टीभीका तिमिल्सिनालाई तान्न तीब्र दबाव

टीभीका तिमिल्सिनालाई तान्न तीब्र दबाव

सिंहदरबारको नेपाल टेलिभिजनबाट एक ग्रुप बालुवाटार जान्छ, एउटा हाकिम हटाउन तारन्तार फोन लगाउँछ । हाकिमलाई हटाउँछ । चाहेको हाकिम चाहेकै ठाउँमा पनि ल्याउँछ । त्यसपछि फेरि बालुवाटारबाट फोन लगाउँछ । तर, हटाउन सक्दैन । अनि तनाव बढ्छ ।

साउनदेखि एक समूह कहिले बालुवाटार, कहिले प्रेस युनियन र कहिले सञ्चार मन्त्रालय पुगेर हाकिम फेर्ने कुरा गरिरहेको हुन्छ । समूहमा ६/७ तहका कर्मचारी सक्रिय छन् । उनीहरूले सार्न खोजेको महाशाखा र शाखाका प्रमुखहरू हुन् ।

यस्तै, दबाबका कारण समाचार महाशाखामा इटहरी च्यानलबाट पुष्पहरि क्याम्पा राईलाई प्रमुखमा सार्न कार्यकारी अध्यक्ष समीरजंग शाह बाध्य भए । समाचारका रेवन्त ओली योजना महाशाखामा सारिए ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नसार्न भन्दाभन्दै बालुवाटारको दबाबमा समाचार प्रमुख फेरेको समीर बताउँछन् । मन्त्रीको भन्दा नियुक्ति गर्नेको कुरा मानेर काम गरेको उनको कथन छ ।

एक महिनादेखि त्यही समूह फेरि समाचारबाट शाखा प्रमुख हटाउन लागिरहेको बताइन्छ । समाचारबाट नसके बेलुकाको सिफ्टबाट हटाउने प्रयास छ । नेपाल टेलिकमको रिङब्याक टोनमा धेरै सुनिने समाचारवाचिका अनिता विन्दु, गोविन्द धिताल र शालिक सुवेदीको समूह बालुवाटार पुगिरहेको हुन्छ ।

कहिले बद्री सिग्देल त कहिले भानु देउवा अनि कहिले समीरजंग शाहकोमा धाउँदाधाउँदा हैरान भैसके । पुष्पहरिबाट काम नभएपछि उनीहरू उनीसँग पनि रिसाउन थालिसकेका छन् ।

शाखा प्रमुख राजेन्द्रराज तिमल्सिनालाई बेलुकाबाट हटाउने अनि शालिक, गोविन्द र अनिताले मिलेर बेलुकाको समाचार चलाउने योजना बुझिन्छ । तिमल्सिनालाई बेलुकामा राख्दा कार्य सम्पादन मूल्यांकनको अंक उनले नै दिनुपर्ने हुन्छ ।

चाहिएको पूरै अंक दिने ग्यारेन्टी भएको मान्छे बेलुकामा राखेर मात्रै काम गर्ने उनीहरूको सोच हो भनिन्छ । फेरि पनि दवाव समीरलाई बालुवाटारबाट देउवाको छ, भानुको । रेवन्तपछि पुष्पलाई हटाउने हो भने समाचार महाशाखा प्रमुख राजेन्द्र बन्ने पाला आउँछ भनिँदैछ ।

– ओम धिताल

टिप्पणीहरू