३६५ दिनमा २०२ दिन सरकारी बिदा ?

३६५ दिनमा २०२ दिन सरकारी बिदा ?

सरकारी कार्यालय हप्तामा दुई दिन बिदा दिने निर्णयले सर्वसाधारणलाई निकै सास्ती बढेको छ । शुक्रबार आधा दिन काम हुने सरकारी अफिस साढे दुई दिन बिदामै बित्छ । सरकारी बिदाका कारण सर्वसाधारणका अत्यावश्यक काम अधुरै रहने गरेका छन् ।

तर साढे २ दिन बिदा हुने कार्यालयमा आपतकालीन सेवा दिन सरकार किन चाहँदैन ? सरकारी बिदाको हिसाब गर्दा काम गर्ने दिनभन्दा बिदाको दिन दोब्बर देखिन्छ । ३६५ दिनमा शनिबारको सरदर हिसाब गर्दा ५२ दिन हुन आउँछ भने आइतबार पनि सोहीअनुसार नै ५२ दिन हुन्छ । यी दुवै बिदाको हिसाब गर्दा सय दिन नाघ्छ । राजपत्रमा ३१ दिन अन्य सरकारी बिदा तोकिएको छ ।

त्यस्तै कर्मचारी सुविधा भनेर ५७ दिन छुट्टै बिदा दिने गरेको पाइन्छ । यता नेपाली चाडपर्वको बिदाको अर्कै हिसाब छ । भैपरी आउने बिदाको अर्कै सूची छ । चाड पर्व र भैपरी आउने बिदालाई १० दिन मात्रै जोड्दा पनि कर्मचारीले दुई सय दुई दिन बिदा बस्नु पर्ने हुन्छ ।

३६५ दिनको एक वर्षमा २०२ दिन बिदामै जाने देखिन्छ । बाँकी एक सय ६३ दिन काम गर्ने दिन रहँदा दोब्बरजस्तो बिदामा बस्ने अवस्थाको सिर्जना भएको हो । यी सबै परिप्रेक्ष्यमा आइतबारे बिदाको औचित्य नदेखिएको हो । आन्तरिक समस्या तेर्साउँदै आइतबार बिदा दिने निर्णय गरेको सरकारले सरकारी निजामती कर्मचारीले काम गर्ने दिनको ख्याल चाहिँ गर्यो कि गरेन ? त्यो सोचनीय विषय बनेको छ ।

टिप्पणीहरू