गाड्नुको सट्टा चिउरा बनाइदिएको भए के बिग्रन्थ्यो ?
हिजोदेखि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भएको छ । यो वर्ष मनसुन छिट्टै शुरु हुने लक्षण देखिएको छ । किसानहरु धानको बीऊको खोजीमा भौंतारिएका छन् ।
तर यही बीचमा झण्डै २५ लाख रुपैयाँ बराबरको एक सय ५९ बोरा धानको बीऊ बरामद गरेर नष्ट गरिएको छ । चितवन र नवलपुरमा अवैध रुपमा भित्र्याइएको उक्त बीऊ प्रहरीले बरामद गरेको हो ।
बीऊ अवैध भए पनि त्यो धानको बेर्ना राख्न योग्य थियो वा थिएन ? त्यसतर्फ कसैले ध्यान दिएको देखिएन । यसरी अवैध रुपमा समातिएका कति वस्तु र सामान हामीले खाल्डो खनेर पुर्ने गरेका छौं ?
“प्रहरी र सशस्त्र प्रहरी बलले बेला बेलामा अवैध सुन,चाँदीका गहना र विभिन्न तौलका सुन चाँदी पनि पक्रने गरेको छ । यही धान झैँ त्यो पनि पुर्ने गरिन्छ ?”
प्रहरी र सशस्त्र प्रहरी बलले बेला बेलामा अवैध सुन,चाँदीका गहना र विभिन्न तौलका सुन चाँदी पनि पक्रने गरेको छ । यही धान झैँ त्यो पनि पुर्ने गरिन्छ ? गरिँदैन, त्यसलाई प्रक्रिया पुर्याएर भन्सार हुँदै नेपाल राष्ट्र बैंकसम्म पुर्याइन्छ ।
पछि राज्यले त्यसलाई परल मूल्यमा नगद बनाउँछ । अहिले समातिएको धान पनि बीऊको निम्ति योग्य थिएन भने त्यसलाई चिउरा बनाएर बेचेको भए के बिग्रन्थ्यो ? कम्तिमा त्यहि चिउरा धान रोप्ने रोपार,हली र बाउसे गर्नेले मीठो मानेर खान्थे । राज्यलाई पनि २५ लाख रुपैयाँ उठ्थ्यो । यस्तो अक्कल दिने कसले ? अनि दिए पनि नमान्ने किन ?
टिप्पणीहरू