लीलाराज बिष्टको पैसा खाएर सुनिल न्यौपाने लापत्ता

लीलाराज बिष्टको पैसा खाएर सुनिल न्यौपाने लापत्ता

चितवन मेडिकल कलेजका सञ्चालक हरिश्चन्द्र न्यौपानेका खास मान्छे हुन्, सुनील न्यौपाने । भनिन्छ, यी न्यौपाने–न्यौपाने दाजुभाइ खलक हुन् । जेहोस्, सुनिल न्यौपाने पहिला चितवन मेडिकल कलेज भरतपुरमा काम गर्थे । उनले यहाँ रहँदा धेरै मान्छेको पैसा खाएर नतिरी हिँडेको पत्ता लागेको छ । अरु त अरु पूर्वमन्त्री लीलाराज बिष्टको समेत रकम खान भ्याएका रहेछन् । विष्टले पञ्चायतकालमा विभिन्न मन्त्रालय सम्हालेका थिए ।

बताइएअनुसार हरिश्चन्द्रलाई चितवन मेडिकल कलेज सञ्चालनको स्वीकृति दिलाउन पूर्वमन्त्री बिष्टले मद्दत गरेका थिए । सुनिन्छ, बिष्टलाई आदर्श देव नै मान्थे हरिश्चन्द्रले । उनलाई कुनै पनि स्वास्थ्य समस्या पर्दा चितवन मेडिकल कलेजले सहयोग गर्ने भनियो । जनसम्पर्क अधिकृत थिए सुनिल न्यौपाने ।

बिष्टका छोराहरू आ–आफ्नै घरजम र बिजनेशको सिलसिलामा बाहिरबाहिरै । छोरीहरूको पनि बिहे भइसकेको । भरतपुरको सीएमसी अगाडि रहेको घरमा बिष्ट बूढाबूढी र एकजना सेविका मात्रै बस्थे । सुनिलले विष्ट दम्पतीलाई प्रेसर जाँच्नसमेत सीएमसी लिएर जान्थे । बेलाबेलामा डाक्टर पनि घरमै ल्याइन्थ्यो । यहीक्रममा सुनिल बिष्टसँग औधी नजिकिँदै गए । बिजनेस गर्न भन्दै एक करोड रुपैयाँँ सापटी मागे ।

सिटी स्क्यान र एमआरआई मेसिन किनेर सीएमसीमा व्यवसाय गर्ने भन्दै उनले बिष्ट खुशी भएका बेला पैसा मागेको बताइन्छ । विष्ट पनि धनाढ्य, मनकारी र सोझा । ब्याज तिर्नुपर्दैन भन्दै एकपटक ५० लाख र एकपटक ३० लाख गरी ८० लाख रुपैयाँँ दिएको जानकार बताउँछन् । त्यो पनि सुनिलको विश्वासमा परेर कुनै लिखत नगरी पैसा दिएका थिए । तर मेसिन किन्ने भन्दै काठमाडौंं गएका सुनील त्यसपछि फर्केर आएनन् ।

बिष्ट डाँडापारिको घाम भइसकेका थिए । ८८ वर्षको उमेरमा दुई वर्षअघि बूढा बितेर गए । उनकी श्रीमतीको त्यसअघि नै देहान्त भइसकेको थियो । पैसा लगेपछि बाँचुञ्जेल नाकमुख नदेखाएर लुकीलुकी, भागीभागी हिँडेका सुनिल बूढा बितेपछि भने चितवनमा झुल्किन आएका थिए भन्ने बुझिन्छ । तर अहिले कता छन् थाहा छैन । चितवन मेडिकल कलेजमा नभएको बताइन्छ । बिष्टका छोराहरूको सम्पर्कमा पनि छैनन् । सुनिल अहिले हरिश्चन्द्रकै हस्पिटलमा काठमाडौंंमा हाकिम भएर बसेको कोही कोही बताउँछन् ।

‘बाबु–छोरा जस्तै थियो सम्बन्ध, यहीँ खाना खान आउनुहुन्थ्यो सुनिल,’ सानैदेखि बसेर बिष्ट परिवारको सेवा गर्दै आएकी ५३ वर्षीया सुनकेशरी चौधरीले भनिन्, ‘५० लाख त मेरै हातबाट गनेर दिएको हो सुनिललाई । फिर्ता गरेको थाहा छैन ।’ अरु मान्छेको पनि पैसा खाएर नतिरी हिँडेका सुनिललाई पैसा नदिएको भन्दै ती मान्छेहरूले घेरा हालेर कुटपिट गर्न खोज्दा एकपटक बिष्टले बचाइदिएको समेत चौधरीले सुनाइन् ।

उनका अनुसार सुनिल भागेपछि मात्रै लीलाराजले आफ्ना छोराहरूलाई उनलाई पैसा दिएको बताएका हुन् । बिष्टका कान्छा छोरा कमलराज भन्छन्, ‘बुबा बितिहाल्नुभयो । हामी पनि काठमाडौंंमा बसेर आफ्नो कारोबार गर्ने । पहिले थाहा भएन । अहिले यसमा त्यति चासो राख्नै सकिएको छैन ।’ जेठा छोरा शरदराज बिष्टले भने, ‘यदि आत्मा सही छ भने हामीसँग सम्पर्कमा आएर यसो गर्छु भन्नुपर्ने हो । उसले काठमाडौंंमा पनि मेरो घर देखेकै छ । तर सम्पर्कमा आएको छैन ।’

सुनिलले सीएमसी अगाडिकै दिवा पेट्रोल पम्पमा तेल हालेको पैसासमेत नतिरी हिँडेको पेट्रोल पम्पका सञ्चालक मोहनबहादुर पाण्डेले बताए । उनले भने, ‘तेलको पैसा ५५/६० हजार रुपैयाँँ तिर्नुछ । ऊ विदेश जानुभन्दा अगाडिकै हो ।’ बिष्टबाट पैसा हात पारेर सुनिल केही समय विदेशतिर बेपत्ता भएको चर्चा छ । सीएमसी अगाडि ‘सुनिललाई चिन्नुहुन्छ ?’ भनी सोध्दा एकजनाले ‘ए त्यो डाँका, दुनियाँको पैसा खाएर नतिरी भागीभागी हिँड्ने !’ भने । सुनिलको घर लमजुङ भएको बताइन्छ ।

– अजय गोर्खाली

टिप्पणीहरू