार विस्थापित भए । पानी छिनछिनमै घट्ने र बढ्ने भइरहेको थियो ।

गत वर्ष आएको बाढी अझैपनि स्मरणीय छ । फेरिपनि मनसुन सुरु भएको छ । मेलम्ची नदीको विकराल रौद्ररुप पुन देखिने त होइन् भन्ने त्रासले मेलम्चीका स्थानीय पिरोलिएका छन् । मुसलधारे वर्षाका कारण गत साल गएको बाढीले थुप्रै पुलहरु भत्काएको छ । तीमध्ये एक हो आठ वटा वडा जोड्ने पक्की पुल ।

सो पुलबाट इन्द्रावती गाउँपालिकाको दुई वडाका सर्वसाधारण ओहोरदोहोर गर्थे । त्यसैगरी, मेलम्ची नगरपालिका–२, हेलम्बु गाउँपालिका– ३, पाँचपोखरी थाङपाल गाउँपालिका–२ र चौतारा वारपार गर्ने पुल पनि त्यही हो । हाल उक्त क्षेत्रमा अस्थायी पुल बनाइएको छ ।

२२ वटा ह्युमपाइप राखेर ३० लाख लागतमा अस्थायी पुलको निर्माण भएको छ । एउटा ह्युमपाइप राख्नका लागि एक लाख २६ हजार रुपैंया खर्च भएको बताइन्छ । तर, वर्षदिन हुन लागिसक्दा पनि सरकारी निकायले पक्की पुल बनाउनका लागि कुनै योजना अघि सारेको छैन् ।

मनसुन सुरु भएसंगै अस्थायी पुल बगाउने त्यहाका स्थानीयहरु बताउछन् । फेरिपनि झोलुङगे पुलको सहायताबाट वारपार गर्नुपर्ने बाध्यता मेलम्चीवासीलाई आइपरेको छ । बर्खा बढेसंगै पानीको बहाव बढ्ने भएकाले सो पुल बगाउने निश्चित छ ।

यता, मेलम्ची नगरपालिका वडा नं ११ का निवर्तमान वडाध्यक्ष रुद्र दुलालले यान्त्रिक पुल बनाउन पटकपटक सरकारसामु प्रस्ताव राखेपनि सुनुवाइ नभएको बताए । ‘सरकार पनि त्यस्तै छ’, उनले भने ‘ जनताको दुःख देख्दैन् । एउटै कुरा पटकपटक भनेका हौ । तर, अहिलेसम्म कुनै हलचल भएको छैन् ।’

यसअघि यान्त्रिक पुल बनाउने भनेर सर्वे गरेपनि हालसम्म पनि काम सुरु भएको छैन् । नगरपालिकाले साढे दुई करोड रुपैंया खर्च गरेर नदी गहिराए पनि यसले खासै काम गर्ने देखिदैन् । नगरले नदीमा जाली हाल्नेलगायतको काम गरेको छ । तर, यो सबै आँखाको छारो झोक्न काम मात्र भएको स्थानीयवासीहरुको आरोप छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विपद् न्युनिकरणको लागि १० करोड रुपैंया सहयोग गर्ने भनेपनि हालसम्म पनि उपलब्ध नगराएको निवर्तमान वडाध्यक्ष दूलाल बताउछन् । नगरपालिकाले विपद् व्यवस्थापनका लागि पाँच वटा समिति बनाएको छ । तर, समितिले विपद् व्यवस्थापनका लागि योजना ल्याएको पाइदैन् ।

वडाध्यक्ष दूलालका अनुसार अब उक्त अस्थायी पुल निकालिनेछ । उक्त पुल हटाएपछि मेलम्चीवासी झोलुङगे पुलको भर पर्नुपर्नेछ । बाटो पनि सबै कच्ची भएको र धेरै फन्को लगाउनुपर्ने भएकाले उनीहरु थप मारमा पर्छन् । अस्पताल जान पनि निकै सकस खेप्नुपर्छ, एक स्थानीयले भने ।

एम्बुलेन्स छिर्ने सडक नभएकाले अलिक टाढाको अस्पताल जानका लागि हेलिकप्टर बुकिङ गर्नुपर्ने स्थिति जाइलागेको स्थानीय डम्बर रसिक भारतीले बताए । भएको सडकको स्थिति पनि हेर्ने लायक नभएको उनको भनाइ छ । उनको अनुसार मेलम्ची नदीको सतह बढिसकेको छ ।

पोहोरको बाढीले शिथिल बनाएको घरमा स्थानीयहरु बसोबास गर्दै आएका छन् । यसपालि पनि त्यत्रै बाढी आउने हो भने गत वर्षभन्दा पनि बढी क्षति हुने अनुमान लगाइएको छ । तर, स्थानीय सरकारले यस विषयमा चासो दिएको छैन् ।

सरकारले आफुहरुलाई राहतको व्यवस्थापन नगरेको विपद्को मारमा परेको स्थानीयहरु बताउछन् । गाँस, बासको टुंगो नभएपछि जोखिम नै भएपनि बस्नुपरेको उनीहरुको गुनासो छ ।

टिप्पणीहरू