द्वन्द्वपीडितका छोराछोरीलाई छात्रवृत्ति
विश्वविद्यालय अनुदान आयोगले शहीद तथा द्वन्द्वपीडित परिवारका छोराछोरीलाई उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति दिने भएको छ । जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा शहीद भएका, सशस्त्र द्वन्द्वको समयमा निधन भएका व्यक्तिका छोराछोरीलाई छात्रवृत्ति दिन लागिएको हो ।
आयोगले शहीद तथा द्वन्द्वपीडितका परिवारका छोराछोरीलाई उच्च शिक्षा अध्ययन गर्न आवेदन मागेको छ । इच्छुक आवेदकले आगामी असार १४ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । आयोगको वेवसाइटमा आवश्यक कागजातसहित प्रक्रिया पुर्याएर आवेदन दिन सकिने उल्लेख छ ।
आवेदनसँगै नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, २०५२ फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्म शहीद तथा द्वन्द्वपीडित भएको भनी नेपाल सरकारले दिएको कागजात पनि पेश गर्नुपर्नेछ ।
त्यसैगरी, शहीद घोषणा गरिएको प्रमाणपत्र, जिल्ला प्रशासन कार्यालयबाट राहत र क्षतिपूर्ति प्राप्त गरेको कागजात, सम्बन्धित उच्च शिक्षण संस्था भर्ना भएको प्रमाण, प्लस टु पास गरेको प्रमाणपत्रलगायत अन्य कागजात पनि बुझाउनुपर्नेछ ।
टिप्पणीहरू